टि ट्वान्टी ग्लोबल छनोट नेपालमा, पहिलो भेट थाइल्याण्डसँग

७ पुस ८२, मंगलबार

८ पुष , काठमाण्डौ ।

नेपालले थाइल्याण्डसँग खेल्दै स्वदेशमै आयोजना हुने आइसिसी महिला टि ट्वान्टी विश्वकप ग्लोबल छनोटको यात्रा सुरु गर्ने भएको छ‌ । नेपाल क्रिकेट संघ (क्यान) ले यसै महिनाको अन्तिममा सुरु छनोटको समूह विभाजन र खेल तालिका सार्वजनिक गरेको छ ।

जसअनुसार नेपाल, थाइल्याण्ड रहेको समूह ‘बी’ मा जिम्बावे, नेदरल्यान्ड्स र स्कटल्यान्ड छन् । समूह ‘ए’ मा बंगलादेश, आयरल्यान्ड, नामिबिया, पपुवा न्युगिनी र अमेरिका छन् । १० राष्ट्रको सहभागितामा नेपालमा जनवरी १४ देखि फेब्रुअरी १ सम्म छनोट सन्चालन हुनेछ ।

Advertisement

प्रतियोगिताका खेल कीर्तिपुरस्थित टियु अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला र मूलपानीको माथिल्लो र तल्लो मैदानमा हुनेछन् । दुवै समूहका शीर्ष ३ टोली सुपर सिक्समा पुग्नेछन् । नेपालले पुस ३० गते आयरल्यान्डसँग तल्लो मूलपानी र माघ २ गते अमेरिकासँग कीर्तिपुरमा अभ्यास खेल खेल्नेछ ।

त्यसपछि ग्लोबल छनोटमा नेपालले माघ ४ गते थाइल्यान्ड, माघ ८ गते नेदरल्यान्ड्स, माघ १० गते जिम्बावे तथा समूह चरणको अन्तिम खेल माघ १२ गते स्कटल्यान्डसँग खेल्नेछ । नेपालले महिला टि ट्वान्टी विश्वकप छनोट पहिलो पटक आयोजना गर्न लागेको हो ।

Advertisement

क्यानले छनोटका लागि दोस्रो चरणका लागि २० सदस्यीय खेलाडी छनोट गरिसकेको छ । छनोटका शीर्ष ४ टोलीले अर्को वर्ष आइसिसी महिला टि ट्वान्टी विश्वकप खेल्नेछन् ।

यसैबीच नवनियुक्त मुख्य प्रशिक्षक हर्षल पाठकले नेपाली राष्ट्रिय महिला क्रिकेट टिम आइसीसी महिला टी–२० विश्वकपमा छनोट हुने सम्भावना रहेको बताएका छन् । क्यानले मंगलबार आयोजना गरेको अन्तरक्रिया कार्यक्रममा उनले उक्त कुरा बताएका हुन् ।

‘टोलीमा राम्रो गर्न सक्ने क्षमता छ। विश्वकपमा छनोट हुने सम्भावना राम्रो देखेको छु,’ उनले भने । ‘यहाँको क्रिकेट वातावरण पनि राम्रो छ, मैले विपक्षीको रूपमा पनि हेरेको छु, टोलीमा राम्रो गर्न सक्ने क्षमता पनि छ ।  विश्वकपमा छनोट हुने सम्भावना राम्रो नै देखेको छु’, उनले भने, ‘हामी कस्तो योजना बनाउँछौं त्यसलाई कार्यान्वयन पनि गर्न सक्यौं भने अवश्य राम्रो हुनेछ ।’

पाठकले नेपालको कन्डिशन राम्रो क्रिकेट खेल्नेका लागि उत्कृष्ट रहेको समेत बताए । ‘यहाँको कन्डिशन राम्रो प्रदर्शन गर्न सक्नेका लागि उत्कृष्ट लागेको छ, खेलका क्रममा जसले फाइदा उठाउन सक्छ उसैले जित निकाल्ने छ’, उनले भने ।

पाठक हालका लागि दुई वर्षको सम्झौतामा रहेको जनरल म्यानेजर विनोद दासले जानकारी दिए । नेपाल क्रिकेट संघ क्यानले आसन्न आईसीसी महिला टी–२० विश्वकप ग्लोबल छनोटलाई लक्षित गरेर पहिलोपटक विदेशी मुख्य प्रशिक्षक नियुक्त गरेको थियो ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top