२५ असोज , काठमाडौ ।
आइसिसी पुरुष टी–२० विश्वकप एसिया र इस्ट एसिया प्यासिफिक छनोटको सुपर–६ मा पुग्ने सबै टोलीको टुंगो लागेको छ । शुक्रबार राति घरेलु टोली ओमानले पपुवा न्युगिनीलाई ५२ रनले पराजित गरेसँगै सुपर–६ को समिकरण पनि पूरा भएको छ ।
सुपर सिक्समा समूह–१ बाट युएई र कतार, समूह–२ बाट नेपाल र जापान तथा समूह–३ बाट ओमान र सामोआ सुपर–६ मा पुगेका हुन् । अब सुपर–६ मा आफ्नो समूहबाट आएका बाहेकका चार टोलीसँग प्रतिस्पर्धा गर्नु पर्नेछ ।
आफ्नो समूहबाट आएको टोलीसँगको नतिजा पनि सुपर–६ मा गणना हुनेछ । जसमा युएई, नेपाल र ओमानले सुपर–६ मा २–२ अंक जोडिसकेका छन् । अब नेपालले सुपर–६ मा आइतबार युएईसँग पहिलो खेल खेल्नेछ ।
दोस्रो खेलमा नेपालले कतारसँग सोमबार खेल्दा तेस्रो खेलमा बुधबार घरेलु टोली ओमानसँग प्रतिस्पर्धा गर्नेछ । अन्तिम खेलमा नेपालले सामोआसँग शुक्रबार प्रतिस्पर्धा गर्नेछ ।
सुपर–६ का शीर्ष तीन टोलीले आगामी वर्षको फेब्रुअरी–मार्च भारत र श्रीलंकामा हुने आइसिसी टी–२० विश्वकप २०२६ मा मा स्थान पक्का गर्नेछन् । शीर्ष तीन टोलीमा परेमा नेपाली टोली लगातार दोस्रो पटक र समग्रमा तेस्रो पटक आइसिसी टी–२० कपमा छनोट हुनेछ ।
हिजो भएको समूह ‘बी’ को अन्तिम खेलमा नेपालले जापानलाई ५ विकेटले हराएको थियो । नेपाल र जापानले आफ्नो पहिलो खेलमा कुवेतलाई हराउँदै यसअघि नै सुपर सिक्समा पुगिसकेका थिए ।
कुवेत भने समूह चरणबाटै बाहिरिइसकेको छ । यसैबीच नेपाल क्रिकेट संघ (क्यान)ले नेपाल महिला राष्ट्रिय क्रिकेट टिमका लागि मुख्य प्रशिक्षक नियुक्त गर्न दरखास्त आह्वान गरेको छ ।
संघका अनुसार मुख्य प्रशिक्षकले नेपाल महिला क्रिकेट टिमको दीर्घकालीन विकास, अन्तर्राष्ट्रियस्तरमा स्थायी प्रदर्शन र खेलाडीहरूको क्षमतामा सुधार ल्याउने उद्देश्यले व्यवस्थित र प्रगतिशील प्रशिक्षण कार्यक्रम सञ्चालन गर्ने जिम्मेवारी लिनेछन् ।
मुख्य प्रशिक्षकको कार्यस्थल काठमाडौं हुनेछ, तर आवश्यकताअनुसार देशभित्र र विदेशमा टिमसँगै भ्रमण गर्नुपर्नेछ । यसैबीच कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय क्रिकेट मैदानमा फ्लडलाइट जडानको कामले तीव्रता पाएको छ ।
नेपाल प्रिमियर लिगको दोस्रो संस्करणका लागि मैदान तयार पार्ने लक्ष्यसहित निर्माण कार्य धमाधम भइरहेको छ । हालसम्म दुईवटा फ्लडलाइट पोल जडान भइसकेका छन् भने बाँकी पोलहरूको जडान कार्य जारी रहेको आयोजना प्रमुखले बताएका छन् ।
आयोजनाको लक्ष्य तिहारअघि सम्पूर्ण काम सम्पन्न गरेर मैदानलाई एनपीएलका लागि तयार पार्नु रहेको छ ।