२६ भदौ, काठमाडौं ।
सरकारले पाँचथरको फालेजुङ गाउँपालिका-५ डाँडागाउँमा ग्रिनेड विस्फोटमा परी ज्यान गुमाएका परिवारलाई पाँच लाख राहत दिने निर्णय गरेको छ । सोमबार बसेको मन्त्रिपरिषद् बैठकले यस्तो निर्णय गरेको स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलले जानकारी दिए ।
दुर्घटनामा पाँचथर फालेजुङ गाउँपालिका-५ भदौमा भएको विस्फोटनमा परी साढे २ वर्षीया प्रिन्सा र ११ वर्षका दिप्सन सावाँको मृत्यु भएको थियो । विस्फोटनमा घाइते दुई बालकको उपचारका लागि लाग्ने खर्च सरकारले बेहोर्ने निर्णय गरेको मन्त्री पौडेलले जानकारी दिए ।
घाइते १० वर्षका पवन राई र ७ वर्षका दिप्सन राईको कीर्तिपुरस्थित बर्न अस्पतालमा उपचार भइरहेको छ । केही दिनअघि मन्त्री पौडेल अस्पताल पुगेर उपचाररत बालकहरूको स्वास्थ्य अवस्थाबारे जानकारी लिँदै उपचारमा सरकारले सघाउने परिवारसमक्ष प्रतिबद्धता गरेका थिए ।
त्यसलगत्तै बसेको मन्त्रिपरिषद् बैठकले मृतकलाई राहत र घाइतेका लागि उपचारको निर्णय गरेको हो ।