२३ भदौ ,विराटनगर।
नेपालमा मनसुन अझै सक्रिय रहँदा यसबाट हुने प्रकोप पनि कम भएको छैन । देशका केही भागमा अझै ठूलो पानी पर्ने क्रम जारी रहँदा बाढी तथा पहिरोको जोखिम कायमै छ । यसबीच फेरि एक दम्पत्ति पहिरोमा पुरिएको खबर छ । जाजरकोटको बारेकोट गाउँपालिका–६ धुमामा खसेको पहिरोमा बारेकोट गाउँपालिका–६ की वडा सदस्य प्रेमकुमारी र उनका श्रीमान् मानबहादुर चलाउने पुरिएका छन् ।
वडाध्यक्ष डम्बरबहादुर महताराका अनुसार उनीहरूको उद्धारको प्रयास भइरहेको छ । तर, सफलता हात लागेको छैन । चलाउनेकी छोरी ११ वर्षीया छोरी सम्झनाको भने घाइते अवस्थामा उद्धार गरी लिम्सास्थित अस्पताल पु¥याइएको छ । आइतबार बिहान २ बजे गएको पहिरोले घर पुरिँदा दुई जना पुरिएर बेपत्ता भएका हुन् । यता अविरल वर्षासँगै पहिरो खस्दा कर्णाली राजमार्ग अवरुद्ध भएको छ ।
शनिबार रातिदेखिको वर्षाको कारण सडकमा पहिरो खस्दा राजमार्ग अवरुद्ध बनेको हो । जिल्ला ट्राफिक प्रहरी कार्यालय कालिकोटका अनुसार कर्णाली राजमार्ग अन्तर्गत दैलेख–कालिकोट खण्डको दहीखोला, एसमोड र गगनेखोलामा पहिरो खसेको छ । पहिरोले सडकखण्ड पूर्ण रूपमा अवरुद्ध बनेको छ । गगनेखोलामा बारम्बार पहिरो खस्दा सडक अवरुद्ध हुने गरेको छ ।
राजमार्ग अवरुद्ध हुँदा जुम्ला, कालिकोट तथा मुगुबाट सुर्खेत, नेपालगञ्ज र काठमाडौँ जाने सवारीसाधनका यात्री अलपत्र परेका छन् । यसअघि गएको भदौ १२ गते बाढीपहिरोले बन्द सडक पाँच दिनपछि खुलेको थियो । यसैबीच चितवनस्थित राप्ती नदीमा बेपत्ता भएका दुई जनाको अवस्था अझै अज्ञात छ ।
शुक्रबार दिउँसो २ बजे माछा मार्न निस्किएका भरतपुर महानगरपालिका–२५ का ४३ वर्षीय सञ्जीवकुमार चौधरी र वडा नं २७ का ४५ वर्षीय शुकबहादुर परियारलाई राप्ती नदीले बगाएको हो। शुक्रबारदेखि नदीमा बेपत्ता उनीहरू आजसम्म नभेटिएको प्रहरीले जनाएको छ । मनसुनका कारण उत्पन्न यस्ता प्रकोपहरु नरोकिरहँदा यसबीच आज पनि गण्डकी र कर्णाली प्रदेशका एक–दुई स्थानमा हल्का वर्षा भइरहेको छ ।
आज दिउँसो कोशी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानहरूमा तथा मधेस, बागमती र गण्डकी प्रदेशका थोरै स्थानहरूमा चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । कोशी, बागमती र गण्डकी प्रदेशका एक–दुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको छ । आज राति कोशी प्रदेशको केही स्थानहरू तथा बाँकी प्रदेशका पहाडी भूभागका थोरै स्थानहरू र लुम्बिनी प्रदेशको तराई भूभागका एक–दुई स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ ।
कोशी, बागमती र गण्डकी प्रदेशका एक–दुई स्थानमा भारी वर्षाको सम्भावना रहेकोले ती क्षेत्रमा हुन सक्ने गेग्रान बहाव, बाढी, पहिरो तथा भूक्षय जस्ता प्रकोपको जोखिम वा क्षतिबाट बच्न आवश्यक सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ । नेपालमा मनसुन अवधि एक महिना बाँकी हुँदा नै औसतको झन्डै ९० प्रतिशत वर्षा भएको छ ।
नेपालमा झन्डै चार महिना रहने मनसुन अवधिको औसत वर्षा एक हजार चार सय ७९ दशमलव ७ मिलिमिटर हो । तर सेप्टेम्बर १ सम्मको विवरण अनुसार मनसुन शुरु भएपछि एक हजार तीन सय २३ दशमलव आठ मिलिमिटर वर्षा भइसकेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ । यस वर्ष नेपालमा जुन १० मा मनसुन भित्रिएको थियो ।
सामान्य गतिमा भित्रने र बाहिरिने अवस्थामा मनसुनी अवधि एक सय १२ दिनको हुन्छ । नेपालबाट मनसुन बाहिरिने औसत दिन अक्टोबर २ तारिख हो । सरदर मिति अक्टोबर २ तारिख भए पनि नेपालमा पछिल्ला पाँच वर्षको मनसुन बाहिरिने मिति छिटोमा अक्टोबर ११ भएको देखिएको छ । मनसुन अवधि एक महिना बाँकी नै रहेकोले यसअघि नै अनुमान् गरेअनुसार यस वर्ष औसतभन्दा धेरै वर्षा हुने सम्भावना बलियो रहेको मौसमविद्ले बताएका छन् । अबका केही दिन बदली र सामान्यदेखि मध्ययम खालको वर्षाको सम्भावना रहे पनि लामो झरी पार्ने खालको प्रणाली नरहेको विभागले जनाएको छ । यस वर्ष मनसुनको अवधिमा बाढी, पहिरो, चट्याङ लगायत मनसुनजन्य विपदबाट दुई सय ५० जनाभन्दा धेरैको ज्यान गइसकेको छ ।