२० फागुन ,काठमाण्डौ।
केही वर्ष अघिसम्म प्रधानमन्त्रीसमेत रहेका एमाले अध्यक्ष केपी शर्मा ओली जहाँ जान्थे, उनलाई हेर्ने र सुन्नेहरुको लाम लाग्थ्यो । भारतले लगाएको अघोषित नाकाबन्दीमा ओलीले उठाएको कदम र उनका अभिब्यक्तिले नेपाली आमजनतामाझ पनि उनलाई सबैभन्दा ठूलो राष्ट्रवादी नेताको रुपमा उभ्याएको थियो ।
ओली कही पुग्नै बित्तिकै भीडबाट उनको नाममा हुटिंग हुन्थ्यो । केपी बा आइ लभ यु, केपी ओली वी वान्ट यु जस्ता नारा घन्किन्थे । ओलीका हरेक बोलीलाई भीडले समर्थन जनाउँथ्यो । उनका हरेक उखानटुक्काहरुले समर्थन जनाउँदै तालीको गडगडाहट पाउँथ्यो ।
हरेक उमेरका, विशेषगरी युवाहरुको ओलीको ठूलो फ्यान थिए । सामाजिक संजालमा पनि ओलीका हरेक स्टाटसमा केपी बा आइ लभ यु लेखिएका कमेन्ट नै धेरै आउने गर्दथे । एमालेजनहरुका मात्रै होइन अन्य दलहरुमा आस्था राख्ने युवाहरु पनि ओलीका डाईहार्ट फ्यान थिए ।
तर समयसँगै अहिले उनका लागि आउने युवाका आवाजहरु परिवर्तन हुन् थालेका छन् । पछिल्लो समय चौथो पटक देशको प्रधानमन्त्रीमा आसिन भइयता ओलीले भीडबाट विरोध र आलोचनाको समाना गर्नुपरेको छ । अहिलेको भीडले ओली बा आइ लभ युसँगै केपी बाका नाममा अपशब्द प्रहार गर्छ ।
उनलाई भाषण गर्नै असहज हुनेगरीको विरोधको नारा घन्काउँछ । पहिला तालीको गडगडाहट सुनिने ठाउँमा अहिले सुन्नै नसकिने गाली आउँन थालेको छ । पहिला फुलको गुच्छाले स्वागत खाने ओली अहिले परै देखि कालो पट्टी, कालो झण्डा देख्दा हैरान छन् ।
यस्तै अवस्था हिजोको केपी ओली कपको फाइनल खेलको क्रममा दशरथ रंगशालामा देखियो । केही युवाहरुले ओलीविरुद्ध नारा लगाएपछि उनीहरु रंगशालामा नै एमालेकार्यकर्ताबाट कुटिएका छन् । सार्वजनिक भिडिओमा प्रधानमन्त्रीविरुद्ध नाराबाजी लगाएपछि दुई युवा रंगशालाको स्टेडियमै ती युवाविरुद्ध जाइलागे ।
तर ती युवा बारम्बार भनिरहेका छन्, केही बोल्न नहुने हो ? मान्छे कुट्न पाइन्छ । त्याहा प्रहरीले संयमता अपनायो । तत्कालले अवस्थालाई नियन्त्रणमा लिन माइकिङ समेत गर्याे । तर अर्काे समूहले स्टेडियम भित्रै युवाहरुलाई लात्ती र घुस्साले निर्धात कुटपिट गरेको देखिएको थियो ।
जहाँ प्रहरी पनि देखिन्छ तर ती युवाले भने कुटाई खाईरहन्छन् । यसअघि पनि ओलीविरुद्ध दशरथ रङ्गशालामा नै मुर्दावादको नारा लागेको थियो । साफ महिला च्याम्पियनसिपमा बङ्गलादेशसँग नेपाल पराजित भएपछि आक्रोशित भएका दर्शकले दर्शकका रुपमा पुगेका प्रधानमन्त्री ओलीविरुद्ध नारा लगाएका थिए ।
आक्रोशित दर्शकले केपी ओली मुर्दावाद, केपी ओली पनौती लगायतका नारा लगाएका थिए । यस्ता भीडभाड हुने धेरै कार्यक्रममा ओलीले जान पनि कटौती गर्दै आए पनि आफ्नै नामको ओली कपमा विशेष पाहुना बनेका इटालियन स्टार बुफोनसँगै फुटबल हेर्न उनी सपत्नी रंगशाला पुगेका थिए ।
तर त्याहा पनि प्रधानमन्त्रीले आफूविरुद्धको नाराको समाना गर्नुपर्याे । अचेल ओली जाने कार्यक्रममा हुनसक्ने विरोधलाई पहिला नै दबाइन्छ, विरोध गर्ने आशंकामा नै युवाहरु पक्राउ पर्न थालेका छन् ।
गएको १३ फागुनमा काठमाडौंमा नै प्रधानमन्त्री केपी शर्मा ओलीको कार्यक्रममा पुगेर विरोध गर्ने आशंकामा चार जनालाई प्रहरीले नियन्त्रणमा लिएको थियो । त्यसअघि काठमाडौंको टुंडिखेलमा पूर्व प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासहित उपस्थित गौरा पर्वको कार्यक्रममा पनि युवाहरुले दुवै नेताविरुद्ध नारा लगाएका थिए ।
नेपाल डे मनाउने क्रममा पनि ओलीविरुद्ध नारा लगाउने आशंकामा प्रहरीले केहीलाई नियन्त्रणमा लिएको थियो । इन्द्र जात्राका अवसरमा ओलीका अघि बालेन शाहको टीसर्ट लगाएको आरोपमा केही युवालाई पक्राउ गरिएको थियो ।
अन्य जिल्लामा गएका बेला कालो झण्डा देखाउनेहरुलाई पनि प्रहरीले पक्राउ गर्ने गरेको छ । स्वदेशमा मात्रै होइन प्रधानमन्त्री ओलीले अमेरिका पुग्दा समेत विरोधको समाना गर्नुपरेको छ । विरोधकै आशंकामा उनको अमेरिकामा रहेका नेपालीहरुसँगको कार्यक्रम नै स्थगित गरिएको थियो ।
प्रधानमन्त्रीमाथिको विरोधको श्रृखंला भने काठमाडौंको टुंडिखेलबाटै सुरु भएको थियो । जहाँ गौरा पर्वमा प्रमुख अतिथि भएर पुगेका ओली र पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाविरुद्ध भदौ ११ गते हुटिङ भएको थियो ।
त्यो हुटिङमा सहभागि भएको आरोपमा ३ जना युवालाई पक्राउ गरी सार्वजनिक अपराधको मुद्दा दायर गरेपछि ठूलो युवा समूह सरकारको कदमको विपक्षमा उभियो । त्यसको असर प्रधानमन्त्रीले धेरै सार्वजनिक समारोहहरुमा विरोधको स्वर सुन्नु पर्याे ।
पछि काठमाडौं महानगरका मेयर बालेन्द्र शाहसँगको सामाजिक संजालको वार र रास्वपा सभापति रवि लामिछाने पक्राउ परेको घटनापछि सामाजिक संजाल र सार्वजनिक समारोहहरुमा ओलीविरुद्ध आउने युवाका स्वरहरु बढेको देखिएको छ ।
बालेनका समर्थकहरुले त ओलीविरुद्ध अनफलो अभियान नै चलाएका थिए । तर एमाले नेताहरु भने यी स्वरहरुलाई प्रधानमन्त्रीविरुद्धको असन्तुष्टिका रुपमा लिन तयार छैनन् । हिजोकै रंगशालाको घटनालाई लिएर पूर्व मन्त्रीसमेत रहेका एमाले नेता महेश बस्नेतले लेखेका छन्, केपी ओली कप फुटबल प्रतियोगिताको उपाधिका लागि फाइनलमा हिजो साँझ दशरथ रंगशाला मछिन्द्र एफसी र त्रिभुवन आर्मी क्लब भिडेका थिए।
तर खेलअघि रंगशालामा दर्शक प्रवेश अस्तव्यस्त बनेको थियो। खेल सुरू हुनुभन्दा दुई घन्टाअघि नै रंगशाला सिट भरिँदा पास र टिकट भएका कतिपय दर्शक रंगशाला बाहिर रोकिएका थिय।
सोसल मिडियामा नियोजित ढङ्गले नेतृत्वको विरोध गर्ने एउटा पंक्ति सक्रिय रहिरहेको बेला हिजो आयोजित केपी ओली फुटबल कपमा देखिएको दर्शकहरूको आकर्षण र प्रधानमन्त्री केपी ओलीप्रतिको सद्भाव हेर्दा परिचालित समूह बाहेक आम जनसमुदाय नेतृत्वसँग असन्तुष्ट छ भन्ने आधार देखिँदैन। उनले रंगशालामा ओलीको क्रेज देखिएको समेत दाबी गरेका छन् ।