२३ भदौ, एजेन्सी ।
फ्रान्सको राजधानी पेरिसमा जारी पारा ओलमम्पिकअन्तर्गत नेत्रहीन फुटबलतर्फ घरेलु टोली फ्रान्सले स्वर्ण पदक जितेको छ । शनिबार राति भएको खेलमा अर्जेन्टिनालाई पेनाल्टी सुटआउटमा ३–२ ले घरेलु टोली फ्रान्सले स्वर्ण जितेको हो ।
पेनाल्टी सुटआउटभन्दा अघि खेलको निर्धारित समयमा दुवै टोलीले १–१ गोलको बराबरी खेलेका थिए । खेलको १२औं मिनेटमा घरेलु टोलीलाई फ्रेडरिक भिलेरोक्सले अग्रता दिलाएका थिए । अर्जेन्टिनाका म्याक्सिमिलियानो एस्पिनिलोले बराबरी गोल गरे ।
आइफिल टावर स्टेडियममा भएको खेलमा ११ हजार दर्शकमाझ भएको उक्त प्रतिस्पर्धा निकै रोमाञ्चक बनेको थियो । यस स्पर्धामा ब्राजिल भने तेस्रो हुँदै कास्य पदकमा सीमित बन्यो । ऊ अर्जेन्टिनासँग सेमिफाइनलमा पराजित बनेको थियो ।
यससँगै फ्रान्सले पारालम्पिक नेत्रहीन फुटबलको उपाधि जित्ने फ्रान्स दोस्रो टोली बनेको छ । यसअघि ब्राजिलले सन् २००४ को एथेन्स ओलम्पिकमा पहिलो पटक स्वर्ण जितेको थियो ।
नेत्रहीन फुटबलमा गोलरक्षकबाहेक अरू सबै खेलाडी दृष्टिविहीन हुन्छन् । कम दृष्टि हुने सम्भावना रहेका कारण उनीहरूलाई आँखा ढाक्नेगरी कालोपट्टी लगाइएको हुन्छ ।
टोलीमा गोलकिपरसहित पाँच-पाँच खेलाडीहरू हुन्छन् । जम्मा ३० मिनेट खेलाइने उक्त खेलमा १५-१५ मिनेटको पहिलो र दोस्रो हाफ हुन्छ । मैदान फिफा फुटसलको साइजको हुन्छ । मैदानको दुवैतिर पर्खाल लगाइएका कारण ‘आउट’ भने हुँदैन ।
सन् १९९८ यता ब्राजिलबाट ‘वर्ल्ड ब्लाइन्ड फुटबल च्याम्पियनसिप’ हुँदै आएको छ ।