२४ चैत , एजेन्सी ।

राष्ट्रिय सभा सदस्य डा. अञ्जान शाक्य अन्तर–व्यवस्थापिका संघ (आईपीयु) को दिगो विकास स्थायी समितिमा एसिया–प्रशान्त क्षेत्रबाट विजयी भएकी छन् । उज्वेकिस्तानको राजधानी ताश्केन्टमा भएको सम्मेलनमा उनले नेपालबाट प्रतिनिधित्व गरेकी थिइन् ।

उनीसँगै माल्दिभ्स र इरानबाट पनि उम्मेदवारी परेको थियो । दुबै उम्मेदवारलाई पछि पार्दै शाक्य विजयी भएकी हुन् । यससंगै नेपालले पहिलो पटक उपस्थिति जनाउँदा नै यो मञ्चमा सफलता हात पारेको हो । सभामुख देवराज घिमिरे सहितको टोली अहिले उज्वेकिस्तानमा छ ।

सभामुख घिमिरेले दिगो विकासको क्षेत्रमा गहिरो अनुभव हासिल गरेकी शाक्यले अन्तर्राष्ट्रिय मञ्चमा नेपालका तर्फबाट सशक्त भूमिका निर्वाह गर्न सक्ने अपेक्षा लिएको भन्दै आईपीयुको दिगो विकास स्थायी समितिमा रहेका ३६ देशका सभामुखलाई पत्र लेख्दै शाक्यको समर्थनका लागि आग्रह गरेका थिए ।

सभामुख घिमिरे र सांसद डाक्टर शाक्यसहितको प्रतिनिधि मण्डल अन्तरव्यवस्थापिका संघको १५० औं वार्षिक सभा तथा असंलग्न आन्दोलन संसदीय सञ्जालको चौथो शिखर सम्मेलनमा सहभागी हुन उज्वेकिस्तानको राजधानी तास्कन्द पुगेको हो । शाक्यले त्यहाँ दिगो विकास स्थायी समितिमा एसिया–प्रशान्त क्षेत्रको तर्फबाट उम्मेदवारी प्रस्तुत गरेकी थिइन् ।

शाक्यले आफ्नो जितसँगै यसले नेपालको प्रतिष्ठा अन्तर्राष्ट्रिय मञ्चमा पनि बढाउन सहयोग पुर्याएको महसुस गरेको बताएकी छन् । ‘सभामुखज्युले पत्र लेखेर नै मेरो समर्थनका लागि आग्रह गर्नुभएको थियो,’ शाक्यले भनेकी छन्, ‘मैले पनि व्यक्तिगत रुपमा मेरो समर्थनका लागि आग्रह गरेकी थिएँ । हामी सबैको प्रयासले यो सफलता प्राप्त भयो ।’

शाक्यले सकारात्मक पहलका लागि प्रधानमन्त्री, सभामुख, संसद सचिवालयको अन्तर्राष्ट्रिय महाशाखा लगायतलाई पनि धन्यवाद व्यक्त गरिन् । सांसद शाक्य राष्ट्रिय सभाको विकास, आर्थिक मामिला तथा सुशासन समिति सदस्य तथा सोही समितिको दिगो विकास उपसमिति संयोजक छिन् ।

उनकै नेतृत्वमा ‘नेपाल अतिकम विकसित राष्ट्रबाट विकासशील राष्ट्रमा स्तरोन्नति हुने सम्बन्धमा अध्ययन प्रतिवेदन–२०८१’ प्रतिवेदन तयार गरी राष्ट्रिय सभाको विकास, आर्थिक मामिला तथा सुशासन समितिलाई बुझाइएको छ ।

उनी संयोजक रहेको उपसमितिले पटक–पटक विभिन्न मन्त्रालय, सरोकारवाला निकाय र नीजि क्षेत्रसँग छलफल गरी उक्त प्रतिवेदन तयार गरेको थियो । अन्तर–व्यवस्थापिका संघ (आईपीयु) को दिगो विकास स्थायी समिति आईपीयुको चार स्थायी समितिमध्ये एक हो।

यस समितिको मुख्य उद्देश्य विश्वभरिका नागरिकहरूको जीवनस्तर सुधार गर्नु र ग्रहको संरक्षण गर्नु हो। यो समिति न्यायोचित व्यापार, वातावरण संरक्षण, विकासका लागि वित्तीय व्यवस्था, र अन्य विश्वव्यापी चुनौतीहरूमा केन्द्रित छ, जसले हाम्रो विश्वको भविष्यलाई आकार दिन्छन्।

Scroll to Top