२४ मंसिर,काठमाण्डौ।
सामाजिक सञ्जाल फेसबुकमा सोमबार एकाएक एउटा फरक समस्या वा परिवर्तन देखिएको छ । कम्प्युटरमा क्रोम ब्राउजरबाट फेसबुक चलाउँदा कुनै पनि पोस्टको प्रकाशित मिति देखिँदैन । त्यहाँ क्लिक हुने कोडजस्तो लिंक देखिएको छ ।
कुनै पनि प्रयोगकर्ता वा पेजको पोस्टमा नामको मुनि यसअघि प्रकाशित मिति (यति मिनटेअघि, घण्टाअघि वा मिति) देखिने गरेको थियो । सोमबार भने त्यसको ठाउँमा कोडजस्तो लिंक देखिएको छ ।
त्यसमा क्लिक गर्दा उक्त पोस्ट पपआउट वा अगाडि आएर कमेन्टसहित देखिन थालेको हो । यसबारे फेसबुकको कुनै जानकारी भने आइसकेको देखिँदैन । मोबाइल एपमा सटीक मिति देखाइ रहेको भए पनि ब्राउजरमा भने अनौठो कोड देखिएको छ ।
सामाजिक सञ्जालमा पनि केही नेपाली प्रयोगकर्ताले यस्तो हुनुको कारण खोजिरहेका छन् । यसो हुनुका पछाडिको यथार्थ कारण भने बाहिर आइसकेको छैन । यसबारेमा सामाजिक सञ्जाल फेसबुकले केही आधिकारिक धारणा व्यक्त गरेको छैन ।
यसैबीच विश्वकै प्रमुख सामाजिक सञ्जालका रुपमा रहेको फेसबुकको मुख्य कम्पनी मेटाले गतवर्ष आफ्ना लाखौं प्रयोगकर्ताले २ अर्ब अमेरिकी डलर रुपैयाँभन्दा बढी कमाएको बताएको छ । फेसबुकले भिडियो, रिल्स, फोटो र टेक्स्टपोस्टहरू सबैलाई मोनिटाइज गर्न सकिने सुविधा उपलब्ध गराएको छ ।
कम्पनीले फरक प्रयोगकर्ता वा क्रिएटरका लागि सोहीअनुसारको मोनिटाइज गर्न सुविधा दिएको बताएको छ । फेसबुकले यसअघि उपलब्ध रहेको ‘इन स्ट्रिम एड’ सुविधा गत अक्टोबर ४ देखि बन्द गरेको छ ।
कम्पनीले अब सबै क्रिएटर एवम् पेजका सबै ‘कन्टेन्ट मोनिटाइज’ हुने ‘फेसबुक कन्टेन्ट मोनिटाइजेसन’ प्रोगाम ल्याउने तयारीमा रहेको बताएको छ । यो प्रोग्राममार्फत ‘कन्टेन्टको परफर्मेन्स’का आधारमा आम्दानी गर्न सकिने कम्पनीले जनाएको छ ।
फेसबुकका अनुसार यो प्रोग्रामबाट क्रिएटरहरूले आफ्नो कन्टेन्ट वा पोस्टमा पाएको भ्युज, लाइक, कमेन्टलगायतका आधारमा आम्दानी गर्ने छन् । कन्टेन्टको परफर्मेन्स अथवा भ्युज, लाइक, कमेन्ट, सेयरलगायत आधारमा आम्दानी हुने हुँदा सबैलाई यो प्रोग्राममा आवद्ध हुन कम्पनीले आग्रह गरेको छ ।
तर हाल यो प्रोग्राम परीक्षणका रुपमा बेटा संस्करणमा छ । फेसबुकमा सबैले सहज आम्दानी गर्न सक्ने गरी कन्टेन्ट मोनिटाइजेसन सुविधा बनाइरहेको हुँदा अर्काे वर्षसम्म ‘इन्भाइट–वान्ली’का लागि उपलब्ध हुने कम्पनीले जनाएको छ ।
यहाँ बाट यस प्रोग्राममा सहभागी हुन आफ्नो विवरण राख्न सकिन्छ । त्यसपछि मेटाका तर्फबाट इन्भिटेसन आएमा यो प्रोग्राममा सहभागी भएर आम्दानी गर्न सकिन्छ । फेसबुकले हाल रिल्समा विज्ञापन देखाएबापत पनि क्रिएटरहरुलाई पैसा दिइरहेको छ ।
यस्तै बोनस प्रोग्रामबाट पनि राम्रो रिच एवम् भ्युज रहेका क्रिएटरलाई पैसा दिइरहेको छ । तर यी दुवै सुविधा ‘इन्भाइट–वान्ली’ छ । त्यसैले मापदण्ड पूरा गरेर अप्लाई गरेकामध्ये पनि रेन्डम व्यक्तिले यो सुविधा पाएर आम्दानी गर्न सक्छन् ।
रिल्समा एड चलाएर आम्दानी गर्न आवश्यक मापदण्डमा फेसबुकका तर्फबाट इन्भिटेसन पाएको हुनुपर्ने र यहाँ तोकिएका देशभित्र रहेको हुने पर्ने जनाइएको छ । परफर्मेन्स बोनस प्रोग्रामका लागि पनि क्रिएटरहरूले फेसबुकबाटै निमन्त्रणा पाउनु पर्ने छ ।
त्यस प्रक्रियामा जान आफ्नो पेजबाट मोनिटाइजेसन भन्ने अप्सनमा गएर त्यहाँबाट बोनसेसको अप्सनमार्फत प्रक्रिया पूरा गर्न सकिन्छ । त्यसपछि फेसबुकले आधिकारिक रुपमा इन्भिटेसन पठाउन सक्छ ।
इन्भिटेसन पाएपछि थप प्रक्रिया पूरा गरी आफ्ना कन्टेन्टको राम्रो परफर्मेन्स हुँदै गएमा पैसा कमाउन सकिने फेसबुकले जनाएको छ । यस्तै पेज वा व्यक्तिका फ्यानहरूले मासिकरुपमा पैसा तिरेर सब्स्क्राइब गरेमा पनि उक्त पेजबाट आम्दानी गर्न सकिन्छ ।
यस्तै फ्यानहरुले मन पराएर पैसा तिरेर स्टार किनेपछि उक्त स्टार पेजका पोस्ट कमेन्टमार्फत दिएमा पनि आम्दानी गर्न सकिने मेटाले जनाएको छ । यस्तै आफुले नै कुनै ब्रान्डसँग सहकार्य गरेर त्यसको प्रमोसन गरेर पनि आम्दानी गर्न सकिन्छ ।
फेसबुकले यस्तो पोस्टमा ब्रान्डेड कन्टेन्टको ट्याग लगाउन मिल्ने सुविधा राखेको छ । मेटाले अहिले आफ्ना पूराना विज्ञापन अथवा एड राखेर गर्न सकिने मोनिटाइजेसन सुविधालाई मर्ज गरेर कन्टेन्ट मोनिटाइजेसन प्रोग्राममा काम गरिरहेको बताएको छ ।
यो पूराना प्रक्रियाहरूभन्दा सहज देखिए पनि कम्पनीले स्पष्ट जानकारी भने दिइसकेको छैन र सबैका लागि कहिले सार्वजनिक हुन्छ भन्ने पनि स्पष्ट छैन ।