१८ भदौ, काठमाडौं ।
राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) की सांसद रोशन कार्कीले प्रदेश संरचना भंग गर्न माग गरेकी छन् । प्रतिनिधिसभाको मंगलबारको बैठकमा बोल्ने क्रममा राप्रपाकी सांसद कार्कीले गण्डकी प्रदेश सरकारमा मन्त्री पद नै लिलामीमा चढेको टिप्पणी गर्दै यस्तो माग गरेकी हुन् ।
प्रदेश सरकारमा भद्रगोल देखिएको बताउँदै उनले भनिन्, ‘गण्डकीमा मन्त्री पद नै लिलामीमा छ । यो के हो ? त्यसैले राप्रपाले यो प्रदेशलाई भंग गरौं, सेतो हात्ती नपालौं भनेको छ, यस्तो खालको गाईजात्रा हेर्न नपरोस्, मन्त्रीले तीतेपाती र वनमारा हेर्न म वन मन्त्रालयमा जान्न भन्नुभएछ । के वन मन्त्रालयमा तीतेपाती र वनमारामात्रै देखिन्छ ? यो मन्त्रिपरिषद्को पनि अपमान भएको छ ।’
गण्डकी प्रदेशमा मन्त्रालय हेरफेरमा असन्तुष्टि जनाउँदै गण्डकीका वन तथा वातावरणमन्त्री राजीव गुरुङ (दीपक मनाङे) ले राजीनामा दिँदै वन मन्त्रालयको कामै नभएको टिप्पणी गरेका थिए ।
यसअघि गण्डकी प्रदेश सरकारको भौतिक पूर्वाधारमन्त्री समेत रहेका गुरुङले सोमबार राजीनामा दिएका थिए ।
मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले हिजो मन्त्रिपरिषद्लाई पूर्णता दिँदै यसअघि भौतिक पूर्वाधारमन्त्री रहेका गुरुङको जिम्मेवारी हेरफेर गरेका थिए ।
जसमा उनलाई वन मन्त्रालयको जिम्मेवारी दिइएको थियो । तर, वन मन्त्रालय अन्य मन्त्रालयभन्दा सानो रहेको भन्दै उनी राजीनामा दिएर सरकारबाट बाहिरिए । त्यसपछि उनले मन्त्रालय बिक्रीमा रहेको बताएका थिए ।
गुरुङले कांग्रेसलाई भए डेढ करोड र एमालेलाई तीन करोडमा मन्त्रालय दिनेसमेत बताएका थिए ।