२ असार , काठमाण्डौ ।
चीनको चारदिने औपचारिक भ्रमणमा रहेका परराष्ट्रमन्त्री शिशिर खनाल र चिनियाँ विदेशमन्त्री वाङ यीबीच भेटवार्ता भएको छ । यो भेटवार्तालाई चिनियाँ सरकारी सञ्चारमाध्यमले पनि उच्च महत्त्व दिएका छन् । चिनियाँ सरकारी मुखपत्र ‘चाइना डेली’ ले दुई नेताबीच बेइजिङमा भएको वार्तालाई प्रमुखताका साथ प्रकाशन गर्दै नेपाल–चीन सम्बन्धका विविध आयामबारे विस्तृत विवरण सार्वजनिक गरेको छ ।
वार्ताका क्रममा चिनियाँ विदेशमन्त्री वाङले नेपालसँग उच्च गुणस्तरको बेल्ट एन्ड रोड इनिसिएटिभ (बीआरआई) सहकार्यलाई अगाडि बढाउन चीन तयार रहेको स्पष्ट पारेका छन् । नेपाललाई भूपरिवेष्ठित देशबाट भू–जडित देशमा रूपान्तरण गर्न बेइजिङले हरसम्भव सहयोग गर्ने प्रतिबद्धता उनले दोहो¥याए ।

चीनले छिमेकी कूटनीतिमा काठमाडौँसँगको सम्बन्धलाई सधैँ प्राथमिकतामा राखेको उल्लेख गर्दै वाङले नेपालको नयाँ सरकारले सुशासन कायम गर्नेमा विश्वास व्यक्त गरे । ‘चाइना डेली’ का अनुसार वार्तामा तिब्बत र ताइवानको मुद्दाले पनि प्रवेश पाएको छ । चिनियाँ पक्षले यी विषयलाई आफ्नो ‘मूल चासो’ का रूपमा राख्दै नेपालले देखाउँदै आएको दृढ प्रतिबद्धताको प्रशंसा गरेको छ ।
विदेशमन्त्री वाङले द्विपक्षीय सहयोग संयन्त्रको प्रभावकारी उपयोग गर्दै चिनियाँ कम्पनीहरूलाई नेपालमा लगानी र व्यापार विस्तारका लागि प्रोत्साहन गरिने बताएका छन् । साथै, नेपालले लगानीकर्ताका लागि निष्पक्ष र पारदर्शी व्यापारिक वातावरण सुनिश्चित गर्ने अपेक्षा चिनियाँ पक्षको छ ।

जवाफमा परराष्ट्रमन्त्री खनालले नेपाल एक चीन नीतिप्रति पूर्ण दृढ रहेको र ताइवान तथा तिब्बतसम्बन्धी मुद्दा चीनको आन्तरिक मामिला भएको स्पष्ट पारे । उनले चीनको पूर्ण पुनर्एकीकरणलाई नेपालको समर्थन रहने उल्लेख गर्दै नेपाली भूमि चीनको हितविपरीत प्रयोग हुन नदिने प्रतिबद्धता व्यक्त गरे ।
नेपालको नयाँ सरकार जनताकेन्द्रित विकास र असंलग्न परराष्ट्र नीतिमा प्रतिबद्ध रहेको जानकारी दिँदै खनालले चिनियाँ विकासलाई नेपालले अवसरका रूपमा लिएको बताए । उनले बीआरआई सहकार्यमा सक्रिय रूपमा सहभागी हुन, कनेक्टिभिटी विस्तार गर्न र चिनियाँ उद्यमका लागि कानुनमा आधारित मैत्रीपूर्ण वातावरण निर्माण गर्न नेपाल तयार रहेको उल्लेख गरे ।
मन्त्री खनालले मानव जातिको साझा भविष्यको समुदाय निर्माणसम्बन्धी चीनको अवधारणा र विश्वव्यापी पहलहरूलाई नेपालको सक्रिय सहयोग रहने प्रतिवद्धतासमेत जनाएका छन् । चिनियाँ कम्युनिस्ट पार्टीको केन्द्रीय समितिको राजनीतिक ब्युरो सदस्यसमेत रहेका वाङले सम्पूर्ण नेपाली जनताप्रति चीनले मैत्रीपूर्ण नीति अख्तियार गरेको प्रस्ट पारे ।
उनले नेपालको राष्ट्रिय सार्वभौमसत्ता, स्वतन्त्रता र क्षेत्रीय अखण्डताको रक्षा गर्न तथा नेपालको आफ्नै राष्ट्रिय परिस्थितिअनुरूपको विकासको बाटो तय गर्न चीनले सधैँ सहयोग गर्ने बताए । वाङले नेपालसँग मिलेर बीआरआई सहकार्यलाई अगाडि बढाउन चीन इच्छुक रहेको बताउँदै विशेषगरी विद्युत् प्रसारण लाइन, राजमार्ग, सीमा नाका र उड्डयन क्षेत्रको सहकार्यमा ध्यान केन्द्रित गर्दै नेपाललाई भूपरिवेष्टित देशबाट भूजडित देशमा रूपान्तरण गर्न सहयोग गर्ने उनले प्रतिबद्धता जनाए ।
यसका लागि दुवै पक्षले विभिन्न सहयोग संयन्त्रको पूर्ण उपयोग गर्नुपर्ने, व्यावहारिक सहकार्यलाई गहिरो बनाउनुपर्ने र सांस्कृतिक आदानप्रदानलाई प्रवद्र्धन गर्नुपर्नेमा उनले जोड दिए । भेटवार्तापछि सामाजिक सञ्जाल एक्समा लेख्दै मन्त्री खनालले चिनियाँ विदेशमन्त्रीसँगको भेट फलदायी भएको बताएका छन्।
उनले कनेक्टिभिटी, सीमा व्यवस्थापन, व्यापार, प्रविधि हस्तान्तरण र बहुपक्षीय सहयोगलगायत द्विपक्षीय सम्बन्धका सम्पूर्ण आयाममा विस्तृत छलफल भएको जानकारी दिएका छन्। जनस्तरको सम्बन्ध विस्तार गर्ने विषयमा पनि विचार आदानप्रदान भएको र दुई देशको पारस्परिक हितका लागि नेपाल–चीन सम्बन्धलाई थप सुदृढ गर्ने साझा प्रतिबद्धता व्यक्त गरिएको उनले उल्लेख गरेका छन् ।
यसअघि आइतबार साँझ नेपाली दूतावासले आयोजना गरेको रात्रिभोजमा मन्त्री खनालले नेपालीहरूसँग कुराकानी गरेका थिए । त्यसक्रममा मन्त्री खनालले चीनमा रहेका नेपालीलाई नेपालमा लगानी गर्न आग्रह गरेका थिए । यस्तै बेइजिङस्थित नेपाली दूतावासले विज्ञप्ति जारी गर्दै भेटमा नेपाली पक्षले एक चीन सिद्धान्तप्रति नेपाल सरकारको दृढ प्रतिबद्धता र नेपाली भूभागलाई चीन विरोधी कुनै पनि गतिविधिका लागि प्रयोग गर्न नदिने प्रतिबद्धता पुनः दोहो¥याएको जनाएको छ ।
“चिनियाँ पक्षले सुशासन र आर्थिक विकासका क्षेत्रमा नेपाल सरकारको प्राथमिकतालाई पूर्ण समर्थन गर्ने आश्वासन दिँदै नेपालको सार्वभौमसत्ता, क्षेत्रीय अखण्डता र स्वतन्त्रताप्रति आफ्नो दृढ प्रतिबद्धता दोहो¥यायो,“ दूतावासले भनेको छ । पूर्वाधार, कनेक्टिभिटी, सीमा व्यवस्थापन, ऊर्जा, व्यापार, लगानी, कृषि, प्रविधि हस्तान्तरण, सूचना प्रविधि र डिजिटलाइजेसन, पर्यटन, रासायनिक मल, पेट्रोलियम र प्राकृतिक ग्यास अन्वेषण, र जनता–जनता सम्बन्धमा वार्ता भएको दूतावासले जनाएको छ ।
“दुवै पक्षले विगतमा सहमति भएका कार्यक्रम र परियोजनाहरूको द्रूत कार्यान्वयनको लागि दृढ प्रतिबद्धता व्यक्त गरे,“ दूतावासले भनेको छ, “यसका साथै, उनीहरूले बहुपक्षीय र क्षेत्रीय मञ्चहरूमा साझा हितका विषयमा सहयोगलाई थप अगाडि बढाउन जोड दिए ।“
बैठकपछि मन्त्री खनाल वाङ यीले आयोजना गरेको रात्रिभोजमा सहभागी भएका थिए । परराष्ट्रमन्त्रीका रूपमा खनालको यो पहिलो चीन भ्रमण हो । दक्षिणी छिमेकी भारतको भ्रमण सम्पन्न गरेको एक सातापछि उनी उत्तरी छिमेकी चीनको औपचारिक भ्रमणमा पुगेका हुन् ।
