१८ कार्तिक , एजेन्सी ।
नेपाली राष्ट्रिय क्रिकेट टोलीका सदस्य एवं तीव्र गतिका बलर गुलशन झाले एकदिवसीय क्रिकेटतर्फ धेरै रन दिने नेपाली बलरको कीर्तिमान बनाएका छन् । अमेरिकामा जारी आईसीसी विश्वकप लिग–२ को खेलमा अमेरिकाविरुद्ध गएराति भएको खेलमा उनले ८७ रन दिएर उक्त कीर्तिमान बनाएका हुन् ।
तीव्र गतिका नेपाली बलर गुलशनले अमेरिकाविरुद्ध १० ओभरमा ८७ रन खर्चेर तीन विकेट लिएका थिए । गुलशनभन्दा पहिले नेपालबाट एकदिवसीय खेलमा धेरै रन दिने बलरमा सोमपाल कामी थिए ।
उनले गत वर्ष एकदिवसीय एसिया कप क्रिकेटमा पाकिस्तानविरुद्ध १० ओभरमा ८५ रन खर्चेर २ विकेट लिएका थिए । क्रिकेटको एकदिवसीय खेलमा अहिलेसम्म एकै खेलमा सबैभन्दा धेरै रन दिने बलरमा नेदरल्यान्ड्सका बास डि लिडे छन् ।
लिडेले सन् २०२३ को विश्वकप क्रिकेट प्रतियोगितामा अस्ट्रेलियाविरुद्ध १० ओभरमा २ विकेट लिँदै ११५ रन दिएका थिए । गुलशनको खराब प्रदर्शन रहेको गएरातिको खेलमा सोमपाल कामीले भने उत्कृष्ट प्रदर्शन गरे ।
१० ओभरमा ५० रन खर्चेर २ विकेट लिएका सोमपाल ४० औँ ओभरको तेस्रो बलमा गुलसन झा आउट भएपछि क्रिजमा आएका थिए । सो समयमा नेपालको स्कोर १६२ रन थियो । उनले दीपेन्द्र सिंह ऐरीसँग मिलेर आठौँ विकेटका लागि ७३ रनको साझेदारी गरे ।
४७ औँ ओभरमा भान साचलविकको बलमा आउट हुनुअघि उनले २७ बलमा ४६ रन जोडेका थिए । यसक्रममा उनले ४ चौका र २ छक्का प्रहार गरेका थिए ।