१६ भदौ , काठमाण्डौ ।
लमो प्रक्रियापछि रुपन्देही–३ मा हुने उपनिर्वाचनका लागि राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)ले उम्मेदवारका लागि चयन गरेका डा.लेखजंग थापा विवादमा तानिएका छन् । थापाको विवादित छविका कारण जान्नेलाई छान्ने भन्ने गरेको रास्वापा पनि आलोचनाको घेराबन्दीमा परेको छ ।
जसका कारण आज पत्रकारसँग गर्ने भनिएको अन्तरक्रिया समेत स्थगित भएको छ । आइतबार उम्मेदवारमा चुनिएका थापाले आज दिउँसो २ बजे रास्वपाको केन्द्रीय कार्यालय वनस्थलीमा पत्रकारसँग भेटघाट तथा अन्तरक्रिया गर्न लागिएको सूचना प्रवक्ता मनिष झाले सञ्चार माध्यममा प्रवाह गरेका थिए ।
विशेष कारणवश पत्रकारसँग भेटघाट कार्यक्रम अर्को समयको लागि सारिएको झाले जानकारी गराएका छन् । यता थापालाई उम्मेदवार बनाएलगत्तै उनी गम्भीर विवादमा तानिएका छन् । बहुविवाह गरेको र पार्टीको गोप्य बैठकमा ‘जासुसी चस्मा’ प्रयोग गरी भिडियो रेकर्ड गरेको आरोप उनीमाथि लागेको छ ।
पार्टीले थापालाई उम्मेदवार घोषणा गरेलगत्तै उनको व्यक्तिगत र राजनीतिक आचरणमाथि प्रश्न उठाउँदै सामाजिक सञ्जाल र पार्टीभित्रै चर्को आलोचना सुरू भएको छ । थापामाथि सम्बन्धविच्छेद नगरी बहुविवाह गरेको गम्भीर आरोप छ । यद्यपि, पार्टीका महामन्त्री कविन्द्र बुर्लाकोटीले पहिलो श्रीमतीसँग सम्बन्धविच्छेद गरेर मात्र दोस्रो विवाह गरेको दाबी गरेका छन् ।
तर, थापा स्वयंले पाँच वर्षअघि युट्युबमा राखेको ‘सुपर थापा फ्यामिली’ नामक भिडियो तथा उनका दुवै श्रीमती (सुलोचना घिमिरे र नुमा शर्मा) ले हालै सार्वजनिक गरेका टिकटक भिडियोहरूले उनीहरू सँगै बस्दै आएको देखाउँछ ।
यसका साथै, थापामाथि पार्टीको आन्तरिक बैठकमा अनुशासन उल्लंघन गरेको आरोप पनि छ । भदौ ३ गते बसेको उम्मेदवार आकांक्षीहरूको गोप्य बैठकमा मोबाइल लैजान निषेध गरिए पनि थापाले भिडियो रेकर्ड गर्न मिल्ने ‘जासुसी चस्मा’ लगाएर बैठकको अडियो–भिडियो रेकर्ड गरेको खुलेको हो । घटनापछि अन्य आठ जना आकांक्षीले हस्ताक्षर गरी थापालाई अनुशासनको कारबाही गर्न माग गर्दै पार्टीको लुम्बिनी प्रदेश इन्चार्जलाई उजुरी दिएका थिए ।
लुम्बिनी प्रदेश इन्चार्जलाई सम्बोधन गरिएको उक्त पत्रमा थापाले गोप्य चुनावी रणनीतिका संवाद रेकर्ड गरेको र प्रविधिको चरम दुरुपयोग गरी पार्टी जीवनलाई समेत गम्भीर क्षति पुग्ने र अन्य प्रतिस्पर्धीको राजनीति जीवनमा समेत क्षति पुग्ने देखिएकाले विधान विपरीतका यस्ता गैरराजनीतिक चरित्र प्रस्तुत गर्नेलाई आवश्यक अनुसन्धान गरी कारबाहीको जोडदार माग गरिएको छ ।
उजुरी पत्रको बोधार्थ केन्द्रीय अनुशासन आयोग, केन्द्रीय निर्वाचन आयोग, लुम्बिनी प्रदेश सभापति र जिल्ला सभापति रुपन्देहीलाई दिइएको छ । उक्त दिनको बैठक सुलभ खरेलको सभापतित्वमा बसेको थियो । यसरी कारबाहीको माग गर्ने सबै ८ प्रतिस्पर्धीहरू खरेल, मधुप्रसाद अर्याल, जीतबहादुर गुप्ता, रचना क्षेत्री, ज्ञानु पौड्याल, कुसुम महर्जन, पार्थिवेन्द्र उपाध्याय र पुनम अग्रवाल थिए ।
तर, उक्त उजुरीउपर कुनै छानबिन नगरी उनलाई नै उम्मेदवार बनाइएको आरोप छ । विवाद चर्किएपछि रास्वपाभित्रै उम्मेदवार फेर्नुपर्ने आवाज उठेको छ । थापा यसअघि नागरिक उन्मुक्ति पार्टीको समानुपातिक सूचीमा थिए, जुन नाम अझै हटेको छैन ।
उनले आफू उम्मेदवार बनेको कुरा सामाजिक सञ्जाल फेसबुकमार्फत एक पोस्ट सार्वजनिक गर्दै लेखेका थिए ‘तपाईंहरू सबैजस्तै म पनि हाम्रो देशमा अर्थपूर्ण सकारात्मक परिवर्तनहरूको प्रारम्भिक आवश्यकतालाई गहिरो रूपमा महसुस गर्छु । म नेपालभित्र र विदेशमा रहेका सबै नेपालीहरूलाई हाम्रो देशमा स्वास्थ्य र शिक्षालाई सुदृढ पार्न हाम्रो आवाजको रूपमा मलाई समर्थन गर्न विनम्र अनुरोध गर्दछु ।’
थापाले उक्त पोस्ट २२ नोभेम्बर २०२२ मा गरेका थिए, जुन अझै उपलब्ध छ । उनीनिकटका अनुसार उक्त पार्टीले निर्वाचन आयोगलाई बुझाएको समानुपातिक उम्मेदवारको बन्द सूचीमा उनको नाम अझै छ । अर्थात्, उनी रास्वपाको उम्मेदवार बन्नु केही समयअघिसम्म सो पार्टीमा सक्रिय थिए ।
उनकी श्रीमती नुमा शर्मालाई नाउपाको तर्फबाट लुम्बिनी प्रदेश योजना आयोगको सदस्य बनाएका थिए । शर्मा थापाकी दोस्रो श्रीमती हुन् । उनले पहिलो श्रीमतीसँगको सम्बन्ध कानुनी रूपमै अलग भएको भनिए पनि हालसम्म दुवै श्रीमतीसँगै रहेको खुलेको रास्वपाकै केही नेताहरुको दाबी छ ।
रास्वपाले यस्ता विवादित व्यक्तिलाई छनौट गर्दा उपनिर्वाचनका लागि उमेद्वारा हुन निवेदन दिएका सुलभ खरेल, पार्थिवेन्द्र उपाध्याय, ज्ञानु पौडेल, जितबहादुर गुप्ता, कुसुम महर्जन, रचना क्षेत्री, पुनम कुमारी अग्रवाल र मधुप्रसाद अर्याललाई भने सभापति रवि लामिछानेले नै अहिले छुटेकालाई आगामी ८४ को चुनावमा समेट्ने वचन पनि दिएका छन् ।
सबै आकाँक्षीहरुले आइतबार नख्खु कारागारमा गएर पालैपालो लामिछानेलाई भेटेका थिए । उम्मेदवार हुन इच्छुकसँग रास्वपाले २५ हजार रुपैयाँ शुल्क पनि लिएको थियो । प्राइमरी इलेक्सनमा निर्वाचित भएर उम्मेदवार बनेका थापा रुपन्देहीकै सिद्धार्थनगर–९ स्थित अञ्चलपुरका हुन्। उनी वरिष्ठ न्युरोलोजिस्ट हुन्।
चिकित्सक र सामाजिक सेवामा उनले १७ वर्ष बिताएका छन् । थापा नेपाल स्ट्रोक एसोसिएसनका संस्थापक अध्यक्षसमेत हुन् । उनकै टिमको पहलमा राष्ट्रिय स्ट्रोक उपचार व्यवस्थापन प्रोटोकल समेत जारी गरेको थियो । उक्त प्रोटोकललाई स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले स्वीकृत गरेर कार्यान्वयनमा लगेको छ ।