जेनजीले अब के गर्नुपर्छ ?

२५ भदौ ८२, बिहीबार

२६ भदौ , काठमाण्डौ ।

Advertisement

नेपाली युवा देशका भविष्य हुन् । यिनै युवाले आफ्नो भविष्य बर्बाद हुने देखेपछि जेनजी क्रान्ति गरेका छन् । क्रान्ति हो, क्रान्तिपछि न संविधानले काम गर्छ, न विचार,न सिद्धान्त ? क्रान्तिपछि क्रान्तिको मुल एजेन्डा नै स्थापित हुने हो , न कि पूरानै आततायी सरकारको पदचाप ।

जेनजीहरुले सुरु गरेको यो प्रोटेस्ट मुख्य गरी भ्रष्टाचार विरोधी थियो, त्यहीँबाट यो विद्रोह सुरु भएको थियो। जेन–जीको आन्दोलनपछि मंगलबार दिउँसो अहंकारी सत्ताको पतन भइसकेको छ। यो विद्रोहबाट अकल्पनीय धनजनको क्षति भयो, यो दुखद् पक्ष हो ।

Advertisement

तर शायद संसारमै विरलै हुने घटना नेपालका जेनजीहरुले गरेका छन् । यद्यपि यसको फल अझै हात परिसकेको छैनन् । यसैले अझै संयम धैर्य र चार्तुयता देखाउन जरुरी छ । पूरानो राज्य सत्तामा रजगज गरेकाहरु सल्बलाउन थालिसकेका छन् ।

सामूहिक राजीनामा दिएका भनिएकाहरु नै खबरदार संसद मास्न पाइदैन भनिरहेका छन् । यसको अर्थ अब फेरि यत्रो क्रान्तिपछि पनि त्यही संसदबाटै अन्तरिम सरकार र मन्त्रीमण्डल बनाउने हो त ? विल्कुल होइन, हुँदै होइन । राजनीतिक दलमा आवद्ध भएका नेता कार्यकर्ताहरु, अन्धभक्त, ठेकेदारहरुले फाइदा लिन सक्छन् ।

Advertisement

उनीहरुको सिण्डिकेट जरैबाट निमुर्ल पार्नुपर्नेछ । सबैभन्दा महत्वपूर्ण विषय अब पनि गलत मान्छेको हातमा देश पर्याे भने बर्बाद हुनेछ । यति छोटो अवधिमा सरकारलाई घुँडा टेकाउन सक्ने यो आन्दोलनले खुशी र विस्मय दुवै दिलायो। एउटा निरंकुशको हठको कारण त्यतिका कलिला युवाहरूले अनाहकमा ज्यान गुमाउनु पर्यो।

उनीहरू मर्न जरुरी नै थिएन, मार्न जरुरी नै थिएन। जसजसले गरे यो, जसले आदेश दियो, तिनीहरूलाई भविष्यमा बन्ने सरकारले र न्यायपालिकाले कठघरामा पक्का उभ्याउने छ। जे नहुनु पर्ने थियो, त्यही भइसक्यो । सरकारले घुँडा टेकिसकेपछि पनि जेजे आगजनीहरू भए र तोडफोड भए, त्यो पनि सिंहदरबार, अदालत, अख्तियार जस्ता जहाँ–जहाँ महत्वपूर्ण कागजातहरू छन्, भ्रष्टाचारका कागजातहरू छन्, त्यो ठाउँमा छानी–छानी आगो लगाइएको छ।

त्यो पनि हुँदै नहुने कुरा भयो। राष्ट्रको सम्पत्तिमा आगजनी र तोडफोड कुनै पनि दृष्टिबाट क्षम्य छैन। त्यसको पनि लेखाजोखा होला, हुनु पनि पर्छ । लुटपाट र आगजनी सभ्य समाजले कहिले पनि गर्न सक्दैन। अहिलेदेशमा सरकारविहीनताको अवस्था छ । सरकार फेल भइसकेको, प्रहरी र प्रशासन फेल भइसकेको, कमाण्ड सेनाले हातमा लिएको अवस्था छ ।

शान्ति र सुव्यवस्था क्रमशः सेनाको कारणले फिर्ता आउँदैछ। देश सेनालाई सुरक्षित बनाइरहेको छ र जेनजीको आन्दोलनलाई पनि सेनाले नै सफल बनाउने छ । अहिले पूरानो राज्यसत्ताबाट कहाँनेरबाट अहिलेको यो क्रान्तिपछिको उपलब्धिलाई सफल हुन्बाट रोक्न सकिन्छ भनेर तानाबाना बुन्न थालिसकेको अवस्था छ ।

हो यहीनेर सबैभन्दा बढी चनाखो हुनु पर्नेछ । बजारमा भारतले आफ्नो सीमावर्ती क्षेत्रहरूमा रक्षा गर्ने भन्दै सुरक्षा फौज तैनाथ गरेको , पहिला नै यो आन्दोलनको डिजाइन गरिएको, विदेशीले खेलेको, आर्थिक सहयोग गरेको लगायतका खबरहरु छ्यापछ्याप्ती छन् ।

यदि कुनै पनि कारणले नेपाली सेनाले अहिले पनि कतिपय स्थानमा जारी हुलदङ्गा र तोडफोड नियन्त्रण गर्नसकेन र प्रहरी र प्रशासन सरकार जस्तै नेपाली सेना पनि विफल भयो भने त्यही बहानामा विदेशी सेना र शान्ति बहालीको निहुँमा अरु देशका सेनाहरू नेपाल घुस्ने सम्भावना पनि उत्तिकै छ।

यसलाई नकार्न सकिँदैन। धेरै देशमा यो भएको पनि छ। त्यसैले सबै देशभक्त नेपालीहरूले नेपाली सेनालाई यो बेलामा साथ दिनु पर्छ। एउटै मात्रै आशाको केन्द्र भनेको अहिलेको अवस्थामा नेपाली सेना हो। उसलाई विफल बनाउनु हुँदैन। सबै ठाउँमा सेना र सुरक्षा बल पुग्न सक्दैन।

ती ठाउँहरूमा स्थानीय टोल सुरक्षा समितिहरू आफैँले बनाएर भए पनि यो तरल अवस्थामा ती ठाउँहरूको सुरक्षा, जनधनको सुरक्षा आफैँले गर्नुपर्ने बेला हो यो । विश्वमै शान्तिस्थापर्नाथ अब्बल नेपाली सेनाले सुरक्षाको जिम्मा लिएपछि यो अस्तव्यस्तता धेरै दिन टिक्ने वाला छैन।

क्रमशः बिस्तारै ठाउँमा आउँछ। भगेका भगाइएका कैदीबन्दीहरु पक्राउ परिरहेका छन् । लुटपाट मच्चिएका र लुटिएका सामानहरू स्थानीय मानिसहरूका पहलमा घरघरमा गएर त्यसरी चोरिएका सामानहरू फिर्ता गर्दै गरेका समाचारहरू पनि आएका छन् । तर यो तरल अवस्थामा सबैले आफ्नै–आफ्नै रोटी सेक्ने गरेका विचारहरू बाहिर ल्याइरहेका छन् ।

ठ्याक्कै त्यसैगरी जीनजीहरू पनि अभिभावको राजनीति आस्थाका आधारमा केही विभाजित अभिब्यक्तिहरु दिइरहेका छन् । कसैले यो पक्षको त कसैले त्यो पक्षको कुरा राखेको, अनि सबैजना एकमत हुन नसकेको देखिन्छ। सामूहिक नेतृत्व रहेको क्रान्तिहरुमा यो स्वभाविक हो ।

अहिले जेनजीका प्रतिनिधिहरुलाई जोजो छन्, उनीहरूलाई नै ’ए यो त फलानो पार्टीको फलानो मान्छेको छोरा रहेछ’, ’त्यो फलानो पार्टीको मान्छेको छोरी रहेछ’, ’यसको समर्थक रहेछ’, ’उसको झोले रहेछ’ भनेर आपसमा फुटाउने र दोष लगाउने काम सुरु भइसकेको छ।

अर्थात् धमिलो पानीमा माछा मार्ने काम सुरु भइसकेको छ। हो यही नेर जेनजीहरुले परिपक्कता देखाउनु पर्नेछ । उमेर र अनुभवले राजनीतिक रुपमा पर्ने असर बारे आंकलन गर्न नसकेपनि क्रान्तिवीर बनिसकेका जेनजीहरु अन्य सबै पक्षमा बयस्क बनिसकेका छन् । यसैले यो बेलामा, सबभन्दा ठूलो कुरा संयम र होश नगुमाउनुहोला।

सबैको कुरा सुन्नुहोला तर अन्तिममा देशको हित केले हुन्छ, त्यसमा डिसिजन गर्नुहोला। एकमत हुनुहोला, देश बचाउनुहोला। अब देश बचाउने जिम्मा तपाईंहरूको हातमा छ। युवाकै भविष्यका लागि भ्रष्ट राज्य संस्थालाई घुँडाटेकाएर क्रान्तिको पहिलो अध्यायमा जित हासिल गरेका जेनजीहरुले अब यसलाई संस्थागत गर्न ढिला नगर्नुहोला, अबको पहिलो प्राथमिकता देश, देश बाँचेमात्रै हामी बच्छौं अनि नेपाल बच्छ।

भविष्यका कर्णधार युवाको विचार र युवाकै सक्षमताले देशको भविष्य निर्धारण गर्छ । तर नेपालमा भने युवा पुराना नेतृत्वबाट प्रयोग मात्रै हुँदै आए । युवा हस्तक्षेपकारी बन्न सकेनन् । पटक पटकको आन्दोलनले देशमा व्यवस्थापकीय परिवर्तन भयो । तर नेता र नेतृत्व उही र उनीहरु नै दोहोरिए ।

पुराना नेताहरुको बुद्धि र विवेकले मुलुक बनेन । बरु नेताहरुमै भ्रष्ट मनशाय मौलायो । त्यसैले नेपाल नै भ्रष्टाचार, बेथिति र विकृतिको दलदलमा फस्यो । तर पनि जनताले देश बन्ला कि ? भनेर नेताहरुकै मुख ताके । तर अहँ ! देश बनेन् । यसैले नै जेनजीहरु क्रान्तिवीर बने, अब उनीहरुलाई अल्मलिने छुट पक्कै छैन् । जय देश, जय जेनजी

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top