२८ भदौ, पोखरा ।
बागलुङ दुर्घटनामा रुकुमपुर्वको पुथा उत्तरगंगा गाउँपालिकाकी उपाध्यक्ष भूपेन्द्रा बुढामगरसहित तीन जनाको मृत्यु भएको छ । शुक्रबार बिहान बागलुङ गलकोट नगरपालिका-२ घुङखानीमा उक्त दुर्घटना भएको थियो ।
जिल्ला प्रहरी कार्यालय बागलुङका अनुसार दुर्घटनास्थलमा उनको परिचयपत्रसमेत भेटिएको थियो । पुथा उत्तरगंगा गाउँपालिका १२ घर भएकी ३३ वर्षीय बुढाको दुर्घटनामा मृत्यु भएको प्रहरीले जनाएको छ ।
दुर्घटनामा मृत्यु भएका अरूको पहिचान हुन बाँकी रहेको बागलुङ प्रहरी प्रवक्ता डिएसपी विजय यादवले जानकारी दिए ।
उनका अनुसार गलकोटतर्फ जाँदै गइरहेको जिप दुर्घटना भएको हो । दुर्घटनामा दुई महिला र एक पुरुषको मृत्यु भएको छ भने एक पुरुष घाइते भएका छन् । घाइतेलाई उद्धार गरी बागलुङ अस्पताल पठाइएको छ ।