९ कार्तिक ,काठमाण्डौ।
पटक–पटक उपाधि यात्रामा बाधक बनेको भारतसँग नेपालले महिला साफ च्याम्पियनसिपको फाइनल पुग्न भिड्नुपर्ने भएको छ । बिहीबार पूरा भएको सेमिफाइनल समीकरणअनुसार नेपालले भारतसँग अनि साविक विजेता बंगलादेशले भुटानसँग खेल्ने छ ।
समूह चरणको अन्तिम खेलमा बिहीबार नेपालले श्रीलंकाविरुद्ध ६–० को जित निकालेर समूह ‘बी’ को विजेताका रूपमा अन्तिम चारमा स्थान पक्का गरेको थियो । बिहीबार सात हजार घरेलु समर्थकमाझ नेपाललाई जित दिलाउन रेखा पौडेलले दुई गोल गर्दा सावित्रा भण्डारी, अमिषा कार्की, रश्मीकुमारी र सविता रानामगरले समान एक गोल थपे।
उक्त खेलमा समूह विजेता बन्न नेपाललाई ६–० ले जित्नै पर्ने दबाब थियो । एकै समूहमा रहेको भुटानले दिनको पहिलो खेलमा माल्दिभ्सविरुद्ध १३–० को जित निकालेसँगै नेपाललाई यो दबाब थपिएको थियो ।
तर, समीकरणअनुरुपको जित निकालेसँगै भुटानलाई गोलआधारमा पछि पार्दै नेपाल समूह विजेता बन्यो । यो समूहमा नेपाल र भुटान अन्तिम चारमा पुग्दा श्रीलंका तेस्रो स्थानमा रहँदै र माल्दिभ्स पुछारमा रहँदै प्रतियोगिताबाट बाहिरिए ।
प्रतियोगितामा माल्दिभ्स गोल नगर्ने एकमात्र टिम बन्यो । यता, समूह ‘ए’ बाट बंगलादेशले शीर्ष स्थानमा हात पा¥यो । समूहको आफ्नो अन्तिम खेलमा भारतविरुद्ध ३–१ को जित निकाल्दै बंगलादेश समूह विजेता बनेको हो ।
भारत समूह उपविजेता बन्यो । यसै समूहको पाकिस्तान भने एक अंक जोड्दै बाहिरिएको छ । पाकिस्तानले समूह चरणको खेलमा साविक विजेता बंगलादेशलाई १–१ को बराबरीमा रोक्दै सनसनी मच्चाएको थियो ।
अब, नेपालले आइतबार साँझ ६ः३० बजे त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भारतसँग फाइनल प्रवेशका लागि भिडन्त गर्ने छ । साफकै सबैभन्दा सफल टिम भारतलाई हराउँदै उपाधिनजिक पुग्ने योजनामा हुनेछ, घरेलु टोली नेपाल ।
भारतले साफका पछिल्ला ६ मध्ये पाँच संस्करणको उपाधि जितेको छ । नेपालले साफका पाँच फाइनलमा बेहोरेको हारमध्ये चारमा भारत नै बाधक बनेको थियो । साफ महिला च्याम्पियनसिपमा नेपाल भारतपछिको दोस्रो सफल टिम हो ।
नेपालले चार पटक फाइनल खेल खेलेको भए पनि उपाधि भने जित्न सकेको छैन । बंगलादेशमा भएको पहिलो संस्करणमा भारतले नेपाललाई १–० गोलले हराउँदै उपाधि जितेको थियो भने श्रीलंकामा भएको दोस्रो संस्करणमा भारतले नेपाललाई ३–१ गोलले हराएको थियो ।
पाकिस्तानमा भएको तेस्रो संस्करणको उपाधि भिडन्तमा नेपालले भारतसँग ६–० गोलको लज्जास्पद हार बेहोरेको थियो । चौथो संस्करण भारतमा भएको थियो, जहाँ नेपाल सेमिफाइनलसम्म पनि पुग्न पाएन ।
त्यसबेला घरेलु टोलीले बंगलादेशलाई ३–१ गोलले हराउँदै उपाधि घरमै राख्यो । पाँचौं संस्करणयता महिला साफ नेपालमै हुँदै आइरहेको छ । सन् २०१९ मा भएको पाँचौं संस्करणमा आयोजक नेपाललाई ३–१ गोलले हराउँदै भारतले उपाधि छिन्यो ।
अघिल्लो संस्करणमा भने घरेलु टिम नेपाल बंगलादेशसँग ३–१ गोलले नै हा¥यो । अब, यसपालि भने नेपालले उपाधि घरमै राख्ने योजना बनाएको छ । प्रतियोगिताको पहिलो सेमिफाइनलमा बंगलादेशले भुटानविरुद्ध खेल्नेछ ।
प्रतियोगिताको पहिलो सेमिफाइनलको रुपमा रहेको यो खेल सोही दिन दिउँसो १ः३० बजेदेखि सुरु हुनेछ ।प्रतियोगिताको यस संस्करणमा दक्षिण एसियाका सातवटै देशले सहभागिता जनाएका थिए ।
नेपालमा लगातार तेस्रोपटक महिला साफ च्याम्पियनसिपको आयोजना हुँदै छ । यसअघि सन् २०१९ र २०२२ मा नेपालमै साफ आयोजना भएको थियो । सन् २०१० देखि प्रत्येक दुई–दुई वर्षमा साफ च्याम्पियनसिप हुँदै आएको छ ।