११ कार्तिक ,काठमाण्डौ।
आज थाइल्याण्डको राष्ट्रिय ध्वजावाहक एक जहाज नेपालमा कारबाहीमा परेको छ । उडान अनुमति नलिइ थाइल्याण्डबाट काठमाडौं आएको थाइ एयर एसियाको जहाज कारबाहीमा परेको छ। अनुमति बिना बैंककबाट काठमाडौं आएको थाइ एयर एसियालाई नागरिक उड्डयन प्राधिकरणले कारबाही गरेको छ।
आइतबार उडान तालिका नै नभए पनि थाइ एयर एसियाले बैंकक–काठमाडौं उडान गरेपछि यस्तो कारबाही गरेको प्राधिकरणले जनाएको छ । प्राधिकरणका सूचना अधिकारी ज्ञानेन्द्र भुलका अनुसार आजबाट सुरू भएको विन्टर सेड्युलमा थाइको आइतबार उडान थिएन ।
हिजोबाट अर्थात् अक्टोबर २६ बाट समर सेड्युल सकिसकेको छ । थाइले आजबाट भैरहवाको गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा उडान गर्ने भनेको थियो । यद्यपि थाइ सिधैं काठमाडौं आएपछि करिब ३० मिनेटसम्म जहाज होल्ड गराइएको उनले बताए ।
’थाइ एयर एसियाले उडान अनुमति नै नलिइ आएकाले सुरूमा होल्ड गर्न लगाइयो । जहाज डाइभर्ट गर्न पनि भनियो,’ उनले भने, ’यात्रुको सुरक्षाका लागि भनेर आजको लागि जहाज अवतरण अनुमति दिएका छौं।’
प्राधिकरणले अर्को सूचना नआउन्जेललाई थाइ एयर एसियाको नियमित उडान र जिएसए (युनिभर्सल टुर्स एण्ड ट्राभल्स)लाई टिकट काट्न रोक लगाएको हो । यसबीचमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका महाप्रवन्धक जगन्नाथ निरौलाले उडान अनुमति सकिएको विमानलाई उडान अवतरण गर्न दिन नसकिने बताएका थिए ।
तर नेपाल नागरिक उड्डयन प्राधिकरणमा महानिर्देशक प्रदीप अधिकारीले भने विमान अवतरण गर्न दिन दबाब दिएको पनि खुलेको छ । अनुमति नलिएको विमानलाई प्राधिकरण नेतृत्वको दबाबमा डाइभर्ट नगरी अवतरण गर्न दिइएको खुलेको छ ।
थाइले गत असोज १६ बाट बैंकक–काठमाडौं दुईतर्फी व्यवसायिक उडान थालेको हो । थाइले आइतबार, सोमबार, बुधबार र शुक्रबार गरी सातामा चार उडान गर्दै आइरहेको थियो । उक्त जहाज चार्टड गरेर आजै फर्किने प्राधिकरणले जनाएको छ ।