विराटनगर, असोज २३
देशको बिकासको निम्ति असल सार्वजनिक नीति किन महत्वपूर्ण छ भन्ने विषयमा विभिन्न शहरका युवाहरुलाई विराटनगरमा प्रशिक्षण गराइएको छ ।
तीन दिनसम्म चलेको आइ पोलिसी प्रशिक्षणमा बिराटनगर, इटहरी, धरान, लेटांग, काठमाडौँ, सुर्खेत लगायतका शहरका २४ जना युवायुवतीको सहभागिता रहेको थियो ।
विकल्प एन अल्टरनेटिभ, सेन्टर फर सिविल सोसाईटी र ल्याङ्गवेज फर लिबर्टीको संयुक्त आयोजनामा आयोजित सो कार्यक्रममा समृद्धि फाउन्डेसन, नेटवर्क फर फ्री सोसाइटी र स्टुडेन्ट फर लिबर्टीले सहयोगीको भूमिका निर्वाह गरेका थिए ।
नेपाली युवाहरुलाई सेन्टर फर सिभिल सोसाइटी भारतबाट आएका प्रसान्त नारंग, बरुण मित्र र अभिनव सिंहले सहजीकरण गरेका थिए ।
प्रशिक्षणका क्रममा सामाजिक परिवर्तन र सार्वजनिक नीति, बिधिको शासन, सम्पत्तिको अधिकार , स्वतन्त्र बजारका सिद्दान्तहरु, स्वतन्त्रता र यसको प्रभाव,सार्वजनिक नीतिको ढाँचा, आर्थिक स्वतन्त्रता र उदारवाद लगायत बिषयमा युवाहरुलाई जानकारी गराइएको कार्यक्रम संयोजक मदन कृष्ण प्रधानले जानकारी दिए ।
विकल्प एन अल्टरनेटिभ लगायतका संस्थाहरुले युवामुखी विभिन्न कार्यक्रमहरु गर्दे आएका छन ।