९ कार्तिक , काठमाण्डौ ।
देशका धेरै भूभागमा आज मौसम सामान्यतया सफा रहनेछ । केही भूभागमा बादल लाग्नेछ । जल तथा मौसम विज्ञान विभागका अनुसार लिउँसो देशको हिमाली भूभागमा आंशिक बादल लाग्नेछ । पहाडी र तराई भूभागमा मौसम मुख्यतया सफा रहनेछ ।
राति कोसी, वाग्मती, गण्डकी र कर्णाली प्रदेशका हिमाली भूभागमा आंशिक बादल लाग्नेछ । बाँकी हिमाली तथा पहाडी भूभागमा मौसम मुख्यतया सफा रहने नेपाल मौसम विज्ञान विभागले जनाएको छ । देशको तराई भूभाग, उपत्यका तथा खोँचहरूमा बिहानपख केही स्थानमा हुस्सु र कुहिरो लाग्नेछ ।

यसैबीच, केही मौसमविद्ले भने आउँदो शनिबार (कात्तिक १४)सम्मको मौसमी विश्लेषण सार्वजनिक गरेका छन् । त्रिभुवन विश्वविद्यालयको जल तथा मौसम विज्ञान केन्द्रीय विभागका सहप्राध्यापक डा. विनोद पोखरेलले आउँदो बिहीबारदेखि शनिबारसम्म लुम्बिनीदेखि कोसी प्रदेशसम्मका धेरै स्थानमा भारी वर्षा हुन सक्ने जनाएका छन् ।
“आगामी बिहीबारदेखि देशभर वर्षा हुने पूर्वानुमान कायमै छ,” उनले सामाजिक सञ्जालमा लेखेका छन्, “बिहीबारदेखि शनिबारसम्म लुम्बिनी प्रदेशदेखि कोसी प्रदेशसम्मका धेरै स्थानमा भारी वर्षा हुन सक्ने देखिएको छ ।”

हालको पूर्वानुमानानुसार २९ जिल्ला वर्षाजन्य जोखिममा पर्न सक्ने उनले उल्लेख गरेका छन् । “यद्यपि, भारी वर्षा हुने स्थान, समय र वर्षाको मात्रा अझै परिवर्तन हुन सक्छ,” उनले भनेका छन्, “किसान, हिमाली क्षेत्रका बासिन्दा तथा पदयात्रीहरूले विशेष सावधानी अपनाउनुहोला ।”
यस मौसमी प्रणालीबारे उनले केही दिनअघिदेखि जानकारी गराउँदै आएका छन् । विशेष गरी धानबालीसँग सम्बन्धित किसान, हिमाली क्षेत्रका बासिन्दा र पदयात्रीले सावधानी अपनाउनुपर्नेमा उनले जोड दिँदै आएका छन् । बंगालको खाडीमा विकसित उक्त न्यूनचापीय क्षेत्र आज गहिरो न्यूनचापीय क्षेत्रमा परिणत हुन सक्छ ।
त्यसपछि आज बिहानसम्म चक्रवात बन्न सक्ने सम्भावना रहेको भारत मौसम विज्ञान विभागले जनाएको छ । त्यसपछि त्यो प्रणाली अझ शक्तिशाली बन्दै अघि बढ्ने र भारतको उत्तरी आन्ध्र प्रदेश तथा त्यससँग जोडिएको दक्षिण ओडिसाको तटीय क्षेत्रमा अगाडि लाग्ने सम्भावना रहेको भारत मौसम विज्ञान विभागले जनाएको छ ।
त्यो प्रणाली त्यहाँबाट अगाडि बढ्दै भारतको बिहार हुँदै नेपालसम्म असर पर्ने राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका कार्यकारी प्रमुख डा. धर्मराज उप्रेतीले जनाएका छन् । “…भारतको उडिसा (ओडिसा)–बिहार हुँदै नेपालतिर आउने र भारी हिमपात अनि पूर्वी नेपालका केही जिल्लामा मध्यमदेखि भारी वर्षा हुने देखिन्छ,” उनले सामाजिक सञ्जालमा लेखेका छन्, “उच्च हिमाली क्षेत्रको पदयात्रा पनि माथि उल्लेख गरिएका दिनमा नगर्नु र नगराउनु उत्तम हुनेछ ।”
बुधबारसम्म भने ठूलो वर्षा वा मौसममा उल्लेनीय परिवर्तनको सम्भावना नरहेको महशाखाले जनाएको छ ।मौसमविद् विनोद पोखरेलले सार्वजनिक गरेको जिल्लागत प्रक्षेपणअनुसार कात्तिक १२ देखि १५ गतेसम्मको अवधिमा विशेषगरी शुक्रबार र शनिबार वर्षासम्बन्धी जोखिम तुलनात्मक रूपमा बढी हुन सक्छ ।
काठमाडौंसहित लुम्बिनी, गण्डकी, बागमती, मधेश र कोशीका विभिन्न जिल्लामा सतर्कता आवश्यक देखिएको छ । पोखरेलले सार्वजनिक गरेको जोखिम नक्सामा २८ जिल्ला ‘अति उच्च’ र थप २३ जिल्ला ‘उच्च’ वर्गमा राखिएका छन् । यो वर्गीकरण मौसमका दुई पूर्वानुमान मोडलले देखाएको सम्भावित वर्षामा आधारित हो ।
मनाङमा पनि यसपटक विशेष ध्यान दिनुपर्ने पोखरेलको भनाइ छ । यद्यपि, वर्षाको स्थान, समय र परिमाण बदलिन सक्ने भएकाले अहिलेको प्रक्षेपणलाई निश्चित घटनाका रूपमा बुझ्न नहुने उनले स्पष्ट पारेका छन् । संलग्न सञ्चित वर्षाको नक्सामा ललितपुर, लमजुङ, मनाङ, कास्की र काठमाडौंलगायत जिल्लामा तुलनात्मक रूपमा बढी वर्षाको संकेत देखाइएको छ ।
अक्टोबर २९ देखि नोभेम्बर २ सम्मको ९६ घण्टाका लागि तयार गरिएको उक्त नक्सामा दुई मोडलमध्ये बढी वर्षा देखाउने मोडलको परिमाण समेटिएको छ । त्यसअनुसार ललितपुरमा २७३ मिलिमिटर, लमजुङमा २६३, मनाङमा २५०, कास्कीमा २४९ र काठमाडौंमा २४६ मिलिमिटरसम्म सञ्चित वर्षाको प्रक्षेपण छ ।
स्याङ्जामा २४० मिलिमिटर, बागलुङमा २३९ र अर्घाखाँचीमा २३८ मिलिमिटरको संकेत देखाइएको छ । यी परिमाण एकै दिनमा पर्ने वर्षाका होइनन् र निश्चित रूपमा त्यति नै वर्षा हुन्छ भन्ने अर्थ पनि लाग्दैन । यी सम्बन्धित अवधिका मोडलमा आधारित सम्भावित सञ्चित परिमाण हुन् ।
जोखिमसम्बन्धी अर्को नक्साले भने अक्टोबर २९ देखि नोभेम्बर १ अर्थात् कात्तिक १२–१५ को अवधि समेटेको छ । त्यसैले दुई नक्साको समयावधि र तिनमा देखाइएको वर्षाको अर्थ फरक छ । जोखिम नक्सामा ईसीएमडब्लूएफ र जीएफएस दुवै मोडलले एक दिनमा कम्तीमा ६४.५ मिलिमिटर वा ७२ घण्टामा कम्तीमा १५० मिलिमिटर वर्षाको संकेत दिएका जिल्लालाई ‘अति उच्च’ वर्गमा राखिएको छ ।
त्यस्तै, दुवै मोडलले एक दिनमा कम्तीमा ४० मिलिमिटर वा ७२ घण्टामा कम्तीमा १०० मिलिमिटर वर्षा देखाएका जिल्ला ‘उच्च’ वर्गमा छन्। यो पोखरेलले प्रस्तुत गरेको विश्लेषणको वर्गीकरण हो । विशेषगरी मनाङलगायत हिमाली क्षेत्रमा जाने र पहिरोको जोखिम भएका सडक प्रयोग गर्नेहरूले प्रस्थानअघि पछिल्लो मौसम तथा सडकको अवस्था बुझ्नु उपयोगी हुनेछ ।
यसअघि जल तथा मौसम विज्ञान विभागले पनि आगामी मौसमी प्रणालीले कृषि र पर्यटनमा असर पार्न सक्ने बताएको थियो। बंगालको खाडीमा न्यूनचापीय क्षेत्र विकास भइरहेको र यसको प्रभाव नेपालमा पनि पर्ने भएकाले कात्तिक ११ गते बुधबारदेखि १५ गते आइतबारसम्म नेपालको मौसम प्रभावित हुन सक्ने मौसमविद् रोजन लामिछानेले बताए ।
‘बंगालको खाडीमा न्यून चापिय प्रणालीको विकास भइरहेको छ,’ मौसमविद् लामिछानेले भने, ‘आगामी बुधबारदेखि त्यो चक्रवातमा परिणत हुने देखिन्छ।’ उनले पनि बुधबारदेखि नेपालको कोसी, बागमती र गण्डकी प्रदेशमा त्यसको प्रभाव पर्नसक्ने बताएका छन् ।
‘बिहीबारदेखि त्यसको प्रभाव अझ बढ्छ। शनिबार दिउँसोसम्म त्यसले नेपालका विभिन्न भूभागमा वर्षा र हिमपात गराउने सम्भावना छ।’ चारदिन चक्रवातको प्रभाव रहने भएकाले नेपालको पहाडी र हिमाली क्षेत्रमा पैदलयात्री र पर्यटकहरुले सावधानी अपनाउनु पर्ने सुझाव लामिछानले दिएका छन् ।
‘यी चार दिन धानबाली भित्र्याउने तयारीमा रहेका किसान पनि सचेत बन्नुपर्ने देखिन्छ,’ लामिछानेले भने, ‘यी चार दिन धान नकाट्न र १५ गतेपछि मात्रै धान काट्ने योजना बनाउनु होला।’ उनले मौसम फेरबदल भइरहेको भएकाले महाशाखाबाट आवश्यक सूचना लिएर मात्रै काम र भ्रमणका योजना बनाउन पनि आग्रह गरेका छन् ।
तर, आइतबार, सोमबार र मंगलबार भने देशभर नै वर्षा र हिमपातको सम्भावना नरहेको महाशाखाले जनाएको छ । अर्का मौसमविद् उज्ज्वल उपाध्यायका अनुसार हाल बंगालको खाडीमा बनेको न्यूनचापीय प्रणाली शक्तिशाली बन्दै गएको छ ।
भारतीय मौसम विभाग (आईएमडी) ले समेत पुष्टि गरेको यो प्रणाली समुद्री सतहदेखि करिब ५.८ किलोमिटर उचाइसम्म फैलिएको छ । समुद्री सतहको तापक्रम करिब २९ डिग्री सेल्सियस रहेको र ‘भर्टिकल विन्ड सियर’ कम भएकाले यो प्रणाली थप शक्तिशाली बन्ने अनुकूल वातावरण रहेको छ ।
उक्त प्रणाली आइतबारसम्म गहिरो न्यूनचापीय अवस्था र सोमबारसम्म सम्भावित रूपमा ‘चक्रवात अर्नब’मा परिणत हुन सक्ने आकलन गरिएको छ । त्यसपछि यो प्रणाली पश्चिम–उत्तरपश्चिम दिशातर्फ अघि बढ्दै सोमबार भारतको उत्तर आन्ध्र प्रदेश र दक्षिण ओडिशाको तटीय क्षेत्र हुँदै जमिनमा प्रवेश गर्ने सम्भावना छ ।
यदि यो प्रणाली ओडिशा वा त्योभन्दा उत्तरतर्फ लागेमा नेपालमा यसको असर अझ बढी पर्न सक्ने मौसमविद् उपाध्यायले बताएका छन् । पौडेलका अनुसार कुनै अप्रत्याशित परिवर्तन नभएमा यस प्रणालीको सामान्य प्रभाव मंगलबार रातिदेखि नै नेपालमा देखिन थाल्नेछ ।
बुधबार (कात्तिक ११ गते) सम्ममा यो प्रणाली पूर्ण रूपमा नेपाल आइपुग्ने र कम्तीमा चार दिन (कात्तिक १५ सम्म) देशैभर वर्षा गराउने सम्भावना छ । यसको प्रभावले देशका केही सीमित भूभागमा भारी वर्षा हुन सक्नेछ भने उच्च हिमाली भेगमा बाक्लो हिमपात हुनेछ ।
विशेषगरी धौलागिरि, अन्नपूर्ण र मनास्लु हिमाल क्षेत्रमा हिमपातको प्रभाव तुलनात्मक रूपमा अलि बढी पर्न सक्ने देखिएको छ । मौसममा आउन लागेको ठूलो फेरबदललाई ध्यानमा राख्दै मौसमविद् उपाध्यायले पनि कात्तिक ११ देखि १५ गतेसम्मका लागि सतर्कता अपनाउन आग्रह गरेका छन् ।
उनले पाकेको धान तथा अन्य बाली काट्ने र भित्र्याउने कार्य कात्तिक ११ देखि १५ सम्मका लागि स्थगित गर्न, उच्च हिमाली तथा पहाडी क्षेत्रमा तय गरिएका पदयात्रा केही दिनका लागि स्थगन गर्न, पहिरो र वर्षाको जोखिमलाई मध्यनजर गर्दै पहाडी राजमार्ग तथा सडकमा लामो दूरीको यात्रा नगर्न र विशेषगरी पृथ्वी राजमार्ग तथा बीपी राजमार्गमा उच्च सतर्कता अपनाउन आह्वान गरेका छन् ।



