१८ भदौ, विराटनगर ।
काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहका समर्थकहरूले प्रधानमन्त्री केपी शर्मा ओलीलाई फेसबुकमा ‘अनफलो’ गर्ने अभियान चलाएका छन् । जसकारण ओलीको फेसबुकमा फलोअरहरू ह्वात्तै घटेका छन् ।
नेकपा एमालेका अध्यक्षसमेत रहेका ओलीका फेसबुकमा झन्डै ६ लाख ६६ हजार फलोअर्स थिए । मंगलबार बेलुकी १०ः३० बजेसम्ममा उनको फलोअर घटेर ६ लाख १४ हजारमा झरेको छ ।
विशेषतः काठमाडौं महानगरपालिकाका मेयर शाहको फेसबुक स्टाटसलाई लिएर ओलीका फलोअर्स घटेका हुन् । बालेनले बालबालिकासम्बन्धी कसूर गरेको आरोप लागेकी एमालेकी प्रदेश सांसद रेखाकुमारी शर्मालाई पक्राउ गर्न प्रधानमन्त्री ओलीलाई फेसबुकमार्फत दबाब दिएका थिए ।
सो पोष्ट एमालेका कार्यकर्ताले रिपोर्ट हानेपछि डिलिट भएको बताइएको छ । मंगलबार अपराह्न मेयर बालेनले आफ्नो स्टाटस हटाइएको दाबीसहितको पोस्ट गरेका थिए । उनले सरकारकै संलग्नतामा आफ्नो स्टाटस हटाइएको संकेत गरेका छन् ।
आफ्नो फेसबुक पोस्ट् डिलिट भएपछि बालेनले लेखेका छन्, ‘पोस्ट उडाउने हैन, दोषी समाऊ सरकार । म गलत हो भने मलाई समाऊ, होइन भने दोषी समाऊ ।’
सांसद शर्मामाथि एक नाबालिकालाई विगत आठ वर्षदेखि बाल श्रमिक बनाएर राखेको आरोप लागेको छ । शर्मा लुम्बिनी प्रदेश सांसद हुन् । उनको काठमाडौँस्थित घरमा १४ वर्षीया बालिकालाई ८ वर्षदेखि बाल श्रमिकका रुपमा राखेको पाइएपछि महानगरपालिकाले उद्धार गरेको थियो ।
फेसबुक पोस्ट डिलिट भएपछि बालेन समर्थकहरूले प्रधानमन्त्री ओलीको फेसबुक अनफलो अभियान चलाएर विरोध गरेका हुन् ।