नेपालको निर्यात सोयाबिन र अलैंचीले सुधार्याे

८ असार ८३, सोमबार
Share this
745shares

८ असार, काठमाण्डौ ।

Advertisement

नेपालको वैदेशिक व्यापारको आकार बढिरहेको छ। चालु आर्थिक वर्ष २०८२÷८३ को पहिलो ११ महिनामा कुल वैदेशिक व्यापार २१ खर्ब ७२ अर्ब रुपैयाँ नाघ्दै अघिल्लो वर्षको तुलनामा करिब १५ प्रतिशतले विस्तार भएको छ। भन्सार विभागले सार्वजनिक गरेको ताजा तथ्यांकअनुसार समीक्षा अवधिमा आयात र निर्यात दुवै बढेका छन्, निर्यातमा उत्साहजनक सुधार देखिएको छ, तर आयातको निर्भरता अझै पनि उच्च छ।

परिणामस्वरूप व्यापार घाटा १६ खर्ब रुपैयाँभन्दा माथि पुगेको छ। एकातिर नेपालबाट सोयाबिन तेल, अलैँची लगायतका वस्तुको निर्यात बढ्दै गएको छ भने अर्कोतिर डिजेल, सोयाबिन तेलको कच्चा पदार्थ र धानचामल जस्ता अत्यावश्यक वस्तुको आयातमा अर्बौं रुपैयाँ विदेशिएको छ।

Advertisement

चालु आर्थिक वर्ष २०८२÷८३ को पहिलो ११ महिनामा नेपालको कुल वैदेशिक व्यापारमा १४.७८ प्रतिशतको उत्साहजनक वृद्धि देखिएको छ। देशको कुल वैदेशिक व्यापार २१ खर्ब ७२ अर्ब ६ करोड रुपैयाँ पुगेको छ, जुन अघिल्लो आर्थिक वर्षको सोही अवधिको १८ खर्ब ९२ अर्ब ३६ करोड रुपैयाँको तुलनामा निकै बढी हो।

वैदेशिक व्यापारको आकार यसरी बढे पनि आयातको तुलनामा निर्यातको गति सुस्त हुँदा देशको अर्थतन्त्रमा व्यापार घाटाको चुनौती भने झन् थपिएको छ। तथ्यांकअनुसार समीक्षा अवधिमा नेपालले १८ खर्ब ९४ अर्ब ९ लाख रुपैयाँ बराबरको वस्तु आयात गरेको छ, जुन अघिल्लो वर्षको १६ खर्ब ४४ अर्ब ७९ करोड रुपैयाँको तुलनामा १५.१६ प्रतिशतले बढी हो।

Advertisement

अर्कोतर्फ, यस अवधिमा निर्याततर्फ पनि १२.२८ प्रतिशतको वृद्धि देखिएको छ । अघिल्लो वर्ष २ खर्ब ४७ अर्ब ५७ करोड रुपैयाँको वस्तु निर्यात भएकोमा यस वर्ष सोही अवधिमा २ खर्ब ७७ अर्ब ९६ करोड रुपैयाँको निर्यात भएको देखिन्छ।

यसरी आयात र निर्यात दुवै बढे पनि आयातको हिस्सा अत्यधिक रहँदा व्यापार घाटा १५.६७ प्रतिशतले बढेर १६ खर्ब १६ अर्ब १३ करोड रुपैयाँ पुगेको छ, जबकि गत वर्ष यो घाटा १३ खर्ब ९७ अर्ब २२ करोड रुपैयाँमा सीमित थियो। यो तथ्यांकले नेपाली अर्थतन्त्र अझै पनि गम्भीर रूपमा आयातमुखी नै रहेको पुष्टि गर्दछ।

कुल वैदेशिक व्यापारमा आयातको हिस्सा ८७.२० प्रतिशत रहँदा निर्यातको हिस्सा केवल १२.८० प्रतिशत मात्रै खुम्चिएको छ । अघिल्लो वर्ष कुल व्यापारमा निर्यातको हिस्सा १३.०८ प्रतिशत रहेकोमा यस वर्ष त्यसमा थप ह्रास आएको हो। यसैगरी आयात–निर्यात अनुपात पनि ६.६४ बाट बढेर ६.८१ पुगेको छ, जसको सीधा अर्थ नेपालले हरेक एक रुपैयाँ बराबरको वस्तु निर्यात गर्दा ६ रुपैयाँ ८१ पैसा बराबरको वस्तु बाहिरबाट भित्र्याउनुपर्ने बाध्यात्मक अवस्था छ।

यो अवधिमा नेपालले करिब ३८ अर्ब रुपैयाँ बराबरको धानचामल आयात गरेको छ । चालु आव साउनदेखि जेठसम्म ३७ अर्ब ८३ करोड ९२ लाख रुपैयाँ बराबरको ७ लाख ११ हजार ५ सय २० टन धानचामल आयात भएको हो । गत आव २०८१÷८२ सोही अवधिको तुलनामा समग्र धानचामल आयात परिमाण र बाहिरिने रकम दुवैमा सामान्य गिरावट आएको देखिन्छ ।

गत आव ११ महिनामा ३८ अर्ब ९४ करोड २८ लाख बराबरको ७ लाख ५३ हजार ३ सय ५ टन धानचामल नेपाल भित्रिएको थियो । त्यस्तै सोही अवधिमा १९ अर्ब ९९ करोड ९ लाखभन्दा बढी मूल्यको ५ लाख २१ हजार २ सय ६९ टन कच्चा धान आयात भएको थियो । तर, चालु आव भने यो परिमाण घटेर ४ लाख ६१ हजार १ सय ८ टनमा सीमित भएको छ, जसका लागि १७ अर्ब २३ करोड ७२ लाख रुपैयाँ बाहिरिएको छ ।

कच्चा धान आयात घटे पनि धानको बिउ आयात भने केही बढेको छ । गत वर्ष १ अर्ब १६ करोड ६२ लाख बराबरको २ हजार ५ सय ७० टन बिउ आयात भएकोमा यस वर्ष १ अर्ब २९ करोड ९४ लाख बराबरको २ हजार ९ सय ९३ टन धानको बिउ आयात भएको छ । गत आव ११ महिनामा यी वस्तु आयातबाट सरकारले ३ अर्ब ५३ करोड ६१ लाख राजस्व संकलन गरेको थियो ।

तर, चालु आव सोही अवधिमा यस्तो राजस्व घटेर २ अर्ब ६१ करोड ६२ लाखमा सीमित भएको छ । अर्काेतर्फ तथ्याङमा नेपालबाट हुने निर्यातमा चालु आर्थिक वर्षमा निरन्तर सुधार भएको देखिएको छ । गत साउनदेखि जेठ महिनासम्म नेपालबाट दुई खर्ब ७७ अर्ब ९६ करोड ७२ लाख ६१ हजार रुपैयाँको वस्तु निर्यात भएको छ।

यो निर्यात गत आर्थिक वर्षको सोही अवधिको तुलनामा १२.२८ प्रतिशतले धेरै हो । गत आर्थिक वर्षमा ११ महिनामा दुई खर्ब ४७ अर्ब ५७ करोड २ लाख १३ हजार रुपैयाँ बराबरको वस्तु निर्यात भएको थियो। भन्सार विभागको तथ्यांकअनुसार समीक्षा अवधिमा नेपालमा सबैभन्दा धेरै डिजेल आयात भएको छ भने दोस्रो धेरै आयातमा सोयाबिन तेल रहेको छ।

यस्तै, यो ११ महिनामा एक खर्ब ५२ अर्ब ६७ करोड ९८ लाख ८५ हजार रुपैयाँ बराबरको डिजेल आयात भएको छ भने एक खर्ब १९ अर्ब ६३ करोड दुई लाख सात हजार रुपैयाँको सोयाबिन तेल र त्यसको कच्चा पदार्थ आयात भएको छ।

सोही अवधिमा नेपालबाट एक खर्ब १३ अर्ब रुपैयाँको सोयाबिन तेल र १२ अर्ब एक करोड १४ लाख ८६ हजार रुपैयाँको अलैँची निर्यात भएको विभागको तथ्यांक छ। गत साउनदेखि जेठसम्म नेपालले १६ खर्ब १६ अर्ब १३ करोड १६ लाख रुपैयाँ व्यापार घाटा बेहोरेको छ। यो कुल व्यापारको १५.६७ प्रतिशत हो।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Desktop Popup ImageMobile Popup Image×
Scroll to Top