२१ भदौ, विराटनगर ।
प्रधानमन्त्री केपी शर्मा ओली संयुक्त राज्य अमेरिका भ्रमणमा जाने भएका छन् । बिहीबार प्रधानमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालय सिंहदरबारमा बसेको मन्त्रीपरिषद् बैठकले प्रधानमन्त्रीको अमेरिकाको न्युयोर्क भ्रमण स्वीकृत गरेको हो ।
श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शरतसिंह भण्डारीले प्रधानमन्त्री ओली राष्ट्रसंघको महासभाका लागि प्रधानमन्त्री न्युयोर्क भ्रमणमा जाने कार्यक्रम तय भएको बताए ।
संयुक्त राष्ट्रसंघको महासभा भदौ २५ देखि असोज १२ गते (सेप्टेम्बर १० देखि २८) सम्म न्युयोर्कमा हुँदै छ । त्यसअन्तर्गत असोज ६ र ७ गते (सेप्टेम्बर २२ र २३) समिट अफ द फ्युचर हुने छ ।
प्रधानमन्त्री ओलीले महासभालाई समिट अफ द फ्युचरलाई सम्बोधन गर्ने कार्यक्रम रहेको छ । प्रधानमन्त्रीसहित भ्रमण दलमा परराष्ट्रमन्त्री डा. आरजु राणालगायत सहभागी हुनेछिन् ।