२७ असोज , काठमाण्डौ।
नेपालबाट हिजोमात्रै मनसुन बाहिरिए पनि आज केही प्रदेशका पहाडी भूभागमा वर्षाको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार स्थानीय वायुको आंशिक प्रभाव रहेकाले आज केही स्थानमा बदली र वर्षाको सम्भावना छ ।
हाल कोशी, बागमती र गण्डकी प्रदेशमा आंशिकदेखि साधारण बदली रही कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भूभागमा हल्कादेखि मध्यम बदली रहनेछ । दिउँसो कोशी, बाग्मती र गण्डकी प्रदेशका पहाडी भूभागमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहनेछ ।
तीनवटै प्रदेशको पहाडी भूभागका एकदुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना छ । राति पनि कोशी र गण्डकी प्रदेशका पहाडी भूभागका एकदुई स्थानमा हल्का वर्षाको सम्भावना छ ।
उता लुम्बिनी, सुदूरपश्चिम र कर्णाली प्रदेशमा पश्चिमी वायुको प्रभाव सामान्य रहेको छ र कोशी प्रदेश, मधेश, बाग्मती प्रदेश र गण्डकी प्रदेशमा आंशिक प्रभाव रहेको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार नेपालमा मनसुन बहिर्गमन हुने सरदर मिति अक्टोबर २ भए पनि यस वर्ष १० दिन ढिलो गरी अक्टोबर १२ मा बाहिरिएको हो ।
हिजो शनिबार नै यस वर्षको मनसुन वाग्मती, मधेश र कोशी प्रदेशबाट बाहिरिएको छ । असोज २२ गते कर्णाली, लुम्बिनी र गण्डकी प्रदेशका सम्पूर्ण भूभागबाट मनसुन बाहिरिइसकेको थियो । त्यस्तै त्यसै दिन काठमाडौं उपत्यकालगायत वाग्मती प्रदेशका पश्चिमी भूभाग र मधेश प्रदेशका पश्चिमी भूभागबाटसमेत मनसुन बाहिरिएको थियो ।
त्यस्तै असोज २० गते सुदूरपश्चिम र कर्णाली प्रदेशका धेरै तथा लुम्बिनी प्रदेशको पश्चिमी भूभागका थोरै स्थानहरूबाट मनसुन बाहिरिएको पनि महाशाखाले शनिबार बुलेटिनमार्फत जनाएको छ । बाढी र पहिरोले ठूलो विध्वंश मच्चाउने गरी आएको यस वर्षको मनसुन नेपालमा १२४ दिनसम्म रह्यो ।
यसपालि अशोज दोश्रो साताको अविरल वर्षासँगै बाढी पहिरोका कारण नेपालमा २ सय ४० भन्दा बढीको ज्यान गएको थियो । सडक र भवनसहित अर्बौ भौतिक क्षतिको त यकिन विवरण अझै आइसकेको छैन ।
जलवायु परिवर्तनको असरले नेपालमा मनसुन आगमन र बहिर्गमन सरदर मितिभन्दा ढिलो हुने गरेको मौसमविदहरु बताउँछन् । पूर्वी वायु अर्थात् मनसुनी वायुलाई पश्चिमी वायुले प्रतिस्थापन ग¥यो भने मनसुन बाहिरिएको भनिन्छ ।
पूर्वी नेपालबाट भित्रिने मनसुन पश्चिमबाट बाहिरिन सुरु गर्दछ । मनसुन बाहिरिने क्रममा भारतको मध्यप्रदेश, उत्तराखण्ड हुँदै नेपालको सुदूरपश्चिममा पश्चिमी वायु प्रवेश गर्दछ । मनसुन बाहिरिएपछि हिउँद अर्थात् जाडोयाम सुरु हुन्छ । यस वर्षको हिउँदमा जाडो कम र वर्षा बढी हुने प्रक्षेपण छ ।