२२ भदौ, विराटनगर ।
बार्सिलोना र पिएसजीका पूर्वफरवार्ड नेयमारले शनिबार बिहान विश्वकप छनोटअन्तर्गत इक्वेडरसँगको खेल खेलेनन् । विश्वकपको दक्षिण अमेरिकी छनोट खेलमा सर्वाधिक धेरै पाँच पटकको विजेता ब्राजिलले इक्वेडरमाथि संघर्षपूर्ण जित हासिल गरेको थियो ।
घरेलु मैदानमा भएको खेलमा ब्राजिलले इक्वेडरमाथि १–० को जित हासिल गरेको हो । ब्राजिलको जितमा रोड्रिगोको निर्णायक गोल गरेका थिए । रोड्रिगोले ३०औं मिनेटमा लुकास पाकेटाको पासमा गोल गरेका थिए ।
उक्त खेलमा ब्राजिलियन स्टार नेयमार उपलब्ध थिएनन् । ब्राजिलका लागि ७९ गोल गर्दै सर्वाधिक गोलकर्ता बनेका नेयमारले २०२३ मा विश्वकप छनोटका दुई खेल गुमाएका थिए । ती दुवै खेलमा ब्राजिल हारेको थियो ।
३२ वर्षीय नेयमारले शनिबारको गेम पनि गुमाए । विश्वकप छनोटकै खेलअन्तर्गत गत वर्षको अक्टोबरमा भएको भएको उरुग्वेविरुद्धको खेलमा चोट बोकेका नेयरमा झन्डै एक वर्षयता मैदानबाहिर छन् ।बार्सिलोनाबाट सर्वाधिक धेरै सरुवा रकममा फ्रान्सेली क्लब पेरिस सेन्ट जर्मेन (पिएसजी) पुगेका नेयमार हाल साउदी अरेबियन हल हिलालसँग छन् । तर, अल हिलालका पछिल्ला ४५ खेलमा भने उनले खेल्न पाएका छैनन् । त्यसअघि पिएसजीमा हुँदा पनि उनले धेरै खेल चोटकै कारण गुमाउनुपर्यो ।
बार्सिलोनाका लागि पनि उनले अपेक्षानुरूप खेलहरू खेल्न पाएका थिएनन् ।
कहिले मैदान फर्किन्छन् त नेयमार ?
अल हिलालका अट्याकर नेयमारलाई हालै सम्पन्न कोपा अमेरिकाकै दौरान मैदान फर्किने अपेक्षा गरिएको थियो । तर, त्यो सम्भव भएन । साउदी क्लब हिलालका प्रशिक्षक जर्ज जेससका अनुसार नेयमारले पछिल्ला साताहरूमा निकै आफ्नो चोट निकै सुधार भएको महसुस गरेका छन् ।
तर पनि यो नोभेम्बरभन्दा अगाडि उनी पूर्ण रूप प्रशिक्षणलाई निरन्तरता दिन सक्ने अवस्थामा छैनन् । हल हिलाले आगामी सेप्टेम्बर ९ भित्र साउदी प्रो लिगमा आफ्ना खेलाडी दर्ता गराइसक्नुपर्ने छ । लिगको नियमानुसार टोलीमा आठ विदेशी खेलाडीमात्र समावेश गर्न पाइने छ ।
तर, हिलालसँग नेयमारसहित नौ विदेशी खेलाडी छन् । नेयमारले मैदान फर्कन समय लिइरहँदा क्लबले बाध्य भएर उनलाई टोलीबाहिर राख्नपर्ने हुन सक्छ ।
नेयमारले विश्वकप छनोटअन्तर्ग ब्राजिलका लागि खेल्ने अवसर पनि छ । आगामी नोभेम्बरमा हुने विश्वकप छनोटका खेलमा ब्राजिलले भनेजुएलासँग उसैको मैदानमा र उरुग्वेसँग घरेलु मैदानमा खेल्ने छ । उनी चाँडै निको भएमा यी खेलहरू खेल्न पाउने छन्, त्यसपछि क्लब फुटबलमा पनि उनको आगमन हुन सक्छ ।
सन् २०१० मा १८ वर्षको उमेरमा ब्राजिलका लागि डेब्यु गरेका नेयमारले ७९ गोलसमेत गरेका छन् । उनी ब्राजिलका सर्वाधिक गोलकर्ता पनि हुन् । ब्राजिलका लागि ७७ गोल गरेका पेलेजस्तो खेलाडीलाई उनले उछिनेका छन् । उनले सन् २०१६ मा भएको रियो ओलम्पिकमा घरेलु राष्ट्र ब्राजिललाई स्वर्ण पदक दिलाएका छन् ।