२१ भदौ, विराटनगर ।
आगामी दुई वर्षपछि क्यानडा, मेक्सिको र अमेरिकामा संयुक्त रूपमा आयोजना हुने फिफा विश्वकप फुटबलको छनोट खेल खेल्न आँटेको ब्राजिललाई अर्को झट्का लागेको छ ।
विश्वकपको दक्षिण अमेरिकी छनोटअन्तर्गत पाँच पटकको विश्वकप च्याम्पियन ब्राजिलले शनिबार बिहान इक्वाडरलाई आफ्नो मैदानमा निम्त्याउँदै छ ।
ब्राजिलका लागि विश्वकप छनोटको खेलमा मात्र नभई कोपा अमेरिका पनि निराशाजनक रह्यो । नौ पटकको कोपा विजेता ब्राजिल यसपालि क्वार्टरफाइनलबाटै बाहिरियो । यता, विश्वकपमा पनि ऊ छैटौं स्थानमा सीमित छ ।
कोपा अमेरिकामा इक्वाडर पनि अर्जेन्टिनासँग पेनाल्टीमा पराजित भएर क्वार्टरफाइनलबाटै बाहिरियो । विश्वकप छनोटमा भने इक्वाडर ब्राजिलभन्दा अगाडि देखिएको छ । यसपालिको विश्वकपमा छनोट हुने लक्ष्यका साथ अगाडि बढेको इक्वाडरले ब्राजिललाई उसैको घरमा हार चखाउने लक्ष्य लिएको छ ।
यसबीचमा सबैसँग हार्दै गएको ब्राजिललाई हराउन इक्वाडरलाई पनि सहज देखिएको छ । किनकि, खेलाडी अभावले थलिएको ब्राजिलका सेन्टर-ब्याक इडर मिलिटाओले ‘क्याम्प’ छोडेका छन् ।
रियल मड्रिडबाट व्यावसायिक फुटबल खेल्दै आएका मिलिटाओले चोटका कारण ब्राजिलको प्रशिक्षण क्याम्प छोडेका हुन् । ब्राजिल फुटबल संघले मिलिटाओ चोटका कारण आगामी दुई खेल खेल्न असमर्थ भएको जनाएको हो ।
बुधबार प्रशिक्षणकै क्रममा चोट बोकेका उनी मेडिकल चेकजाँच गराएपछि बिहीबारको प्रशिक्षणमा समेत आउन सकेनन् ।
दक्षिण अमेरिकाका १० वटा टोलीले विश्वकपमा छनोट हुन प्रतिस्पर्धा गरिरहेका छन् । आगामी विश्वकपमा साउथ अमेरिकाबाट ६ टोली सीधै छनोट हुँदा एउटा टोलीले अन्तरमहादेशीय प्ले अफ खेल्न पाउने छ ।
७ सेप्टेम्बर २०२३ बाट दक्षिण अमेरिकाका १० राष्ट्रहरूले २०२६ को विश्वकपमा छनोट हुनेगरी खेलहरू खेलिरहेका छन् । सेप्टेम्बर २०२५ सम्ममा यहाँबाट ६ टोली छानिने छन् भने एउटा टोलीले अन्तरमहादेशीय प्ले अफ खेल्न पाउने छ ।