Nepal Times
Nepal Times
3
Shares

विवाह पञ्चमीमा ३४ जोडीको एकैपटक लगनगाँठो

विवाह पञ्चमीमा ३४ जोडीको एकैपटक लगनगाँठो

२३ मंसिर, काठमाण्डौ ।

नेपालको तराई–मधेस क्षेत्रमा दाइजो प्रथा एउटा गहिरो सामाजिक समस्या बन्दै आएको छ । जसले कैयौंको ज्यान लिने र महिलामाथि हिंसा तथा विभेदको कारण बन्ने गरेको छ। यस्तो परिप्रेक्ष्यमा जनकपुरमा विवाह पञ्चमीको अवसरमा ३४ जोडीको विना दाइजो सामूहिक विवाह सम्पन्न भएको छ ।

विश्व हिन्दू परिषद् नेपालले जानकी मन्दिरमा यस वर्ष पनि ३४ जोडीको बिना दाइजो सामूहिक विवाह गराएको छ । सीताराम विवाह पञ्चमीको अवसरमा शनिवार राति मन्दिर परिसरमै हिन्दू परम्परा अनुसार परिषद्ले सामूहिक विवाह गराएको हो ।

विवाहमा लागेको सम्पूर्ण खर्च परिषद्ले व्यहोरेको छ । परिषद्का धनुषा अध्यक्ष सन्तोष साहले दाइजो प्रथा अन्त्य गर्न विगत ६ वर्षदेखि सामूहिक विवाह गराउँदै आएको जानकारी दिए । उनले बेहुलीलाई सुनको मङ्गलसूत्र, १५ सेट साडी, शृङ्गार पटार, बेहुलाका लागि आवश्यक पर्ने सबै लुगा परिषद्ले व्यवस्था गरेको बताए ।

विवाहित जोडीलाई भान्सा कोठामा प्रयोग हुने भाडावर्तन, बेडसिट र बेहुलारबेहुली दुवै पक्षलाई २५÷२५ जनाका लागि खानाको व्यवस्था समेत परिषद्ले नै गरेको उनको भनाई छ । दाइजो बिना विवाहका लागि परिषद्ले सूचना जारी गर्छ ।

त्यसपछि सम्पर्कमा आएका बेहुला–बेहुलीलाई दुवै पक्षका अभिभावकको सहमतिमा सामूहिक विवाह गराइन्छ । यसमा सहभागी अधिकतर बेहुला(बेहुली विपन्न वर्गका हुन्छ । विवाह गर्नुअघि बेहुलाहरूलाई दिउँसो रथमा राखेर जनकपुरधाम नगर परिक्रमा गराइएको थियो । परिषद्ले विना दाइजो धूमधामका साथ विवाह गराउने कार्य प्रशंसनीय भएको युवा अभियन्ता प्रशान्त झा बताउँछन् ।

दाइजो पर्याप्त नभएको भन्दै अझै पनि महिलामाथि मानसिक, शारीरिक,र सामाजिक हिंसा हुनेगरेका छन् । दाइजोले विशेषगरी गरिब परिवारमाथि ठूलो आर्थिक भार पार्छ। छोरीको विवाहका लागि परिवारलाई ऋण लिने र आर्थिक सङ्कट सामना गर्नुपर्छ। यस्तो विवाहले दाइजो प्रथाविरुद्ध जागरुकता बढाउने र समाजमा सकारात्मक परिवर्तन ल्याउने अपेक्षा गरिएको छ ।

विवाह पञ्चमीजस्तो धार्मिक महत्त्वपूर्ण अवसरमा भएको यो प्रयासले ठूलो संख्यामा मानिसलाई प्रभावित गर्नसक्ने बताइएको छ । जनकपुरको ३४ जोडीको विना दाइजो सामूहिक विवाहले दाइजो प्रथाजस्तो रुढीवादी परम्परालाई चिर्ने साहसी प्रयास गरेको छ।

यसले सामाजिक परिवर्तनको नयाँ दिशा देखाउँछ भने दाइजोको कारण हुने हिंसा, विभेद र आर्थिक भारबाट मुक्ति दिलाउन भूमिका खेल्ने आयोजकको अपेक्षा छ ।

तपाईंको प्रतिक्रिया

© copyright 2025 and all right reserved to Nepal Times | Design & Develop By : InDesign Media Pvt. Ltd.