२९ जेठ , काठमाण्डौ।
फिफा विश्वकपको २३ औं संस्करण भव्य रुपमा सुरु भएको छ । आयोजक अमेरिका क्यानडा र मेक्सिको मध्ये सहआयोजक मेक्सिकोमा भएको उद्घाटन खेलमा मेक्सिको तथा दक्षिण कोरियाले विजयी सुरुवात गरेका छन् । पहिलो खेलमा दक्षिण अफ्रिका र चेक रिपब्लिक पराजित भएका छन् । विश्व फुटबलको सबभन्दा ठूलो प्रतियोगितामा यसअघि २२ संस्करण सम्पन्न भइसकेका छन् ।
र, यसबीचमा ८० वटा फरक देशले विश्वकपको मञ्चमा आफ्ना चुनौती प्रस्तुत गरेका छन् । विश्वकप इतिहासमा ५ पटक उपाधि जितेको दक्षिण अमेरिकी देश ब्राजिल सबभन्दा सफल टिम हो । उपाधि जित्ने मामिलामा मात्र नभई ब्राजिल सहभागिता, खेल संख्या, जित संख्या, गोल गर्ने र अंक हासिल गर्नेमा पनि सबभन्दा माथि छ ।
ब्राजिल सन् १९३० देखि २०२२ सम्म सम्पन्न सबै २२ विश्वकपमा सहभागिता जनाउने एकमात्र टिम हो । यसक्रममा ब्राजिलले सर्वाधिक ११४ खेल खेलेको छ भने त्यसमध्ये ७६ खेलमा टोलीले जित हासिल गरेको छ । विश्वकपको लामो यात्रामा ब्राजिलले १९ खेलमा बराबरी नतिजा निकालेको इतिहास छ भने १९ नै खेलमा टोलीले पराजय भोगेको छ ।
ब्राजिलले ११४ खेलमा गरि कुल २३७ गोल गर्दा जम्मा १०८ गोल खाएको छ । त्यसअनुसार सर्वकालिन तथ्यांकमा ब्राजिलको गोलअन्तर प्लस १२९ छ भने टोलीले अहिलेसम्मका नतिजाका आधारमा विश्वकपमा हासिल गरेको अंक २४७ हो। ब्राजिलपछि जर्मनी र इटाली उपाधि जित्ने मामिलामा सबभन्दा सफल टिम हुन् ।
दुवैले समान ४ पटक उपाधि जितेका छन् । तर समग्रतामा भने दोस्रो नम्बरमा जर्मनी विश्वकपको सफल टिम हो । २० पटक विश्वकपमा सहभागी भएको जर्मनीले ११२ खेल खेल्दा ६८ खेल जितेको इतिहास छ । २१ खेलमा बराबरी, २३ मा हार, गरेको गोल २३२, खाएको गोल १३०, गोलअन्तर १०२ र हासिल गरेको अंक २४७ विश्वकपमा जर्मनीका अन्य तथ्यांक हुन् ।
उपाधि जितेको हिसावमा इटाली माथि भए पनि समग्र इतिहासमा अर्जेन्टिनाको सफलता तेस्रो तथा इटालीको चौथो नम्बरमा देखिन्छ । ३ पटक उपाधि जितेको साविक विजेता अर्जेन्टिना र इटालीले समान १८ पटक विश्वकपमा सहभागिता जनाएका छन् । तर अर्जेन्टिनाले ८८ खेल खेल्दा इटालीले ८३ खेल मात्र खेलेको छ ।
अर्जेन्टिनाले ४७ खेल जित्दा इटाली ४५ खेलमा विजयी भएको थियो । बराबरी नतिजा अर्जेन्टिनाको नाममा १७ तथा इटालीको नाममा २१ हुँदा अर्जेन्टिना २४ खेलमा पराजित हुँदा इटालीले १७ खेलको नतिजा विपक्षीलाई सुम्पिएको इतिहास छ । विश्वकपका प्रतिस्पर्धामा अर्जेन्टिनाले विपक्षी पोष्टमा १५२ गोल गर्दा इटालीले १२८ मात्र गोल गरेको छ भने अर्जेन्टिनाले १०१ गोल खाँदा इटालीको पोष्टमा ७७ गोलमात्र सम्भव भएका थिए ।
गोलअन्तरमा दुवै टोलीको तथ्यांक समान प्लस ५१ छ भने हासिल गरेको अंक अर्जेन्टिनाको १५८ र इटालीको १५६ छ । ४ पटकको च्याम्पियन इटाली आसन्न विश्वकपमा देखिने छैन । युरोपेली छनोट प्रतियोगितामा असफल भएको इटाली विश्वकपमा अनुपस्थित हुन लागेको यो लगातार तेस्रो पटक हो ।
विश्वकपको पाँचौं सफल टिम २ पटकको च्याम्पियन फ्रान्स हो । सन् १९९८ र २०१८ को च्याम्पियन फ्रान्सले कुल १६ संस्करणमा सहभागिता जनाउँदा ७३ खेलका लागि मैदान उत्रिएको इतिहास छ । विश्वकपमा कुल ३९ खेल जितेको टोलीले १४ खेलमा बराबरी तथा २० हारको नतिजा निकालेको छ ।
विपक्षीको पोष्टमा कुल १३६ गोल गरेको टोलीले ८५ गोल खाँदा गोलअन्तर प्लस ५१ छ । त्यसक्रममा टोलीले समूह चरणमा खेल जित्दा हासिल गरेको कुल अंक १३१ हुन्छ ।शीर्ष ५ मा परेका टिमले २२ मध्ये १८ उपाधि एकआपसमा बाढिसकेका छन् । बाँकी ४ उपाधि तीन टिमले बाँढेका छन् । उरुग्वे २ पटकको पूर्व च्याम्पियन हो भने इङ्ल्यान्ड र स्पेन समान १ पटकका च्याम्पियन हुन् ।
सन् १९६६ मा १ पटकमात्र उपाधि जितेको इङ्ल्यान्ड समग्रतामा विश्वकपको छैटौं सफल टिम हो । १६ पटक विश्वकपमा सहभागिता जनाउँदा ७४ खेल खेलेको इङ्ल्यान्डले ३२ खेलमा जित हासिल गरेको इतिहास छ भने २२ मा बराबरी तथा २० मा हारको नतिजा निकालेको थियो ।
इङ्ल्यान्डले विश्वकपका ७४ खेलमा कुल १०४ गोल गर्दा ६८ गोल खाएको थियो । जसअनुसार टोलीको गोलअन्तर प्लस ३६ तथा हासिल गरेको अंक ११८ छ । सातौं स्थानमा १ पटकको अर्को च्याम्पियन स्पेन छ । समान १६ संस्करणमा सहभागिता जनाएको स्पेनले ६७ खेल खेल्दै ३१ खेलमा जित, १७ मा बराबरी तथा १९ मा हारको नतिजा निकाल्दा १०८ गोल गरेर ७५ गोल खाएको तथ्यांक छ ।
समग्र गोलमन्तर प्लस ३३ रहेको स्पेनले विश्वकपका समूह चरणका खेलबाट ११० अंक हासिल गरेको थियो । आठौं स्थानमा २ पटकको पूर्व च्याम्पियन उरुग्वेलाई उछिन्दै ३ पटकको उपविजेता नेदरल्यान्ड्स छ । ११ पटक विश्वकप खेलेको डच टोलीले कुल ५५ खेलमा ३० जित, १४ बराबरी र ११ हारको नतिजा निकालेको छ ।
विपक्षी पोष्टमा ९६ गोल गर्दा ५२ गोल खाएको टोलीको गोलअन्तर प्लस ४४ तथा हासिल गरेको अंक १०४ छ । २ पटकको पूर्व विजेता उरुग्वेले विश्वकपका १४ संस्करणमा सहभागिता जनाए पनि हासिल गरेको जितका आधारमा टोली नवौं स्थानमा छ । विश्वकप इतिहासमा सफल टोलीको सूचिको शीर्ष १० मा पर्न सफल अर्को टोली हो, बेल्जियम ।
बेल्जियमको विश्वकपमा सबभन्दा सफल नतिजा सन् २०१८ मा तेस्रो स्थान हासिल गर्नु हो । विश्वकपमा सहभागी ८० टिममध्ये ११ टोलीले कुनै पनि अंक जोड्न सकेका छैनन् । अंक जोड्न नसक्ने टिममा २ पटक सहभागी भएका क्यानाडा र एल साल्भाडोरसँगै १ पटकमात्र सहभागिता जनाएका इराक, टोगो, कतार, इन्डोनेसिया, पानामा, युएई, चीन, हाइटी र कंगो हुन् ।
यसैगरी विश्वकप इतिहासमा अहिलेसम्म २० टोलीले एउटै जित हासिल गर्न सकेका छैनन् । जित्न नसक्ने त्यस्ता थप टोलीमा ३ पटक सहभागिता जनाएका बोलिभिया, इजिप्ट र हन्डुरस तथा २ पटक खेलेको न्युजिल्यान्ड र १ पटक सहभागिता जनाएका अंगोला, इजरायल, आइसल्यान्ड, कुवेत र ट्रिनिडाड एण्ड टोबागो हुन् ।
जारी विश्व फुटबलमा ३२ बाट बढाएर ४८ पुर्याइँदा यसपाली ४ नयाँ टिमले पहिलो पटक सहभागिता जनाउदै छन् । अमेरिका, मेक्सिको र क्यानाडाले संयुक्त रुपमा आयोजना गर्न लागेको विश्वकपमार्फत प्रतियोगितामा ‘डेब्यु’ जनाउने तयारीमा रहेका टिम हुन्, केप भेर्डे, उज्वेकिस्तान, कुराकाओ र जोर्डन ।
विश्वकपको ९६ वर्ष र २२ संस्करणको इतिहासमा अहिलेसम्म ८० देशले यो प्रतियोगिता खेलिसकेका थिए । यसपालीबाट यी ४ टिम थपिएसँगै त्यो संख्या ८४ पुग्ने भएको छ । सहारा मरुभुमिभन्दा दक्षिणी भागमा लगभग साढे दुई लाख जनसंख्या र ४ हजार बर्गकिलोमिटर क्षेत्रफल रहेका ससाना टापुहरुको एउटा सानो देश केप भेर्डे इतिहासकै सबभन्दा ठूलो फिफा विश्वकपलाई छानिनु आफैमा उनीहरुका लागि एउटा ठूलो उपलब्धि हो ।
सन् १९७५ मा स्वतन्त्र राष्ट्रको हैसियत पाएको टोलीले तीन वर्षपछि अन्तर्राष्ट्रिय फुटबलको यात्रा सुरु गरेको थियो । छनोट चरणमा एकरुपको प्रदर्शन र हार नखाने खालको मानसिकता प्रस्तुत गरेर यो सानो अफ्रिकी देशले उत्तर अमेरिकाको टिकट काट्न सफल भएको थियो ।
४६ वर्षदेखि निरन्तर अन्तर्राष्ट्रिय फुटबलको मञ्चमा आफूलाई प्रस्तुत गर्दै आएको केप भेर्डेले यसअघि पनि फिफा विश्वकपमा छनोटको प्रयास गरेको थियो । तर सफल भएको भने यसपाली पहिलो पटक हो । चार वर्षअघि कतार विश्वकपका लागि पनि केप भेर्डेले अन्तिम समयसम्म छनोट प्रतियोगितामा प्रयास गरेको थियो ।
तर अफ्रिकी फुटबलको महारथी नाइजेरिरयासँग समूह चरणको अन्तिम खेलमा १–१ को बराबरीमा सीमित भएपछि टोलीको पहिलो विश्वकप खेल्ने लक्ष्य कम्तिमा चार वर्षका लागि पछि धकेलिएको थियो । जुन १५ मा स्पेनसँग खेल्दै विश्वकपमा पहिलो पाइला राख्ने केप भेर्डेले समूह ‘एच’ को दोस्रो खेल उरुग्वेसँग जुन २२ मा तथा अन्तिम खेल जुन २७ मा साउदी अरेबियासँग खेल्नेछ ।
पूर्व सोभियत संघबाट स्वतन्त्र भएको ३६ वर्षमा ७ पटकको प्रयासपछि उज्वेकिस्तानले फिफा विश्वकप खेल्ने गन्तव्य अन्तत हासिल गरेको छ । पछिल्ला संस्करणहरुमा राम्रो प्रदर्शनका बावजुद भाग्यबाट ठगिँदै आएको उज्वेकिस्तानलाई विश्वकप खेल्ने सपना पूरा गर्न यसपाली प्रतियोगिताको आकार ४८ पुर्याउने फिफाको निर्णयले पनि फाइदा पुग्यो ।
दोस्रो चरणमा इरान, तुर्कमेनिस्तान र हङकङ रहेको समूहमा ६ खेलमा ४ जित हासिल गर्दै गोलअन्तरमा मात्र इरानभन्दा पछाडि रहेर उपविजेताका रुपमा उज्वेकिस्तान तेस्रो चरणका लागि छानिएको थियो । तेस्रो चरणमा पनि मध्य एसियाली टोलीको लय कायम रहयो ।
जहाँ समूह ‘ए’ बाट १० खेलमा ६ जित, ३ बराबरी र १ हारको नतिजा निकाल्दै उपविजेता भएर टोली सोझै विश्वकपलाई छानियो । टोलीले भोगेको एकमात्र हार कतारविरुद्ध थियो । युएईसँग अबुधाबीमा खेलेको बराबरीले टोलीको उत्तर अमेरिकाको टिकट पक्का भएको थियो ।
तेस्रो चरणमा पनि उज्वेकिस्तान उपविजेता हुँदा समूहबाट इरान विजेता बनेको थियो । फिफा विश्व वरियताको ५० औं स्थानमा रहेको उज्वेकिस्तानका मुख्य प्रशिक्षक सन् २००६ मा इटालीलाई विश्वकप जिताउने कप्तान फाबियो कानाभारो हुन् । उज्वेकिस्तानको पहिलो विश्वकप यात्रा समूह ‘के’ मा जुन १८ मा कोलम्बियाविरुद्धको खेलसँग सुरु हुनेछ ।
टोलीले समूहको दोस्रो खेलमा जुन २३ मा क्रिस्टियानो रोनाल्डोको पोर्चुगल तथा अन्तिम खेलमा जुन २८ मा कंगोसँग प्रतिस्पर्धा गर्नेछ । विश्वकप २०२६ मा सहभागिता जनाउने तयारीमा रहेका ४८ देशमध्ये कुराकाओ जनसंख्या र क्षेत्रफल दुवै हिसावले सबभन्दा सानो राष्ट्र हो ।
मात्र १ लाख ५० हजार जनसंख्या तथा २७६ बर्गकिलोमिटर क्षेत्रफल भएको देश विश्व फुटबलको सबभन्दा ठूलो प्रतियोगितालाई छानिनु आफैमा ठूलो उपलब्धिमुलक सफलता हो । कन्काकाफ छनोट प्रतियोगिताअन्तर्गत आफ्नो अन्तिम खेलमा किङस्टनमा जमैकासँग गोलरहित बराबरी नतिजा निकालेपछि कुराकाओले समूह ‘बी’ को शीर्ष स्थानमा रहँदै फिफा विश्वकपको टिकट पक्का गरेको थियो ।
नेदरल्यान्ड्सको पूर्व उपनिवेश भएको नाताले कुराकाओको टोलीमा धेरैजसो डच मुलका खेलाडीको बाहुल्य छ । फिफा विश्व वरियताको ८२ औं स्थानमा रहेको कुराकाओका प्रशिक्षक पनि नेदरल्यान्ड्सकै डिक एड्भोकेट हुन् । कन्काकाफ छनोटको तेस्रो चरणमा जमैका, ट्रिनिडाड एन्ड टोबागो र बर्मुडा रहेको समूहका ६ मध्ये ३ खेलमा जित र ३ बराबरी नतिजा निकाल्दै कुराकाओ शीर्ष स्थानमा रहेर विश्वकपलाई छानिएको थियो ।
समूह ‘इ’ मा परेको कुराकाओले विश्वकपको पहिलो खेल जर्मनीसँग जुन १४ मा खेल्नेछ । टोलीको दोस्रो खेल इक्वेडरविरुद्ध जुन २१ तथा तेस्रो खेल आइभोरी कोष्टसँग जुन २६ मा रहेका छन् । सन् १९८६ को विश्वकपदेखि नियमित रुपमा छनोट प्रतियोगितामा सहभागिता जनाउँदै आए पनि मध्यपूर्वको देश जोर्डनले विश्व फुटबलको सबभन्दा ठूलो प्रतियोगिता खेल्ने सौभाग्य यसअघि कहिल्यै पाउन सकेको थिएन ।
तर गतवर्ष जुन ५ मा ओमानमाथि ३–० को जित हासिल गरेपछि भने टोलीले पहिलो पटक विश्वकप खेल्ने पक्का गर्यो ।विश्वकपको एसियाली छनोटअन्तर्गत दोस्रो चरणमा समूह ‘जी’ मा साउदी अरेबिया, ताजिकिस्तान रा पाकिस्तानलाई पछि पार्दै विजेताका रुपमा अगाडि बढेको टोलीले तेस्रो चरणमा पनि त्यही लय कायम राख्न सफल भएको थियो ।
फिफा विश्व वरियताको ६३औं स्थानमा रहेको जोर्डनले समूह ‘जे’ मा जुन १ मा अस्ट्रियासँग खेल्दै विश्वकपको यात्रा थाल्नेछ । समूहको दोस्रो खेलमा टोलीले जुन २२ मा ६ अल्जेरिया तथा अन्तिम खेलमा जुन २७ मा साविक विजेता अर्जेन्टिनासँग प्रतिस्पर्धा गर्नेछ ।