Nepal Times
Nepal Times
3
Shares

रविलाई भोलि काठमाडौं फर्काउने तयारी

रविलाई भोलि काठमाडौं फर्काउने तयारी

७ मंसिर ,काठमाण्डौ ।

काठमाडौंको स्वर्णलक्ष्मी सहकारी ठगी प्रकरणको बयान लिन पोखराबाट काठमाडौं ल्याइएका पूर्वडीआईजी छविलाल जोशीको बयान सकिएको छ । पोखराको सूर्यदर्शन सहकारी ठगी प्रकरणमा पक्राउ परेका जोशीलाई स्वर्णलक्ष्मी सहकारी ठगी प्रकरणको बयान लिन प्रहरीले गएको मंगलबार काठमाडौं ल्याएको थियो ।

प्रहरी र जिल्ला सरकारी वकिल कार्यालयले बुधबारबाट बयान लिन थालेका थिए । बिहीबार बयान सकेर शुक्रबार पोखरा नै फिर्ता पठाएको जिल्ला प्रहरी परिसरका एसपी नवराज अधिकारीले बताएका छन् ।

अब सोही सहकारी प्रकरणमा पक्राउ परेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति तथा पूर्वगृहमन्त्री रवि लामिछानेलाई पनि काठमाडौं प्रहरीले पोखराबाट झिकाउने तयारी गरेको छ । जोशीलाई शुक्रबार नै फर्काएर लामिछानेलाई शनिबार ल्याउने तयारी प्रहरीको छ ।

विभिन्न पाँच जिल्लाको सहकारीको रकम रवि र छवि समेत सञ्चालक रहेको ग्यालेक्सी टेलिभिजनमा ६५ करोड रुपैयाँ गएको खुलेपछि उनीहरू दुवैजना पक्राउ गरेका हुन् । सहकारी ठगीका मुख्य आरोपी गितेन्द्र राई (जीबी) भने अझै फरार छन् ।

लामिछाने पनि सूर्यदर्शन सहकारी ठगी प्रकरणमा कात्तिक २ देखि कास्की प्रहरीको हिरासतमा छन् । दुवैजनाविरुद्ध काठमाडौं जिल्ला अदालतले पक्राउ पुर्जी जारी गरेको छ । पोखराको सूर्यदर्शन सहकारी सहकारीको बचत अपचलन प्रकरणमा गत असोज ६ गते जोशी पक्राउ परेका थिए ।

त्यहीबीचमा रूपन्देहीको सुप्रिम सहकारीको बचत हिनामिनामा संलग्न रहेको आरोपमा जिल्ला अदालतले पक्राउ पुर्जी जारी गरेपछि बयानका लागि उनलाई रूपन्देही पनि लगिएको थियो । लगत्तै काठमाडौं जिल्ला अदालतले काठमाडौंको स्वर्णलक्ष्मी सहकारीको बचत अपचलनमा अनुसन्धानका लागि पक्राउ पुर्जी जारी गरेको थियो ।

त्यसमा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेविरूद्ध पनि पक्राउ पुर्जी जारी भएको थियो । यसअघि कुमार रम्तेलसँग पनि बयान लिएर कास्की फर्काइएको थियो । काठमाडौं महानगरपालिका– १४ मा सञ्चालित स्वर्णलक्ष्मी सहकारीबाट बचतकर्ताको अर्बौं रकम हिनामिना भएपछि छानबिनका क्रममा लामिछाने, जोशी संलग्न गोर्खा मिडिया प्रालिमा रकम प्रवाह भएको पाइएको सहकारी छानविन प्रतिवेदनमा उल्लेख छ ।

काठमाडौं महानगरपालिकाको छानबिन प्रतिवेदनका आधारमा उक्त घोटाला प्रकरणमा रवि र छविको संलग्नता देखिएको भनिएको छ । सोही घोटालामा संलग्न काठमाडौं महानगरपालिका–६ घर भएका कमल लामा र वडा नम्बर ३१ की सुनिता नेवालाई प्रहरीले पक्राउ गरिसकेको छ ।

यसअघि प्रहरी वृत्त कालीमाटीमा जाहेरी परेपछि त्यहीँबाट अनुसन्धान सुरु भएको थियो । अहिले जिल्ला प्रहरी परिसरले कालीमाटीबाट फाइल झिकाएर अनुसन्धान अघि बढाएको हो । लामिछाने पक्राउ परेपछि उक्त फाइल परिसर झिकाएर प्रहरीले अनुसन्धानलाई तीव्रता दिएको छ ।

यसअघि यो सहकारी ठगी प्रकरणमा २४ जनाविरुद्ध पक्राउ पूर्जी समेत जारी भएको थियो । यो सहकारीका अध्यक्ष गीतेन्द्रबाबु (जीबी) राई हुन् । यो सहकारी ठगी प्रकरणमा ६४५ बचतकर्ताले प्रहरीमा जाहेरी दिएका थिए ।

स्वर्णलक्ष्मीबाट १ अर्ब ११ करोड रकम अपचलन भएको प्रहरीको प्रारम्भिक अनुमान छ । सहकारीको वचत रकम अपचलनको आरोपमा रविविरुद्ध चितवनको सहारा सहकारीका तर्फबाट समेत वचतकर्ताहरुले जाहेरी दिएका छन् ।

उनीमाथि पक्राउ पुर्जी जारी भए प्रहरीले चितवनमा समेत बयानका लागि लैजाने छ। पछिल्लो पटक रविका लागि थप भएको १३ दिनको समय ८ गते सकिदै छ । उनी कात्तिक २ गते काठमाडौंबाटै पक्राउ परेका थिए ।

तपाईंको प्रतिक्रिया

© copyright 2025 and all right reserved to Nepal Times | Design & Develop By : InDesign Media Pvt. Ltd.