१६ चैत , काठमाण्डौ।
बालेन सरकारले विगतमा कानुनी रुपमा प्रश्न उठेपनि त्यसको न्यायिक निरुपण नभएका ब्यक्तिहरुलाई धमाधम नियन्त्रणमा लिँदै कानुनी प्रक्रियामा लैजाने क्रमलाई निरन्तरता दिएको छ । पछिल्लो समय लुम्बिनी प्रदेशसभा सदस्य रेखा शर्मा पक्राउ परेकी छिन् । काठमाडौं उपत्यका अपराध अनुसन्धानको टोलीले उनलाई गएराति पक्राउ गरेको हो ।
प्रहरीले उनलाई काठमाडौंको धुम्बाराहीबाट पक्राउ गरिएको प्रहरीले बताएको छ। उनले एक बालिकालाई घरमा राखेर बालश्रम गराएको गतवर्ष नै आरोप लागेको थियो । २०८१ जेठ १४ गते बालुवाटारबाट काठमाडौं महानगरपालिकाले शर्माको घरबाट एक बालिकाको उद्धार गरेको थियो।
शर्माले दाङकी एक नाबालिकालाई घरेलु कामदार बनाएर हिंसा गरेको आरोप थियो। त्यतिबेला मेयर रहेका प्रधानमन्त्री बालेन शाहले सार्वजनिक रूपमा यस विषयमा प्रश्न गरेका थिए। सांसद शर्मामाथि उनले नाबालिकामाथि कुटपिट गरेको, बाहिर निस्किन नदिएको, बसोबासको राम्रो व्यवस्था नगरेको लगायतका आरोप लगाएका थिए।
जिल्ला प्रहरी परिसर काठमाडौंमा यो घटनाको २०८१ जाहेरी जेठ ३० गते दर्ता भएको थियो। शर्मालाई मुद्दा चलाउन नपर्ने राय सहित जिल्ला सरकारी वकिलको कार्यालय, काठमाडौंमा तयार भएको फाइल उच्च सरकारी वकिलको कार्यालय हुँदै महान्यायाधिवक्ताको कार्यालयमा पुगेको थियो ।
बालिकाको उद्दारका क्रममा महानगरपालिकाको नगरप्रहरी, वडाका प्रतिनिधि र प्रहरी समेत घटनास्थलमा पुगेर मुचुल्का गराएका थिए । काठमाडौं महानगरपालिकामा प्रशिक्षार्थी रहेका केही विद्यार्थीले काठमाडौंको सामुदायिक विद्यालयमा पढिरहेका तर बाबुआमा साथमा नभएका बालबालिका बारे सर्वेक्षण गरिरहेका थिए ।
त्यसक्रममा ती नाबालिका अध्ययनरत विद्यालयमा पुगेर सर्वेक्षण गर्दा उनलाई काममा लगाइएको र श्रमशोषण भएको खुलाएकी थिइन् । ६ वर्षदेखि सांसद शर्माको घरमा रहेर काम गरिरहेकी ती नाबालिकले आफूमाथि कुटपिट हुने गरेको बताएकी थिइन् । घरधनी (प्रदेश सांसद रेखा कुमारी शर्माको परिवार)ले हात र पाइपले पिट्ने गरेको भन्दै नाबालिकाले घरमा पोछा लगाउने, खाना बनाउने, बिरुवामा पानी हाल्ने लगायतका काम गर्नुपरेको खुलाएकी थिइन् ।
उनले ६ वर्षदेखि परिवार भेट्न नपाएको र दशैंमा समेत घर जान नदिएको गुनासो गरेकी थिइन् । सर्वेक्षणका कागजात परीक्षणका क्रममा इजलासले नाबालिकासँग गोप्य रुपमा समेत कुराकानी गरेको थियो । उनलाई यातना समेत दिएको भेटिएपछि काठमाडौं महानगरपालिकाले प्रदेश सांसद शर्मा विरुद्ध प्रहरीमा उजुरी दिएको थियो ।
नाबालिकाको अवस्था दयनीय भएको भेटिएपछि महानगरपालिकाको कार्यदलले तत्काल ती बालिकाको उद्धार गरी संरक्षण गृहमा राखेको थियो । बालिकाको उद्धारका क्रममा महानगरपालिकाको नगर प्रहरी, वडाका प्रतिनिधि र नेपाल प्रहरी समेत घटनास्थलमा पुगेर मुचुल्का गराएका थिए । छोरीको उद्धार गरेको भेटिएपछि ती नाबालिकाका बाबु काठमाडौंमा आएर सर्वोच्च अदालतमा बन्दी प्रत्यक्षीकरणको निवेदन दर्ता गरेका थिए ।
घरमा बालश्रमिक राखेकी लुम्बिनी प्रदेश सभाकी सांसद शर्मालाई सरकारी वकिलले मुद्दा नचलाउने तयारी चलिरहँदा काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले यसबारे सार्वजनिक टिप्पणी गरेका थिए । तत्कालीन मेयर शाहले लेखेका थिए, ‘सरी नानु, तिम्रा पिडककाविरूद्धमा मुद्दा नचल्ने बनाएछ सरकारले । नआत्तिनु । समय आउनेछ ।’ उनले अघि भनेका थिए्, ‘यस्तै विभेद, अपराध मास्न अनि ती कुकर्म गर्नेहरूलाई तहलगाउन तिमी र तिमी जस्तै धेरै नानीबाबुले पढ्न पर्छ । समाज बुझ्नपर्छ ।’
यही घटनालाई लिएर बालेनले तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीमाथि पनि सार्वजनिक रुपमा प्रश्न गरेका थिए । रेखा शर्माको तस्विरसहित बालेनले लेखेका थिए, वहाँ हुनुहुन्छ नेकपा एमालेकी प्रदेश सांसद रेखा शर्मा , वहाँ ले बिगत ८ वर्ष देखी बन्दी बनाएर , एक जना नबालिकालाई घरेलु कामदार को नाममा हिंसा गर्दै आउनु भएको छ, दैनिक रूप मा कुटपिट गर्दै आउनु भएको छ ।
काठमाडौं महानगर ले बिगत २ महिना देखी कारबाही अगाडी बढाउनु भन्दा पनि यो सरकार ले समाएको छैन । अदालतले पनि मुद्दा चलाउ भनेर भनी सकेको छ । सम्माननिय प्रधानमन्त्री खड्ग प्रसाद ओली ज्यु , सुशासन भनेको अदालतले नि समाउ भनेको तपाईंको सांसद रेखा शर्मा जसलाई बाल शोषण गरेको मुद्दा छ समाउन लाई भन्दछ ।
सायद तपाईंको लागि सुशासनको अर्थ सो बालिकाको मृत्यु पछि गोहिको आँसु चुहाएर फेसबुकमा समवेदना दिदै एक लाख घोषणा गर्नु नै होला । कहिले समाउने ?? कि नसमाउने ?? । तर ओली नेतृत्वको सरकारले शर्मालाई उन्मुक्ति दिएको थियो । महानगरले परिसरमा बालबालिका सम्बन्धी ऐनको २०७५ को दफा ६६ उपदफा (२) (ङ) अनुसारको कसुर भएको भन्दै जाहेरी दिएको थियो।
‘शारीरिक चोट पटक वा असर पु¥याउने, आतंकित पार्ने वा धम्क्याउने, तिरस्कार, उपेक्षा, भेदभाव, बहिष्कार वा घृणा गर्ने, एक्ल्याउने वा मानसिक पीडा दिने गरेमा बालबालिकाविरूद्ध हिंसा गरेको मानिने छ,’ उक्त दफामा भनिएको छ। उक्त दफा अनुसार कसुर पुष्टि भए ५० हजार रूपैयाँसम्म जरिवाना र एक वर्षसम्म कैद हुने व्यवस्था छ।
विगतकै घटनाबाट उन्मुक्ति पाएकी शर्मा पक्राउ गरेको अवस्थामा नेकपा एमालेका सचिव महेश बस्नेतले पनि आफूलाई पक्राउ गर्ने षड्यन्त्र भइरहेको बताएका छन्। उनले सामाजिक सञ्जालमा लेखेका छन्, ’मलाई गिरफ्तारी गरी हाम्रो अध्यक्ष केपी शर्मा ओली विरुद्ध भइरहेको प्रतिशोधात्मक गिरफ्तारीको विरोधमा उठेको आन्दोलनलाई कमजोर पार्ने षड्यन्त्र भइरहेको छ।’
उनले अगाडि लेखेका छन्, ’यो कार्य बालेन शाह नेतृत्वको निरंकुश र अधिनायकवादी शैलीको सरकार तथा गृहमन्त्री सुदन गुरुङद्वारा सञ्चालित कुकर्म हो। यस्ता कार्यहरूको प्रतिफल उनीहरूले अवश्य भोग्नुपर्नेछ।’ उनले सामाजिक संजालमा भनेका छन्, मलाई गिरफ्तारी गरी हाम्रो अध्यक्ष केपी शर्मा ओली विरुद्ध भइरहेको प्रतिशोधात्मक गिरफ्तारीको विरोधमा उठेको आन्दोलनलाई कमजोर पार्ने षड्यन्त्र भइरहेको छ।
तीन वर्षअघि नै एउटा फेक व्यक्तिलाई अगाडि सारेर मेरोविरुद्ध झुट्टा जाहेरी दर्ता गराइएको थियो। उक्त जाहेरी प्रहरी अनुसन्धानबाट नै फर्जी प्रमाणित भइसकेको छ र सोही विषयमा उच्च अदालत पाटन मा दायर गरिएको रिट समेत अदालतले खारेज गरिसकेको छ। सोही विषयमा पुनः पूरक जाहेरी दर्ता गरी मुद्दा अदालतमा विचाराधीन रहेको छ।
यस्तो अवस्थामा फेरि उही व्यक्तिलाई प्रयोग गरेर तेस्रोपटक नक्कली जाहेरी दिन लगाई मलाई पक्राउ गर्ने योजना बनाएर मिडिया ट्रायल गरिँदै छ। यो कार्य बालेन शाह नेतृत्वको निरंकुश र अधिनायकवादी शैलीको सरकार तथा गृहमन्त्री सुदन गुरुङ द्वारा सञ्चालित कुकर्म हो।
यस्ता कार्यहरूको प्रतिफल उनीहरूले अवश्य भोग्नुपर्नेछ। मेरो फोन अफ रहेको र म फरार भएको भन्ने प्रचार पूर्णतः भ्रामक र गलत हो। यस्ता हल्ला फैलाएर जनमत भ्रमित गर्ने प्रयास भइरहेको छ। यस्ता कुकर्महरूको परिणाम अन्ततः सम्बन्धित पक्षका लागि नै कठिन साबित हुनेछ।
हिजोमात्रै शोभा पाठकले बस्नेतविरुद्ध प्रहरी परिसर काठमाडौंमा पुरक जाहेरी दिएकी छिन् । उनले बस्नेत चाडै पक्राउ पर्ने बताएकी छिन । बस्नेतविरुद्ध पाठकले बलात्कार, भ्रुण हत्या, साइबर अपराध लगाएको आरोप लगाउदै आएकी छिन् ।

