२१ भदौ, इटहरी
नेकपा माओवादी केन्द्रका केन्द्रीय सदस्य जीवन आचार्यले आफ्नो पार्टीले चाहेको दिन नै नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली नेतृत्वको सरकार ढल्ने दाबी गरेका छन् । कोशी प्रदेशका सांसद आचार्यले अखिल(क्रान्तिकारी) सुनसरीको १४औं जिल्ला सम्मेलन खुल्लासत्रलाई सम्बोधन गर्दै यस्तो दाबी गरेका हुन् ।
माओवादी र प्रचण्डले चाहने हो भने ओली सरकार चाहेको दिनमै ढल्ने उनको दाबी छ । तर, अहिले माओवादीलाई सरकार नचाहिएको आचार्यको भनाइ छ । आगामी निर्वाचनमा माओवादी एक्लै लड्ने उनले बताए ।
नेपाली कांग्रेस-एमालेले सत्ताका लागि गठबन्धन गरे पनि माओवादीले जनतासँग गठबन्धन गर्ने उनको भनाइ छ । आचार्यले माओवादीले जनतालाई साथमा लिएर अघि बढ्ने बताउँदै भने, ‘देश भ्रष्टाचारले दलदल बनाइएको अवस्थामा प्रचण्डको नेतृत्वमा भ्रष्टाचारविरोधी अभियान चलाउँदा भ्रष्टाचारी एकै ठाउँमा आएर सरकार ढाल्ने काम भयो ।’