५ चैत , काठमाण्डौ।
चीनको छेन्दुबाट पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा आजदेखि नियमित व्यावसायिक चार्टर उडान सुरु हुने भएको छ । नेपाल–चीन कूटनीतिक सम्बन्ध स्थापना भएको ७० वर्ष पुगेको अवसरमा यो उडान सुरु भएको हो ।
सिचुआन प्रान्तको सहयोगमा सिचुआन एयरलाइन्सले आजदेखि पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा पहिलोपटक नियमित व्यावसायिक चार्टर उडान गर्ने भएको हो । यस उडानले नेपाल र चीनबीचको हवाई सम्पर्कलाई अझ प्रभावकारी बनाउँदै पर्यटन प्रवद्र्धन, सांस्कृतिक आदान–प्रदान र व्यावसायिक सहकार्यलाई नयाँ उचाइमा पुरÞ्याउने नेपाल पर्यटन बोर्डको विश्वास छ ।
छेन्दुबाट पोखरामा आउने सिचुवान एयरलाइन्समार्फत मंगलबार हुने व्यावसायिक चार्टर उडानमार्फत १२७ सदस्यीय नेपाली प्रतिनिधिमण्डल ‘पोखरा–छेन्दु फ्लाइट प्रमोसन एण्ड चाइना (सिचुआन) सेल्स मिसन २०२५’का लागि जाने छ ।
आजदेखि नियमित १० हप्तासम्म चार्टर उडान हुने भएको हो । आज १२७ चिनियाँ पर्यटक लिएर उक्त जहाज पोखरा अवतरण गर्नेछ । सोही जहाज चढेर पोखराका पर्यटन व्यवसायीहरू छेङ्दु उड्नेछन् ।
दुई देशबीच पर्यटन प्रवद्र्धनका कार्यक्रम समेत भएकोले पोखरा महानगरका मेयर धनराज आचार्यले यसको नेतृत्व गर्नेछन् । पोखरा महानगरले सन् २०२५ लाई भ्रमण वर्ष घोषणा गरेको छ । त्यसैले पर्यटकको संख्या बढाउन पोखरा छेङदु उडानमा जोड दिइएको आचार्यले बताएका छन् ।
छेङ्दु चीनको चौंथो ठूलो सहर हो । भ्रमणका क्रममा चीनका विभिन्न ५ सहरमा पोखरा र आसपासको पर्यटन प्रवद्र्धनका कार्यक्रम पनि गर्न लागिएको हो । १० हप्तामा मात्रै चीनबाट १२५० पर्यटक पोखरा आउने परिषद्का महासचिव जीवन सापकोटाले जानकारी दिए ।
‘१० हप्ताको फ्लाइट फाइनल भएको छ । त्यसपछि कसरी नियमित गर्न सकिन्छ भनेर छलफल चलिरहेको छ,’ उनी भन्छन्,’यो फ्लाइटले पोखराको पर्यटनमा उत्साह थपिएको छ। अब निरन्तर फ्लाइटको अपेक्षा छ ।’
साढे २ वर्षअघि उद्घाटन भएको पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट नियमित १० हप्ता चार्टर उडान हुने भएको हो । ९ करोड भन्दा बढी जनसङ्ख्या रहेको सिचुवान पर्यटकीय प्रान्त हो ।
अन्तर्राष्ट्रिय उडानको लागि पटक पटक पहल गर्दा पनि सम्भव नभएपछि निजी क्षेत्र नै कस्सिएका हुन् । निर्माण सम्पन्न भएको महिनौ बितिसक्दा समेत अन्तराष्ट्रिय उडान हुन् नसकेको पोखरा विमानस्थलमा अब छेन्दुमा हुने नियमित उडानले पोखरावासीमा आशा जगाएको छ।