२६ फागुन , काठमाण्डौ ।
आइतबार काठमाडौंमा पूर्वराजा ज्ञानेन्द्र शाहका समर्थकहरुले देखाएको प्रदर्शन र सहभागितालाई अहिलेको गणतान्त्रिक व्यवस्थालाई नै त चुनौती नठानिए पनि सत्तामा रहेका र सत्ता पर्खिरहेका दलहरुलाई भने अवस्य चेतावनी दिएको छ ।
नेता र दलहरु अब पनि नसुध्रिने हो भने हिजो देखिएको जनलहर व्यवस्थाको विरुद्धमा नभएपनि उनीहरुको विरुद्धमा भने अझै बढ्नेमा शंका छैन । भलै पूर्वराजाको समर्थनमा आइतबार जनलहर उर्लिएको थियो, तर त्यो अहिलेको व्यवस्थाको आडमा नेताहरुको दलालीपनबाट उब्जिएको जनआक्रोश पनि थियो ।
त्यसैले त पूर्वराजाको जयजयकारसंगै प्रधानमन्त्री केपी ओलीविरुद्ध पनि दिनभर नै विरोधका नारा सुनिए । ओली देशको वर्तमान कार्यकारी प्रमुख भएर हो उनको मात्रै नाममा विरोध सुनिएको ।
तर यो विरोध गणतन्त्र आएपछि देशको शासनसत्तामा हालिमुहाली गर्ने सबै प्रधानमन्त्रीहरु, मन्त्री, सरकार, सत्तारुढ र विपक्षी सबै दल र तिनका नेताहरुविरुद्ध पनि हो । जसले कुर्सीभन्दा पर केही देखेनन्, सत्ताको खेलबाहेक केही जानेनन् ।
जनतालाई कहिल्यै आफ्नो ठानेनन् । यिनले यतिसम्म पारे कि जनतालाई उचित विकल्पसम्मको बाटो राखिदिएका छैनन् । अनि आजित भएर जनता पुरानै व्यवस्था ठिक भन्ने ठाउँमा पुगे र त्यसका लागि अब सडकमा पनि आउन थाले ।
वास्तवमा यो दलहरुलाई वार्निङ बेल हो । अब नसच्चिए, सक्किने बाटोतिर लागिन्छ भन्ने अलिकति डर राखे अहिलेको व्यवस्था र उनीहरुको भविष्य पनि सप्रिने छ । अब हिजो देखिएको अर्को पाटोको चर्चा गरौं ।
हिजो राष्ट्रिय झन्डा, बाजागाजा, शंख, झ्याली, ज्ञानेन्द्र शाहको तस्बिरसहित प्रदर्शनकारीहरूले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको गेटबाट पूर्वराजालाई स्वागत गर्दै उनको निवाससम्म पुर्याएका थिए । र यो भिडमा एउटा यस्तो फोटो पनि देखियो, जो यतिबेला भाइरल भइरहेको छ ।
भारतको उत्तर प्रदेशका मुख्यमन्त्रीसमेत रहेका भारतीय जनता पार्टी (भाजपा) का नेता योगी आदित्यनाथको फोटो पनि प्रदर्शनकारीले बोकेका थिए । योगी आदित्यनाथको फोटोमुनि ’राजसंस्था पुनस्र्थापना गरौं, हिन्दुवादी प्रदीपविक्रम राणा’ लेखिएको थियो ।
पूर्वराजा शाहको स्वागत कार्यक्रममा भारतीय मुख्यमन्त्री आदित्यनाथको फोटो देखिएपछि यसलाई लिएर सामाजिक सञ्जालहरूमा चर्चा भएको छ । राजतन्त्र पक्षधरहरुलाई भारतले र विशेषरुपले योगी र उनको दल भाजपाले अहिलेको गतिविधि गर्न सघाएको भन्दै टिकाटिप्पणी हुन थालेका छन्
यो क्रम बढेपछि राप्रपाले यसको खण्डन गरेको छ । राप्रपा प्रवक्ता ज्ञानेन्द्र शाहीले योगी आदित्यनाथको तस्बिर नेकपा एमालेका उपमहासचिव विष्णु रिमालले राख्न लगाएको आरोप लगाएका छन् । सांसदसमेत रहेका शाहीले सोमबार बिहान फेसबुकमा लेखेका छन्, हिजो राजाको स्वागतमा भारतका मुख्यमन्त्री योगी आदित्यनाथको फोटो स्वयम् प्रधानमन्त्री केपी ओलीज्यूको निर्देशनमा प्रधानमन्त्रीज्यूका प्रमुख राजनीतिक सल्लाहकार विष्णु रिमालले राख्न लगाइएको पाइएको छ ।
उनले लेखेका छन्, नेपाली राष्ट्रिय झन्डासहितको स्वागत कार्यक्रमलाई असर पार्नको लागि यस्ता कुकर्म गर्न थालेछन, छि छि । विदेशीको एजेन्डामा र सिद्धान्तनमा पार्टी चलाउनेहरूले ठूलो कुरा गरेको देख्दा अचम्म लाग्छ! माक्स ,लेलिन, माओ कुन देशका हुन ?
यता यसैबीच काठमाडौं महानगरपालिकाले भने राप्रपालाई सडकमा फोहोर र विरूवामा क्षति गरेको भन्दै एक लाख रुपैयाँ जरिवाना गरेको छ । आइतबार पूर्वराजा ज्ञानेन्द्र शाहलाई स्वागत गर्ने क्रममा महानगर क्षेत्र फोहोर बनाएको र भौतिक क्षति भएको भन्दै महानगरले पार्टीलाई एक लाख जरिवाना गरेको हो ।
महानगरले आइतबार काटेको पत्रमा भनिएको छ, ‘ प्रस्तुत विषयमा मिति २०८१ फागुन २५ गते ताहाँ पार्टी कार्यालयबाट आयोजना गरिएको कार्यक्रममा सहभागी व्यक्तिहरुबाट एयरपोर्ट, तिलगंगा, गौशाला लगायत सार्वजनिक क्षेत्रका सडक, सडक पेटी तथा आईल्याण्ड र सोमा रहेका बिरुवाहरु साथै रेलिङमा भौतिक क्षति र जथाभावी रुपमा फोहोरमैला समेत गरी वातावरण प्रदुषण गरेकोले तपाईलाई फोहरमैला व्यवस्थापन ऐन, २०६८, काठमाडौं महानगरपालिका वातावरण तथा प्राकृतिक स्रोत संरक्षण ऐन, २०७७ र काठमाडौँ महानगरपालिकाको आर्थिक ऐन, २०८१ बमोजिम रु. एक लाख जरिवाना गरिएको व्यहोरा निर्देशानुसार अनुरोध गरिन्छ।’
पत्रको बोधार्थ निर्वाचन आयोगलाई पनि दिइएको छ । तर यता राप्रपाले भने यो जरिबाना नतिर्ने भएको छ । पार्टीले काठमाडौँ महानगरपालिकाका मेयर बालेन शाहले राप्रपा र राजसंस्थाप्रति वक्रदृष्टि लगाएको आरोप समेत लगाएको छ ।
यसअघि पनि राप्रपा र राजधानीको दरबारमार्गमा एमालेले कार्यक्रम गर्दा समेत महानगरले जरिबानाको निर्णय गरेको थियो । तर, एमालेले उक्त जरिवाना एमालेले तिर्न अस्वीकार गरेको थियो । यसबीच प्रहरीले गृहमा गरेको रिपोर्टिङ अनुसार आइतबारको प्रदर्शनमा सबै ठाउँ गरी कम्तिमा १५ हजार प्रदर्शनकारी सहभागी थिए ।
तर, राप्रपाका प्रवक्ता मोहन श्रेष्ठ भने सबैतिर गरेर एक लाखको हाराहारीमा मानिसहरु उपस्थित भएको दाबी गरेका छन् । राप्रपा नेताहरुले पछिल्लो समय बढ्दै गएको माहोललाई देखाएर गणतन्त्रवादी नेताहरुलाई ‘नवीन समझदारी’का लागि तयार रहन चेतावनी दिइरहेका छन् ।