८ असार, काठमाण्डौ ।
भरतपुरमा जारी रास्वपाको पहिलो राष्ट्रिय महाधिवेशन निर्धारित समयभन्दा एक दिन ढिलो गरी समापन हुने भएको छ । प्रतिनिधिको अपेक्षित सङ्ख्याभन्दा बढी सहभागिता र व्यवस्थापकीय चुनौतीका कारण महाधिवेशन भदौ १० गतेसम्म लम्बिने देखिएको हो ।
महाधिवेशनको पछिल्लो अवस्थाबारे जानकारी दिँदै रास्वपाका सांसद एवं नेता मनिष झाले सुरुमा ३ हजार प्रतिनिधिको आँकलन गरिए पनि हाल ४ हजार ३ सयभन्दा बढी प्रतिनिधि सहभागी भइसकेको र यो सङ्ख्या ४ हजार ५ सयसम्म पुग्न सक्ने बताए ।

उनका अनुसार प्रवासबाट समेत अपेक्षितभन्दा चार गुणा बढी प्रतिनिधिहरूको सहभागिता रहेको छ । पहिलो महाधिवेशन भएकाले केही व्यवस्थापकीय कमजोरी र कार्यविधिको अभाव रहेको स्वीकार गर्दै झाले यसलाई सिकाइको रूपमा लिएको उल्लेख गरे ।
पार्टी नेतृत्वका लागि सहमति जुटाउने प्रयास भइरहेको र सहमति नभए लोकतान्त्रिक प्रक्रियाअनुसार निर्वाचनमा जाने तयारी समेत गरिएको छ । हाल दर्ता प्रक्रिया जारी रहेको र छुटेका प्रतिनिधिहरूलाई समेट्न छुट्टै टोलीले काम गरिरहेको जानकारी दिइएको छ ।

यसैबिच नेता झाले पार्टीको महत्त्वपूर्ण पद महामन्त्रीमा आफ्नो उम्मेदवारी दिने स्पष्ट पारेका छन् । सुरुमा केही द्विविधामा रहे पनि आफू अब मानसिक रूपमा तयार भएको उनको भनाइ छ । आफ्नो उम्मेदवारीबारे उनले भने, राजनीतिमा लागेपछि थप चुनौती लिन तयार हुनुपर्छ । पार्टीको आगामी दुई निर्वाचनको तयारी र देशले राखेको अपेक्षालाई सम्बोधन गर्न महामन्त्रीको जिम्मेवारी महत्त्वपूर्ण छ । मैले आफ्नो क्षमता, पृष्ठभूमि र साथीहरूको सल्लाहका आधारमा यस पदका लागि आफूलाई योग्य पात्र ठानेको छु।’
उनले महामन्त्री पदलाई ठुलो जिम्मेवारी र जोखिमका रूपमा व्याख्या गर्दै आफूले पदसँग न्याय गर्न सक्ने आत्मविश्वासका साथ प्रतिस्पर्धामा उत्रने निर्णय गरेको बताए । महामन्त्रीमा मनीषसंगै विपिन आचार्यले पनि दाबी गरेका छन्। केन्द्रीय सदस्यमा उम्मेदवारी दिएका दुवै जनाले ‘महामन्त्री बन्ने’ भन्दै मत मागिरहेका छन् ।
रास्वपा पदाधिकारीका आकांक्षी नेताहरूले केन्द्रीय सदस्यमा उम्मेदवारी दिएर मत मागिरहेका छन् । रास्वपामा केन्द्रीय सदस्यबाटै पदाधिकारी चयन गर्ने व्यवस्था छ । पहिले केन्द्रीय सदस्यको निर्वाचन हुनेछ । केन्द्रीय सदस्यको उम्मेदवार बनेका झा र आचार्यले आफूलाई महामन्त्रीको उम्मेदवारका रुपमा उभ्याएका छन् ।
अहिले झा प्रवक्ता छन् भने आचार्य सहमहामन्त्री छन् । दुवै जना महामन्त्रीको बनाउनका लागि ‘केन्द्रीय सदस्य जिताइदिनुहोस्’ भनेर भोट मागिरहेका छन् । रास्वपा विधानअनुसार, पदाधिकारीको उम्मेदवार हुनका लागि पहिला केन्द्रीय सदस्य निर्वाचित हुनुपर्छ। रास्वपा प्रवक्ता झाले आफू महामन्त्रीको स्वभाविक दावेदार भएको बताए।
‘आम कार्यकर्ताले यसअघि मलाई मन्त्रीको रुपमा देख्न चाहनुभएको थियो। मन्त्री बन्नुभएन अब महामन्त्री बन्नुपर्छ भन्नुभएको छ,’ झाले भने, ‘म त्यसैको तयारीमा छु। मेरो महामन्त्रीको दाबी स्वाभाविक हो।’ त्यस्तै, आचार्यले पनि आफू स्वाभाविक रुपमा महामन्त्रीको दावेदार भएको बताए।
‘म महामन्त्रीको स्वाभाविक दावेदार हुँ। अहिले केन्द्रीय समितिमा मलाई जिताउनुहोस्,’ आचार्यले प्रतिनिधिसँग भनिरहेका छन्, ‘अब महामन्त्रीको रुपमा अघि बढ्छु। मलाई महामन्त्रीको रुपमा देख्ने कि कहाँ देख्ने तपाइँहरूको हातमा छ।’ रास्वपा महाधिवेशनको दोस्रो दिन सोमबार बिहान साढे ८ बजेदेखि बन्दसत्र सुरु हुने कार्यतालिका थियो ।
तर, दिउँसोसम्म सुरु भएको छैन । तथापि, रास्वाप नेताहरू महाधिवेशन प्रतिनिधिसँग मत मागिरहेका छन् । महाधिवेशन प्रतिनिधिको निक्र्योल गर्न हम्मेहम्मे भइरहेको छ । प्रतिनिधिको परिचयपत्र वितरण जारी रहेको छ । महाधिवेशनको दोस्रो दिन बन्दसत्रमा विभिन्न राजनीतिक, सांगठानिक र विधानसम्बन्धी प्रस्ताव पारित गरेर निर्वाचन प्रक्रिया सुरु गर्ने भनिए पनि बन्द सत्र सुरु हुन ढिलाइ हुँदा विभिन्न प्रतिवेदन र प्रस्तावहरू हलमा पेस हुन सकेका छैनन्।
महाधिवेशन प्रतिनिधि कार्डमा रहेको त्रुटि सच्याउन समय लागेका कारण तथा मधेस प्रदेशको प्रतिनिधि विवादका कारण निर्धारित समयमा बन्दसत्र सुरु हुन नसकेको नेताहरूले बताउने गरेका छन् । बन्दसत्र सुरु हुन ढिलाइ भएपछि महाधिवेशन स्थलमा केही प्रतिनिधि तथा नेताहरू अनौपचारिक ढंगले केन्द्रीय सदस्य तथा पदाधिकारीका लागि मत माग्न व्यस्त देखिएका छन् ।
१९ पदाधिकारीसहित १५१ सदस्यीय केन्द्रीय समिति चयनका लागि हुने निर्वाचनमा ९९ केन्द्रीय सदस्यका लागि निर्वाचन हुँदैछ । त्यसमध्ये सभापति र वरिष्ठ नेतामा क्रमशः रवि लामिछाने र बालेन्द्र (बालेन) शाह निर्विरोध हुने भए पनि अन्य पदहरुमा निर्वाचन हुने देखिएको छ । पदाधिकारी र केन्द्रीय सदस्यको सिमित पदमा आकांक्षी धेरै भएकाले कुन कुन पदमा निर्वाचन हुन्छ भन्ने अझै एकिन भएको छैन ।
यद्यपि शीर्ष नेताहरूले सहमतिमै केन्द्रीय समिति चयन गर्ने प्रयास गरिरहेको बताइएको छ । तर, उनीहरूको प्रयासबारे केही जानकारी दिएको छैन । रास्वपा नेतृत्वले पार्टी एकतालाई मध्यनजर गर्दै सहमतिबाट नेतृत्व चयन गर्ने विषयलाई प्राथमिकता दिएकाले सहमतिको प्रयास भइरहेको बताइएको छ ।
विवेकशील साझा, बालेन्द्र समूह, थारुवान÷थरुहट समूह, जेनजी समूह लगायत समूह मिसिएपछि विशाल पार्टी बनेको रास्वपाले एकता प्रक्रियामा जोडिएका समूहलाई व्यवस्थापन गर्नुपर्ने भएकाले सकभर सहमतिबाटै नेतृत्व छनोट गर्नुपर्नेमा सभापति लामिछाने र अर्का नेता शाह रहेका छन् ।
महाधिवेशन अघि बिहीबार बसेको सचिवालय बैठकमा पनि सभापति रवि लामिछानेले धेरै काम गर्न बाँकी नै रहेकाले सहमतिमै नेतृत्व छनोट गर्नुपर्नेमा जोड दिएका थिए । सबै पक्षलाई मिलाएर सकभर सहमतिमै नेतृत्व छनोट गर्ने जिम्मेवारी सभापति रवि लामिछाने र वरिष्ठ नेता तथा प्रधानमन्त्री बालेन्द्र (बालेन) शाहलाई दिइएको सचिवालय सदस्य गणेश पराजुलीले बैठकपछि बताएका थिए ।
सोही अनुसार महाधिवेशन उद्घाटन सत्रपछि आइतबार सभापति लामिछाने र प्रधानमन्त्री समेत रहेका वरिष्ठ नेता शाहबीच सहमतिका लागि छलफल भएको बुझिएको छ । रास्वपाले १९ सदस्यीय पदाधिकारीमा सभापति १, वरिष्ठ नेता १, उपसभापति ३, महामन्त्री २, सहमहामन्त्री ५, प्रवक्ता १, सहप्रवक्ता ३, कोषाध्यक्ष र सहकोषाध्यक्ष एक÷एक रहने व्यवस्था छ ।
सचिवालय ३३ सदस्यीय हुनेछ । सभापतिले ५१ जना मनोनीत गर्ने व्यवस्था विधानमा छ । केन्द्रीय समितिका लागि १०० जना निर्वाचनका माध्यमबाट आउने व्यवस्था छ । १०० जनामा ६४ जनाको निर्वाचन हुनेछ भने तीमध्ये ३५ जना प्रदेशबाट आउँछ्न् ।
सहमति नभए दुई महामन्त्रीका लागि झन्डै एक दर्जन नेताहरूले महामन्त्री पदमा आकाङ्क्षा राखेर निर्वाचनमा प्रतिस्पर्धा गर्ने तयारी गरेका छन् । त्यसमध्ये हाल महामन्त्री रहेका कवीन्द्र बुर्लाकोटी र भुपदेव शाहसहित मनिष झा, शिशिर खनाल, विपिन आचार्य, गणेश पराजुली, यज्ञमणि न्यौपाने र लिमा अधिकारी लगायतले महामन्त्रीमा आकाङ्क्षा देखाएका छन् ।
लिमा अधिकारी उपसभापति नभए महामन्त्री नछोड्ने मनस्थितिमा रहेको बताइएको छ । जसले गर्दा सहमतिबाटै अघि बढ्दा पनि नेताहरूको व्यवस्थापन गर्न रवि बालेनलाई सकस परेको बुझिएको छ ।
