२४ चैत , काठमाण्डौ।
आज पनि काठमाडौं उपत्यका ‘विश्वकै’ प्रदूषित बनेको छ। दुई सातायता काठमाडौं उच्च प्रदूषित हो । वायुको अन्तर्राष्ट्रिय नियामक निकाय आईक्यू एयरका अनुसार, आइतबार बिहान ११ बजे काठमाडौं विश्वका १२४ मध्ये खराब वायु भएका सहरको पहिलो नम्बरमा छ ।
यो समयमा काठमाडौंको वायुको गुणस्तर मापदण्ड (एक्यूआई) २२६ रहेको छ । यो सूचीको दोस्रो स्थानमा रहेको भियतनामको हानोइ शहरको १९८ र तेस्रो स्थानमा भारतको राजधानी दिल्ली छ जसको एक्यूआई १८९ रहेको छ ।
त्यसपछि प्रदूषित शहरहरुमा पाकिस्तानको लाहोर, भारतको मुम्बई, चीनको सांघाई, बंगलादेशको ढाका, इराकको बगदाद क्रमश रहेका छन् । वातावरण विभागका अनुसार, आज काठमाडौंका शंखपार्क र रत्नपार्क, ललितपुरका खुमलटार र भैँसेपाटी तथा भक्तपुर उच्च प्रदूषित छ ।
उपत्यका बाहिर दाङको देउखुरी र मुगुको रारा उच्च प्रदूषित छ । सोही समयमा देउखुरीको एक्यूआई १६० र रारा क्षेत्रको १५२ मापन भएको छ । एक्यूआई १०१ देखि १५० को वायु बालबालिका, वृद्धवृद्धा र दीर्घरोगीका निम्ति ‘अस्वस्थकर’ हुन्छ ।
त्यो १५१ देखि २०० सम्म पुगेमा सबैका निम्ति अस्वस्थकर हुन्छ । यस्तै, २०१ देखि ३०० सम्म पुगेमा ‘अति अस्वस्थकर’ र त्योभन्दा माथि भएमा ‘खतरनाक’ बन्दै जाने विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ)को मापदण्ड छ ।
बिहीवार खतरनाक तह पार गरेर शुक्रवारदेखि केही घटेको काठमाण्डौको प्रदूषण हिजो बेलुकादेखि फेरी बढेको हो । वायु गुणस्तर मापन सूचक दुई सय भन्दा माथि रहेकोले अति सावधानी अपनाउनुपर्ने डाक्टरहरु बताउँछन् ।
एक हप्ता अघिदेखि नै बढिरहेको प्रदूषणका कारण अस्पतालमा बिरामीको सङ्ख्या बढेको छ । वायु प्रदुषणका कारण श्वासप्रश्वाससँग सम्बन्धित समस्याहरु धेरै देखिने गरेका छन्। यस्तै दूषित कणहरु फोक्सोबाट रगत हुँदै शरीरका अरू अङ्गमा समेत पुगेर जटिलता ल्याउने चिकित्सकहरु बताउँछन् ।
अहिलेको जटिल समयमा सकेसम्म घरभित्र बस्न र निस्कनै पर्दा मास्क लगाउन डाक्टरको सुझाव छ । यस्तै काठमाडौंको वायु प्रदूषण कम गर्न विज्ञहरूले हप्तामा दुई दिन सार्वजनिक बिदा दिन सरकारलाई सुझाएका छन् ।
स्वास्थ्य मन्त्रालयले समेत काठमाडौं उपत्यकाको वायु खतरनाक अवस्थामा रहेकाले यसबाट बच्न सतर्कता अपनाउन आग्रह गरेको छ । साथै अनावश्यक रूपमा घरबाट बाहिर ननिस्कन र निस्कनै पर्ने भए मास्कको प्रयोग गर्न अनुरोध गरेको छ ।