Nepal Times
Nepal Times
3
Shares

३ महिनामा ४ खर्ब ७ अर्ब रेमिट्यान्स भित्रियो

३ महिनामा ४ खर्ब ७ अर्ब रेमिट्यान्स भित्रियो

४ कार्तिक , काठमाण्डौ।

चालु आर्थिक वर्षको पहिलो तीन महिनामा विप्रेषण आप्रवाह (रेमिट्यान्स) ११ दशमलव पाँच प्रतिशतले वृद्धि भएको छ । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको वर्तमान आर्थिक तथा वित्तीय स्थिति प्रतिवेदनअनुसार गत असोज मसान्तसम्ममा विप्रेषण आप्रवाह वृद्धि भई रू चार खर्ब सात अर्ब ३१ करोड पुगेको छ ।

अमेरिकी डलरमा विप्रेषण आप्रवाह तीन अर्ब चार करोड पुगेको राष्ट्र बैंकले जनाएको छ । गत असोज मसान्तसम्ममा खुद द्वितीय आय (खुद ट्रान्सफर) रू चार खर्ब ४२ अर्ब ४४ करोड पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो आय चार खर्ब चार अर्ब सात करोड रहेको थियो ।

असोज मसान्तसम्ममा वैदेशिक रोजगारीका लागि अन्तिम श्रम स्वीकृति (संस्थागत तथा व्यक्तिगत–नयाँ) लिने नेपालीको सङ्ख्या एक लाख १० हजार छ सय ५४ र पुनः श्रम स्वीकृति लिनेको सङ्ख्या ५९ हजार नौ सय ३९ रहेको छ ।

यस्तै राष्ट्र बैंकका अनुसार चालु आर्थिक वर्षको असोज मसान्तसम्म विदेशी मुद्राको सञ्चिति १६ अर्ब ६० करोड डलर पुगेको छ । चालु आर्थिक वर्षको साउनको सुरुमा १५ अर्ब २७ करोड अमेरिकी डलर रहेको विदेशी मुद्रा बढेर १६ अर्ब ६० करोड पुगेको हो ।

चालु आर्थिक वर्षको ३ महिनामा आयात ४.२ प्रतिशतले घट्दा विप्रेषण आप्रवाह ११.५ प्रतिशतले बढेपछि विदेशी मुद्राको सञ्चितिमा सुधार देखिएको हो । यस्तै चालु आर्थिक वर्षको तीन महिनामा शोधानान्तर स्थिति १ खर्ब ८४ अर्ब रुपैयाँले बचतमा हुँदा चालु खाता समेत १ खर्ब ११ अर्ब रुपैयाँले बचतमा छ ।

नेपालमा भित्रिने विदेशी मुद्राको तुलनामा बाहिरिने विदेशी मुद्रा कम भएपछि शोधानान्तर स्थितिसँगै चालु खाता समेत बचतमा गएको हो । गत वर्ष अषाढ मसान्तमा शोधानान्तर स्थिति ५ खर्ब २ अर्ब रुपैयाँले बचतमा थियो ।

यस्तै गएको असोज महिनामा मुल्यवृद्धि घटेको पनि राष्ट्र बैंकको तथ्याङ्कले देखाएको छ । रिपोर्टअनुसार असोजमा वार्षिक विन्दुगत उपभोक्ता मुद्रास्फीति ४ दशमलव ८२ प्रतिशत रहेको छ । अघिल्लो वर्षको असोजमा वार्षिक विन्दुगत उपभोक्ता मुद्रास्फीति साढे ७ प्रतिशत रहेको थियो ।

यस्तै असोजमा खाद्य तथा पेय पदार्थ समूहको मुद्रास्फीति ७ दशमलव १८ प्रतिशत र गैरखाद्य तथा सेवा समूहको मुद्रास्फीति ३ दशमलव ४९ प्रतिशत रहेको छ । अघिल्लो वर्षको असोजमा खाद्य र पेय पदार्थको मुद्रास्फीति ८ दशमलव ४८ प्रतिशत र गैरखाद्य तथा सेवा समूहको मुद्रास्फीति ६ दशमलव ८५ प्रतिशतले वृद्धि भएको थियो ।

यो वर्षको असोज महिनामा खाद्य तथा पेय पदार्थ समूहअन्तर्गत तरकारी उपसमूहको वार्षिक विन्दुगत उपभोक्ता मूल्य सूचकाङ्क २५ दशमलव १५ प्रतिशत, दाल तथा गेडागुडीको १० प्रतिशत, खाद्य तथा खाद्यजन्य पदार्थको ९ दशमलव ५७ प्रतिशत र घपय तथा तेलको ४ दशमलव ९८ प्रतिशतले बढेको छ ।

तपाईंको प्रतिक्रिया

© copyright 2025 and all right reserved to Nepal Times | Design & Develop By : InDesign Media Pvt. Ltd.