१ पुष ,काठमाण्डौ।
मलेसियामा जारी एसीसी यू–१९ महिला एसिया कप क्रिकेटमा नेपालले पाकिस्तानलाई पहिलो पटक हराएर ऐतिहासिक जित हासिल गरेको छ । आज दिउँसो भएको खेलमा नेपालले पाकिस्तानलाई ६ विकेटले हराएको हो ।
१०५ रनको लक्ष्य नेपालले १ ओभरअगावै पूरा गरेको हो । नेपालको जितमा कप्तान पुजा महतोले सर्वाधिक ४७ रन बनाएर अविजित रहिन् । त्यसअघि सोनी पाख्रिनले १३ तथा ओपनर सना प्रवीनले १० रन बनाइन् ।
त्यसअघि पाकिस्तानले २० ओभरमा ५ विकेट गुमाएर १०४ रन बनाएको थियो । पाकिस्तानका कोमल खानले ३८ रन बनाइन् । पाकिस्तान पहिलो खेलमा भारतसँग पराजित भइसकेको थियो । नेपाल सुपर फोरमा समेत प्रवेश गरेको छ ।
नेपालले भोलि भारतसँग खेल्ने छ । पाकिस्तान लगातार दोस्रो हारका साथ प्रतियोगिताबाट बाहिरिदा नेपाल एक खेल अगावै सेमिफाइनल प्रवेश पुगेको हो । पाकिस्तान पहिलो खेलमा भारतसँग पराजित भएको थियो ।
अब नेपालले मंगलबार भारतसामु चुनौती पेस गर्दा यही खेलबाट समूह बी को विजेता टुंगो लाग्ने छ । अर्को समूहबाट श्रीलंका र बंगलादेश सुपर फोरमा पुगिसकेका छन् । मलेसियाले भने पाँचौं स्थानका लागि पाकिस्तानसँग खेल्ने तय भइसकेको छ ।
नेपालले सुरुआत भने राम्रो गर्न सकेको थिएन । २३ रन बनाउँदा नै ओपनर सावित्री धामीलाई फतिमा खानले बोल्ड गरेकी थिइन् । उनले आठ रन मात्रै जोडिन् । नेपालको स्कोर बोर्डमा थप चार रन जोडिँदा अर्की ओपनर साना प्रभिन पनि फतिमाबाटै १० रनमा रनआउट भइन् ।
तर, तेस्रो नम्बरमा आएकी पूजाले अविजित ४७ रन बनाउँदै नेपालको जित पक्का गरिन् । ४७ बल नै खेलेकी उनले तीन चौका प्रहार गरिन् । उनले तेस्रो विकेटका लागि उपकप्तान सोनी पाख्रिनसँग ३१ रनको साझेदारी गरेकी थिइन् ।
१३ रन बनाएकी सोनी कोमल खानबाट रन आउट भइन् । यस्तै, जोत्सनिका मरासिनीले खाता खोल्न सकिनन् । तर, पूजाले सिमना केसीसँग पुनः ३९ रनको साझेदारी गर्दै जित पक्का गरिन् । सिमना १२ बल खेल्दै १२ रनमा अविजित रहिन् ।
पाकिस्तानकी फतिमा र कुरातुलाइनले समान एक विकेट लिइन् । त्यसअघि टस हारेर पहिला ब्याटिङ थालेको पाकिस्तानले निर्धारित २० ओभरमा पाँच विकेट गुमाउँदै १०४ रन बनाएको थियो।
नेपालका लागि पूजा महतोले सर्वाधिक दुई विकेट लिइन् । चार ओभर बलिङ गरेकी उनले २७ रन खर्चिइन् । यस्तै, रचनाकुमारी चौधरी, रिया शर्मा र सिमना केसीको नाममा समान एक विकेट रह्यो ।