अब भावी प्रधानमन्त्री रवि कि बालेन ?

२ माघ ८२, शुक्रबार

२ माघ , काठमाण्डौ।

२०४७ सालमा अन्तरिम संविधान बनेपछि २०४८ वैशाख २९ गते प्रतिनिधिसभाको निर्वाचन तय भयो । सो निर्वाचनमा तत्कालीन प्रधानमन्त्री तथा नेपाली काँग्रेसका कार्यवाहक सभापति कृष्णप्रसाद भट्टराई काठमाडौँ निर्वाचन क्षेत्र नं. १ बाट उम्मेदवार बने ।

यही क्षेत्रबाट नेकपा (एमाले) का महासचिव मदन भण्डारी पनि उम्मेदवार थिए । भण्डारी काठमाडौँ क्षेत्र नं. ५ बाट समेत उम्मेदवार थिए । निर्वाचनअघि एमालेले काँग्रेससँग एउटा प्रस्ताव राखेको थियो । काँग्रेसका कार्यवाहक सभापति कृष्णप्रसाद भट्टराई र एमालेका अध्यक्ष मनमोहन अधिकारीलाई जिताउन दुवै दलले एक–अर्कालाई सहयोग गर्नुपर्ने एमालेको प्रस्ताव थियो ।

Advertisement

त्यसअनुसार काँग्रेसले मनमोहनको निर्वाचन क्षेत्र सुनसरी–१ बाट उम्मेदवारी फिर्ता लिने र एमालेले काठमाडौँ–१ बाट उम्मेदवारी फिर्ता लिने प्रस्ताव काँग्रेस महामन्त्री गिरिजाप्रसाद कोइरालासमक्ष पुगेको थियो । तर, गिरिजाप्रसादले उक्त प्रस्ताव बेवास्ता गरे ।

एमालेले यही प्रस्ताव स्वयम् कृष्णप्रसाद भट्टराईसँग पनि राखेको थियो । भट्टराई यसमा सकारात्मक देखिएका थिए । तर, गिरिजाप्रसादले पार्टीबिच सहकार्य गर्ने बाटो रोकिदिए । त्यति बेला गिरिजाप्रसाद आफैँ मोरङ–१ र सुनसरी–३ बाट उम्मेदवार थिए ।

Advertisement

काँग्रेसभित्रबाट आत्माराम शर्मालगायत नेताहरूले भट्टराईलाई पर्सा–१ बाट उम्मेदवार बन्न सुझाव दिएका थिए । तर, भट्टराई आफू काठमाडौँबाटै चुनाव जित्नेमा विश्वस्त थिए । अन्ततः मत परिणाम सार्वजनिक हुँदा भट्टराई ७५१ मतले पराजित भए ।

मदन भण्डारीले २७ हजार ३७२ मत प्राप्त गर्दा भट्टराईले २६ हजार ६२१ मत पाए । भट्टराई पराजित भएपछि गिरिजाप्रसाद कोइराला प्रधानमन्त्री बने । सत्ता हात परेपछि उनले पार्टीभित्र आफ्नो वर्चस्व बलियो बनाउँदै लगे ।

काँग्रेस कार्यकर्ताहरू नै भट्टराईलाई हराउन गिरिजाप्रसाद र भारत सक्रिय भएको आरोप लगाउने गरेका थिए । यता मदन भण्डारीले जितेका दुई निर्वाचन क्षेत्रमध्ये काठमाडौँ–१ छाडे । तर, २०५० जेठ ३ गते उनको रहस्यमय दुर्घटनामा निधन भयो ।

त्यसपछि २०५० मङ्सिर ३ गते काठमाडौँ–१ मा उपनिर्वाचन भयो । उक्त उपनिर्वाचनमा कृष्णप्रसाद भट्टराई पुनः उम्मेदवार बने । भट्टराईले उम्मेदवारी घोषणा गर्दा गिरिजाप्रसाद मौन बसे । काँग्रेस नेतृ नोना कोइराला र शैलजा आचार्यले भने उनको उम्मेदवारीको विरोध गरे ।

यसले भट्टराईको उम्मेदवारी पार्टीभित्रै विवादमा प¥यो । एमालेले मदन भण्डारीकी पत्नी विद्या भण्डारीलाई उम्मेदवार बनायो । सुरुमा भट्टराईको उम्मेदवारीमा खुला विरोध नगरेका गिरिजाप्रसादले पछि सार्वजनिक रूपमै आलोचना गर्न थाले ।

यसपछि गिरिजाप्रसाद र कृष्णप्रसादबिच एउटा सम्झौता भयो— भट्टराई निर्वाचन जिते पनि प्रधानमन्त्रीको दाबी नगर्ने । यो सहमतिपछि मात्र गिरिजाप्रसादले औपचारिक रूपमा भट्टराईको समर्थन गर्न थाले ।

तर, पार्टीभित्रको लामो विवादका कारण भट्टराई पहिले नै कमजोर भइसकेका थिए । अर्कोतर्फ, मदन भण्डारीको निधनपछि विद्याप्रति जनसहानुभूति पनि बलियो थियो ।
निर्वाचन हुन १२ दिन बाँकी रहँदा गिरिजाप्रसादले आफ्ना प्रेस सल्लाहकार जयप्रकाश आनन्दमार्फत वक्तव्य जारी गर्दै भट्टराईको विरोध गरे ।

उनले ‘कृष्णप्रसाद आफ्नो चाहनाले नभई अरूको दबाबमा उम्मेदवार बनेका हुन्’ भन्दै दरबारतिर सङ्केत गरेका थिए । साथै, गणेशमान सिंहले सरकारविरुद्ध उठाएका भ्रष्टाचारका विषयलाई समेत जोडेर भट्टराईमाथि विभिन्न आरोप लगाए ।

सोही क्षेत्रमा रहेका गिरिजाप्रसादका भतिजा ज्योति कोइराला, अम्बिका बस्नेत, उमेश गिरीलगायत नेताहरू खुलेआम भट्टराईविरुद्ध लागे । गिरिजाप्रसाद निकटका खुमबहादुर खड्का, वीरेन्द्र दाहाल, विजयकुमार गच्छदार, महेश आचार्य र सुशील कोइरालासमेत भट्टराईलाई हराउने अभियानमा सक्रिय देखिए ।

यसरी २०४८ को आम निर्वाचनदेखि २०५० को उपनिर्वाचनसम्म आइपुग्दा कृष्णप्रसाद भट्टराई काँग्रेसभित्रकै शक्ति सङ्घर्ष र आन्तरिक विरोधका कारण लगातार कमजोर बन्दै गए, जसले नेपाली काँग्रेसको आन्तरिक राजनीतिमा गहिरो दरार देखाएको थियो।

नेपाली राजनीतिको यो एउटा दृष्टान्त हो । आज छोटो समयमा नेपाली राजनीतिमा लोकप्रियता कमाएका दुई पात्रहरू रवि लामिछाने र बालेन साह बिच हिजो कृष्णप्रसाद भट्टराई र गिरिजा प्रसाद कोइरालाकै जस्तो अवस्था त आउँदैन भन्ने आशङ्का उब्जन थालेको छ ।

टेलिभिजनको पर्दाबाट उदाएका रवि लामिछाने निकै महत्त्वाकाङ्क्षी व्यक्ति हुन भन्ने कुरा उनले मारेका फड्कोलाई हे¥यो भने पुष्टि हुन्छ । पहिला कमाउनका लागि अमेरिका, अनि त्यहीको नागरिक, त्यसपछि नेपाल फर्काइ, अनि टेलिभिजनकर्मी देखि छोटो समयमा नै टेलिभिजनको मालिकदेखि राजनीतिमा प्रवेश, निर्वाचनमा दुई पटक जित सँगै यो देशको दुई पटक उपप्रधान तथा गृहमन्त्री समेत बनिसकेका छन् ।

छोटो अवधिमा उनले मारेका फड्काहरूले उनको राजनीतिक महत्त्वाकाङ्क्षा निकै माथि देखिन्छ । सहकारी ठगी प्रकरणको आरोप लागेर थुनामा पुगेका रविले पार्टीको कार्यवाहक उपसभापतिलाई दिए तर सम्पूर्ण अधिकार आफैमा राखेर कागारागारबाटै पार्टी चलाए ।

जब उनी धरौटी बुझाएर निस्के त्यसपछि उनले जेनजी विद्रोहका प्रमुख पात्रहरूलाई समाएर जेनजी विद्रोहको पर्दा पछि रहेका काठमाण्डौंका मेयर बेलन शाह सम्म पुगे। त्यही जेनजी अगुवाहरूको त्यान्द्रोलाई समाएर रवि बालेनलाई रास्वपामा ल्याउन सफल भए ।

जति बेला रवि बालेनलाई भावी प्रधानमन्त्रीका रूपमा घोषणा गर्दै रास्वपामा भित्र्याउँदै थिए त्यति बेला रवि कानुनी रूपमा यो देशको प्रधानमन्त्री बन्न नपाउने अवस्थामा थिए । तर अब बुधबारबाट अवस्था फेरिने देखिएको छ।

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति लामिछाने चितवन बाहेकका जिल्ला अदालतमा दायर गरिएको सङ्गठित अपराध र कास्की जिल्ला अदालतमा दायर पूरक मुद्दामा थपिएको सम्पत्ति शुद्धीकरणको अभियोग सम्बन्धित सरकारी वकिल कार्यालयले संशोधन गर्ने बाटो खुलाइ दिएको छ ।

रविले राजनीतिक प्रतिशोध साँधेर तत्कालीन सरकारी वकिल कार्यालयबाट पूरक मुद्दाको माध्यमबाट सङ्गठित अपराध र सम्पत्ति शुद्धीकरणको मुद्दा लगाइएको दाबीसहित फिर्ता लिन निवेदन दिएका थिए ।

महान्यायाधिवक्ता सविता भण्डारीले मुलुकी अपराध संहिता २०७४ को दफा ३६ बमोजिम सम्बन्धित जिल्ला सरकारी वकिल कार्यालयलाई मुद्दा संशोधन गर्ने आधारसहित आदेश दिएकी छन् ।

महान्यायाधिवक्ता कार्यालयले गरेका यी सबै प्रक्रिया लामिछानेलाई निर्वाचन जितेपछि सांसद पदमा बहाल रहन होस या प्रधानमन्त्री वा मन्त्री बन्ने बाटो खोल्नका लागि गरिएका प्रयास हुन ।

यद्यपि महान्याधिवक्ताको कार्यालयले अनुमति दिएपनि रविविरुद्ध ५ अदालतमा विचाराधीन संगठित अपराध र सम्पत्ति शुद्धीकरणको मुद्दा फिर्ताका लागि सुनुवाइ हुनेछ। जसमा बादी प्रतिवादी र सरकारी वकिलबीचको बहसपछि मात्रै मुद्दा फिर्ता हुने नहुने भन्ने फैसला सम्बन्धित जिल्ला अदालतले गर्नेछ ।

अदालतले रविका पक्षमा आदेश दिए उनको सांसदहुँदै मन्त्री र प्रधानमन्त्रीसम्म बन्ने बाटो कानुनी रुपमा नै खुल्ने कानुन व्यवसायीहरु बताउँछन् । यसरी रविको प्रधानमन्त्री बन्ने बाटो खुल्यो भो हिजो बालेनलाई भावी प्रधानमन्त्री घोषणा गर्दाको समय जस्तो अवस्थामा रवि रहने छैनन् ।

त्यसैले अब प्रश्न यहाँ उठ्छ यदि रविले नै प्रधानमन्त्री बन्न पाउने भए भने बालेन साहलाई कतै रास्वपाले नै झापाबाट हराउने त हैन ? हिजो काठमाण्डौंबाट आफ्नै पार्टीका नेता गिरिजा प्रसाद कोइरालाले कृष्णप्रसाद भट्टराईलाई हराएको जस्तो ? यो प्रश्नको उत्तर पक्कै पनि सहज छैन ।

बालेन साहका लागि काठमाण्डौंका कुनै पनि क्षेत्र जित्नका लागि जति सहज छन् , झापा ५ त्यति सहज नहुन् सक्छ । हिजो कृष्णप्रसाद भट्टराईलाई बारा जान गरिएको आग्रह नमानी काठमाण्डौंमा नै जित्छु भन्ने आत्मा विश्वासले जसरी धोका खाए बालेनले पनि नखालन भन्न सकिदैन् ।

बालेनका लागि अहिले सुरक्षित क्षेत्र नै रोजिनु पर्ने हो । यदि उनी काठमाण्डौंबाट नउठ्ने भएका भए २०७९ सालको निर्वाचनमा रास्वपाले जितेका क्षेत्रमा उठाउन सकिन्थ्यो । काठमाण्डौंको जस्तो क्रेज बालेनको देशै भर नहुन पनि सक्छ ।

अनि अहिले पनि बालेन भन्दा रविकै जनतामा क्रेज बढी छ । त्यसैले त बालेन रास्वपा आएका हुन रास्वपा बालेनसँग मिसिन गएको हैन । अर्को तर्फ रास्वपाले बालेनलाई आफ्नो गृह जिल्लाबाट चुनाव प्रचारप्रसारमा निकाल्दै बालेन तराई मूलका भएकाले त्यसको फाइदा लिने प्रयास गरिरहेको छ ।

झापा ५ मा यो मुद्दा बालेनका लागि सोचे जस्तो फाइदा कर हुदैन् । त्यसैले कतै रास्वपाले बालेनलाई झापामा ल्याएर च्याप्टर कोल्ज गर्ने र बजारमा एउटा मात्र सिंह रवि राख्ने रणनीति त बनाएको छैन भन्ने आशङ्का उब्जन थालेको छ ।

यद्यपि चुनौतीको सामना गर्ने हिम्मत सहित काठमाण्डौंको खाल्डोलाई छोडेर पूर्व लाग्ने योजना बुनेका बालेनले झापाको निर्वाचन क्षेत्रमा पार्टी कार्यालय स्थापना गर्ने काम समेत भएको छ ।

लामो समय सम्म त्यही क्षेत्रबाट जनताको विश्वास जितेर पटक पटक यो देशको प्रधानमन्त्री मात्र हैन तेस्रो पटक नेकपा एमालेको अध्यक्ष समेत बनेका केपी शर्मा ओलीको गृह जिल्ला पनि झापा नै हो ।

राजनीतिमा आफूलाई जिउँदो बाघ सिद्ध गर्दै आएका ओली सँगको प्रतिस्पर्धा बालेनका लागि चुनौती पूर्ण नै छ । तर जनता जागेका बेला फागुन २१ गते के परिणाम आउँछ त्यसका लागि भने केही दिन मात्रै पर्खनु पर्नेछ ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top