१८ भदौ, विराटनगर ।
पहिलोपटक आयोजना हुन लागेको महिला भलिबल फ्रेन्चाइज लिग ‘एभरेस्ट वुमन्स भलिबल लिग’ रोमाञ्चक हुने अनुमान गर्न सकिन्छ । एकपछि अर्को गर्दै विदेशी खेलाडी अनुबन्धित भइरहँदा ‘इडब्लुभिएल’ को पहिलो संस्करण रोमाञ्चक हुने अनुमान गरिएको हो ।
आगामी असोजमा हुने ‘इडब्लुभिएल’ आबद्ध मधेश युनाइटेडले तीन विदेशी खेलाडीलाई अनुबन्धित गरेको छ । पछिल्लोपटक मधेशले भारतकी खेलाडी भित्र्याएको छ । यसअघि उसले काजकिस्तान र ट्युनिसियाबाट एक–एक जना विदेशी खेलाडी अनुबन्ध गरेको थियो ।
यससँगै मधेश युनाइटेड तीन विदेशी खेलाडी अनुबन्ध गर्ने पहिलो क्लब पनि बनेको छ । तीन पोजिसनमा विदेशी खेलाडी अनुबन्ध गरेपछि मधेश युनाइटेडको टिम सन्तुलित बनेको छ । मधेशले काजकिस्तानकी आउटसाइड हिटर कालिनोभा यभजेनिया र ट्युनिसियाकी मिडल ब्लकर योस्रो जेरामदिनीलाई गरिसकेको छ ।
पछिल्लोपटक भने उसले भारतकी सेटर जिनी कोभात साजीलाई अनुबन्ध गरेको हो । ६ टोलीको सहभागिता रहने उक्त लिगआबद्ध मधेशले २८ वर्षीय भारतीय सेटर जिनीलाई अनुबन्ध गरेको हो । उनी भारतीय राष्ट्रिय महिला भलिबल टिमकी कप्तानसमेत हुन् ।
केही समयअघि काठमाडौंमै भएको काभा महिला भलिबल नेसन्स लिगको उपाधि भारतले जित्दा जिनी त्यस टिमको कप्तान थिइन् । जिनीले भारतबाट एसियन च्याम्पियनसिप, एसियन गेम्स, एभिसी च्यालेन्ज कप, काभा नेसन्स लिग र काभा च्यालेन्ज कप खेलेकी छन् ।
जिनीले यसअघि नेपालमा आएर अन्तर्राष्ट्रिय प्रतियोगिताहरु समेत खेलिसकेकोले उनको अनुभव काम लाग्ने विश्वास छ । जिनीभन्दा अगाडि मधेशमा अनुबन्धित २३ वर्षीय योस्रासँग रसियन लिग खेलेको अनुभव छ । ट्युनिसियाको वर्तमान राष्ट्रिय टिमकी सदस्यसमेत रहेकी उनले ट्युनिसियन लिग, ट्युनिसियन सुपर कपसमेत खेलेकी छन् । ३५ वर्षीय कालिनोभाले काजकिस्तानको राष्ट्रिय टोलीका साथै काजकिस्तानको लिग खेलेको अनुभव छ । स्पाइकर उनको उचाई १ सय ८० सेन्टिमिटर रहेको बताइएको छ ।
जिनीको अनुबन्धपछि मधेश युनाइटेडमा खेलाडी संख्या ११ पुगेको छ । नेपाली राष्ट्रिय टिमकी स्पाइकर निरुता ठगुन्ना मार्की प्लेअरमा रहेको मधेश युनाइटेडको टिममा अहिलेसम्म आठ नेपाली र तीन विदेशी खेलाडीको नाम सार्वजनिक भइसकेको छ ।
मार्की प्लेअर निरुतासहित राष्ट्रिय टिमकै संगम महतो र शान्तिकला तामाङ पनि मधेशको टिममा छन् । यस्तै काभा यु–२० महिला च्याम्पियनसिप खेलेकी यु–२० राष्ट्रिय टिमकी एलिशा मानन्धर र आशिका क्षेत्री पनि मधेश टिममा छन् । राष्ट्रिय टिमबाट खेलिसकेका पूजा थारू र हिरा केसी पनि मधेश टिमबाट खेल्नेछन् । जसना महतो पनि मधेशको टिममा छिन् ।
इन्फिनिटी ड्रिम्सको आयोजनामा पहिलोपटक महिला भलिबलको फ्रेन्चाइज लिग एभरेस्ट वुमन्स भलिबल लिग हुन आँटेको हो । असोज १४ देखि १९ गतेसम्म काठमाडौंको दशरथ रंगशालमा कभर्डहलमा प्रतियोगिता हुँदैछ ।
पहिलो पटक आयोजना हुन लागेको महिला भलिबलको फ्रेन्चाइज लिगलाई वात्सल्य आईभीएफ सेन्टरले मुख्य प्रायोजन गर्नेछ । जसमा गण्डकी थण्डर्स, चितवन शक्ति, ललितपुर क्विन्स, काडमाडौं स्पाइकर्स र मधेश युनाइटेड छन् । कर्णाली टिमले भने आधिकारिक नाम सार्वजनिक गर्न बाँकी छ ।