२९ भदौ, विराटनगर ।
अन्तर्राष्ट्रिय खेलका कारण केही दिन रोकिएको युरोपियन लिगका खेलहरू सुरु हुँदै छन् । स्पेनिस ला लिगा, जर्मन बुन्डेसलिगा र फ्रेन्च लिग वानमा गए राति एक-एक खेल भए भने इंग्लिस प्रिमियर लिग र इटालियन सिरी ‘ए’ का खेलहरू आजबाट पुनः सुरु हुँदै छन् ।
फिफा विश्वकपका छनोट खेल र युरोपियन नेसन्स लिगका कारण दुई साता जति लिग खेलहरू रोकिएका थिए । तर, तीन हप्ताजति अन्तर्राष्ट्रिय खेलतर्फ विश्राम लागेपछि युरोपियन लिगका खेलहरू फेरि सुरु हुन लागेका हुन् ।
स्पेनिस ला लिगामा आज चार खेलहरू हुँदै छन् । साविक विजेता रियल मड्रिड र रियल सोसिडाड एकअर्काविरुद्ध भिड्ने छन् भने सेभियाले गेटाफेसँग खेल्दै छ ।
प्रिमियर लिगमा भने सर्वाधिक धेरै २० पटकको विजेता म्यानचेस्टर युनाइटेडका साथै डिफेन्डिङ च्याम्पियन म्यानचेस्टर सिटी, लिभरपुल, चेल्सीलगायत टिमले खेल्दै छन् ।यता, बुन्डेसलिगामा साविक विजेता लिभरकुजेन, बायर्न म्युनिखलगायत टिम प्रतिस्पर्धामा छन् भने फ्रान्सेली लिगमा पेरिस सेन्ट जर्मेन (पिएसजी), मोनाकोले भिन्नाभिन्नै खेल खेल्दै छन् । सिरी ‘ए’ मा भने युभेन्टस, एसी मिलान, रोमालगायत टिम प्रतिस्पर्धामा छन् ।