२ मंसिर, काठमाण्डौ।
निर्माण सम्पन्न नहुँदै सञ्चालनमा आएको धरहरा दुई महिना नबित्दै पुनः बन्द भएको छ । धरहराको लिफ्ट बिग्रिएर हाललाई बन्द गरिएको छ । लिफ्ट बिग्रिएपछि सर्वसाधारणलाई धरहरा चढाउने काम बन्द गरिएको शहरी विकास तथा भवन निर्माण विभागले जनाएको छ ।
केही दिनअघिदेखि सर्वसाधारणलाई धरहरा चढ्न रोक लगाइएको र लिफ्ट मर्मतको काम भइरहेको विभागले जानकारी दिएको छ । एकैपटक धेरै मानिस चढ्दा लिफ्ट बिग्रिएको हुन सक्ने विभागको भनाइ छ ।
अब लिफ्ट मर्मत गरे पनि केही समय सर्वसाधारणलाई चढ्न रोक लगाउने तयारी छ । विभागका उपमहानिर्देशक प्रकृर्ण तुलाधरका अनुसार केहीदिन अघिदेखि नै धरहरा बन्द गरिएको हो । धरहरामा निःशुल्क चढ्ने व्यवस्था भएपछि लिफ्ट बिग्रेको उनी बताउँछन् ।
सरकारले अब शुल्क तोकेर मात्र धरहरा सञ्चालन गर्ने तयारी गरेको छ । गएको असोज ३ गते सर्वसाधारणका लागि पनि धरहरा खुला भएको थियो । २०७२ सालको भूकम्पमा ढलेको धरहराको काम ४० प्रतिशत मात्रै सकिएको बेला २०७८ सालमा तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले उद्घाटन गरेका थिए ।
यद्यपि धरहरा पुनर्निर्माणको काम अझै सकिएको छैन । धरहरा संविधान दिवसको अवसर पारी सर्वसाधारणको लागि खुला गरिएको थियो । विसं १८८२ मा तत्कालीन प्रधानमन्त्री भीमसेन थापाले ९ तले धरहरा बनाएका थिए ।
जुन २०७२ वैशाख १२ मा गएको भूकम्पले ढलेको थियो । तर सरकारको आलटालका कारण समयमा पुनर्निर्माण सुरु हुन सकेन । धरहरा ढलेको तीन वर्षपछि मात्रै पुनर्निर्माण थालियो । केपी शर्मा ओली प्रधानमन्त्री भएकै वेला ‘मै बनाउँछु मेरो धरहरा’ भन्दै पुनर्निर्माणका लागि २०७५ पुस १२ मा शिलान्यास गरेका थिए ।
तर पुनर्निर्माण नसकी ३ वर्षअघि नै उनले उद्घाटन गरे । निर्माणाधीन धरहराको कामै नसकी जस पाउन उनै ओलीले हतारहतार २०७८ वैशाख ११ मा उद्घाटन गरेका थिए । त्यसपछि उनको चौतर्फी आलोचना भएको थियो ।