८ साउन , काठमाण्डौ ।
मनसुन कमजोर हुँदा आज विहानैदेखि देशका अधिकाँश क्षेत्रमा गर्मी बढेको छ । अस्ति मङ्गलवारसम्म सक्रिय रहेको मनसुन फेरि निष्क्रियजस्तै भएको छ ।
मौसमविद् हरिप्रसाद दाहालका अनुसार मनसुन निष्क्रिय नभएर कम सक्रिय भएको हो । मनसुन कम सक्रिय भएकाले काठमाण्डौ उपत्यकासहित देशका धेरै ठाउँको मौसम सुक्खा भएको छ ।
आज पनि बिहानैदेखि घाम चर्किएको छ । गएराति केही ठाउँमा हल्का वर्षा मात्रै भयो । यद्यपि बागमती प्रदेशका थोरै स्थानमा हल्का वर्षा भएको छ ।
यस्तै आज दिउँसो कोशी, बागमती, गण्डकी, कर्णाली र सुदूरपश्चिमको पहाडी भेगसहित केही ठाउँमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षको सम्भावना छ ।
राति कोशी र मधेश प्रदेशका एक÷दुई ठाउँमा ठूलो पानी पर्न सक्ने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । यसबीच देशका केही सानाठूला नदीमा आज पानीको बहाव उल्लेख्य बढ्ने अनुमान छ ।
उक्त नदीतटीय क्षेत्रमा सतर्कता अपनाउन बाढी पूर्वानुमान महाशाखाले आग्रह गरेको छ । आज ताप्लेजुङ, तेह्रथुम, संखुवासभा, सोलुखुम्बु, दोलखा, रामेछाप र सिन्धुपाल्चोकमा आकस्मिक बाढीको ‘मध्यम’ जोखिमको उच्च सम्भावना रहने औँल्याइएको छ ।
यी जिल्ला भई बहने साना नदीमा बहाव उल्लेख्य बढ्ने महाशाखाको अनुमान छ ।
इलाम, झापा, मोरङ, पाँचथर, धनकुटा, भोजपुर, खोटाङ, ओखलढुंगा, काभ्रेपलाञ्चोक, काठमाडौं, ललितपुर, भक्तपुर, मकवानपुर, रसुवा, नुवाकोट, धादिङ, गोरखा, लमजुङ, कास्की र रुकुम पूर्व भई बहने साना नदीमा पनि बहाव उल्लेख्य बढ्ने सम्भावना छ ।
यी जिल्लामा आकस्मिक बाढीको मध्यम जोखिमको ‘मध्यम’ सम्भावना रहने महाशाखाको पूर्वानुमान छ ।
बिहीबार बिहानको मापनमा कोसी, नारायणी, कर्णाली, महाकाली, कमला, वाग्मती, पूर्वी राप्ती, पश्चिम राप्ती, बबई र कन्काई नदीहरूको जलसतह सतर्कता तहभन्दा तल रहेको महाशाखाले जनाएको छ ।