२४ चैत , काठमाण्डौ ।
कुलमान घिसिङको पक्षमा आज काठमाडौंमा र्याली निकालिएको छ । जसमा भिक्षुहरुको समेत उल्लेख्य सहभागिता रहेको थियो । सरकारले पदबाट हटाउनासाथ कहिले राजावादीहरुको आन्दोलन त कहिले काठमाडौं महानगरपालिकाको कलह, कहिले शिक्षकहरुको आन्दोलनका कारण ओझेलमा परेको कुलमान घिसिङ बर्खास्तीको विषय अब भने सडकमा देखिन थालेको छ ।
उनको बर्खास्तीको पहिलो र दोस्रो दिनसमेत काठमाडौंसहित देशकका विभिन्न स्थानमा कुलमान घिसिङका समर्थकहरुले प्रदर्शन गरेका थिए । तर त्यसपछि भने केही सेलाएको जस्तो देखिएको थियो । अब भने फेरि उनका समर्थकहरु काठमाडौंमा प्रदर्शनी निस्किएका छन् ।
आज काठमाडौंको माईतीघर मण्डलामा कुलमानका पक्षधरहरुले प्रदर्शन गरेका छन् । कुलमानका समर्थकहरुले देशको शान कुलमान घिसिङ, कुलमान हाम्रो शान हो, देश र जनताको मान हो, पूरा नेपाल झलमल्ल छ, जनताको मनमा कुलमान छ, उज्यालो नेपालका नायक कुलमान घिसिङ, कुलमान घिसिङलाई कार्यकारी राष्ट्रपति बनाउनु पर्छ, जस्ता प्लेकार्ड र ब्यानर बोकेर प्रदर्शन गरेका हुन् ।
कुलमान घिसिङका लागि उनको पुनर्बहाली संयुक्त आन्दोलन परिचालन समिति नै बनेको छ । यसको नाममा आज काठमाडौंमा प्रदर्शन भएको हो । जसमा विभिन्न संघ÷संगठन तथा सर्वसाधारणको पनि सहभागिता रहेको थियो ।
बौद्ध भिक्षुहरूसमेतको सहभागिता रहेको ¥यालीमा कुलमानलाई अपमानजनक ढंगले निकालिएको लगायतका नारा लगाइएको थियो । सरकारले चैत ११ गते नेपाल विद्युत् प्राधिकरणको कार्यकारी निर्देशकमा हितेन्द्रदेव शाक्यलाई नियुक्त गरेको थियो ।
मन्त्रिपरिषद्ले उक्त पदमा रहेका कुलमान घिसिङलाई हटाउँदै शाक्यलाई नियुक्त गरेको हो । शेरबहादुर देउवा नेतृत्वको सरकारले दोस्रो पटक कुलमानलाई २०७८ साल साउन २६ गते प्राधिकरणको कार्यकारी निर्देशकमा नियुक्त गरेको थियो ।
सरकारले तत्कालीन कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यलाई भने जल तथा ऊर्जा आयोगमा विशिष्ट श्रेणीको सुविधासहित सरुवा गरेको थियो ।
२०७३ भदौ २९ को पुष्पकमल दाहाल नेतृत्वको मन्त्रिपरिषद् निर्णयबाट पहिलोपल्ट प्राधिकरणको कार्यकारी निर्देशकमा नियुक्त कुलमानलाई लोडसेडिङ अन्त्य गरेको र वर्षौंदेखि घाटामा गएको संस्थालाई नाफामा लगेको श्रेय जान्छ ।