रोनाल्डोको ऐतिहासिक घोषणा— “यो मेरो अन्तिम विश्वकप हो”

२१ असार ८३, सोमबार

२२ असार , काठमाण्डौ।

फुटबल इतिहासकै एउटा यस्तो रात, जहाँ इतिहास र भविष्य एकापसमा जुध्दै छन् । एकातिर छन्— ४१ वर्षको उमेरमा पनि मैदानमा तन्नेरी जोसका साथ दौडिरहेका, लगातार ६ वटा विश्वकप खेल्ने कीर्तिमान बनाएका फुटबलका लिभिङ लेजेन्ड क्रिस्टियानो रोनाल्डो र, अर्कोतिर छ— १८ वर्षका लामिन यमलले नेतृत्व गरेको स्पेनको यस्तो युवा आँधी, जसले यो विश्वकपमा विपक्षीहरूको सातो खाइरहेको छ ।

विश्वकप २०२६ को अन्तिम–१६ को यो महाभिडन्त केवल एउटा फुटबल खेल मात्र होइन । यो रोनाल्डोको करियरकै सबैभन्दा भावनात्मक रात हुन सक्छ । किनकि हिजो मात्रै टेक्ससको आर्लिङटनमा आयोजित पत्रकार सम्मेलनमा रोनाल्डोले एउटा यस्तो घोषणा गरे, जसले संसारभरका करोडौँ फुटबल समर्थकको आँखा रसायो ।

Advertisement

रोनाल्डोले भनेका छन्— ‘यो मेरो जीवनको अन्तिम विश्वकप हो । तर आशा गरौँ, भोलिको खेल नै मेरो अन्तिम खेल हुने छैन ।’ नेपाली समयअनुसार राति ठीक १२ बजेर ४५ मिनेट जाँदा जब स्पेन र पोर्चुगल मैदानमा उत्रिनेछन्, तब सिङ्गो ब्रह्माण्डको ध्यान एउटै कुरामा अडिनेछ— के यो रोनाल्डोको लास्ट डान्सको अन्त्य हुनेछ, या पोर्चुगलले स्पेनको युवा र सङ्गठित शक्तिलाई ढालेर इतिहास रच्नेछ ?

४१ वर्षीय क्रिस्टियानो रोनाल्डोले स्पष्ट शब्दमा पुष्टि गरिदिएका छन् कि यो उनको खेल जीवनको अन्तिम विश्वकप यात्रा हो । सन् २००६ मा जर्मनीको मैदानबाट सुरु भएको रोनाल्डोको विश्वकप यात्रा, २०१०, २०१४, २०१८, २०२२ हुँदै आज २०२६ सम्म आइपुगेको छ । लगातार ६ वटा विश्वकप खेल्नु आफैँमा एउटा यस्तो कीर्तिमान हो, जुन तोड्न दशकौँसम्म कसैले आँट गर्नेछैन ।

Advertisement

तर रोनाल्डो यत्तिमै रोकिएका छैनन् । यसै विश्वकपको समूह चरणमा उज्वेकिस्तानविरुद्ध गोल गर्दै उनी ६ वटा फरक विश्वकपमा गोल गर्ने विश्वकै पहिलो र एक मात्र खेलाडी बनेका छन् । तर के रोनाल्डोमाथि विश्वकप जित्नैपर्ने दबाब छ त? पत्रकारहरूले सोधेको यो प्रश्नमा रोनाल्डोले दिएको जवाफले उनको परिपक्वता र फुटबलप्रतिको निस्वार्थ प्रेम झल्काउँछ ।

उनले भने— “मैले विश्वकप जितेर क्रिस्टियानो बढी वा कम हुने होइन । हामीसँग उपाधि जित्ने क्षमता छ, तर प्रतियोगिता केवल एउटा देशले मात्र जित्छ ।” उनले अगाडि थपे, “त्यो दिन पनि आउनेछ जब म संन्यास लिनेछु । तर म इमानदार हुन चाहन्छु, भोलि जेसुकै नतिजा आए पनि क्रिस्टियानोले १०० प्रतिशत होइन, १००० प्रतिशत सफा मन लिएर मैदान छाड्नेछ । किनभने मैले फुटबलका लागि आफ्नो सबैथोक दिएको छु । मलाई अब कुनै कुराको लोभ छैन, यो त केवल खेलप्रतिको लगाव हो । म फुटबललाई माया गर्ने भएकाले खेल्छु ।”

एक यस्तो खेलाडी जसले फुटबल जगतका सबै क्लब ट्रफी, पाँच पटक ब्यालोन डी’ओर र आफ्नो देशलाई २०१६ मा युरोपेली च्याम्पियन बनाएका छन्, उनी आज पनि ४१ वर्षको उमेरमा राष्ट्रको शानका लागि मैदानमा पसिना बगाउँदै छन् । रोचक कुरा के छ भने, आगामी २०३० को विश्वकप रोनाल्डोकै देश पोर्चुगल, स्पेन र मोरक्कोले संयुक्त रूपमा आयोजना गर्दैछन् ।

तर रोनाल्डोलाई थाहा छ, उनको शरीरले २०३० सम्म साथ दिने छैन । त्यसैले उनी आजको खेलमा आफ्नो जीवनकै सबैभन्दा उत्कृष्ट प्रदर्शन दिन चाहन्छन् । अब कुरा गरौँ फिफा वरीयताको दोस्रो स्थानमा रहेको ‘ला रोजा’ अर्थात् स्पेनको । लुइस डिकोको प्रशिक्षणमा रहेको यो स्पेनिस टोली चालू विश्वकपमा सबैभन्दा सङ्गठित र डरलाग्दो देखिएको छ ।

स्पेनको सबैभन्दा ठुलो शक्ति भनेको यसको युवा र अनुभवी खेलाडीहरूको सन्तुलन हो । टोलीमा १८ वर्षका सनसनीपूर्ण युवा लामिन यमलदेखि लिएर डिफेन्स लाइनमा ३२ वर्षका अनुभवी ऐमेरिक लापोर्टेसम्म छन् । बार्सिलोनाका युवा स्ट्राइकर लामिन यमलले आफ्नो डेब्यु विश्वकपमै विश्वलाई स्तब्ध पारिरहेका छन् ।

र, उनलाई साथ दिन बार्सिलोनाकै उनका साथीहरू— ड्यानी ओल्मो, पेड्री र पाउल कुबार्सी मैदानमा खटिएका छन् । यो युवा समूहको तालमेल यति गज्जब छ कि उनीहरूले विपक्षीको डिफेन्सलाई क्षणभरमै छिन्नभिन्न पार्न सक्छन् । रियल सोसिडाडबाट खेल्ने मिकल ओयरजाबल स्पेनका मुख्य हतियार हुन्, जसले विपक्षीको पोस्टमा १७ पटक फ्रेममा प्रहार गरिसकेका छन् र ४ गोल गर्दै उच्च फर्ममा छन् ।

मिडफिल्डमा म्यानचेस्टर सिटीका रोड्री र बार्सिलोनाका पेड्रीले फाइनल थर्ड अर्थात् विपक्षीको बक्सको नजिक यति सटिक पास निकालिरहेका छन् कि पोर्चुगिज डिफेन्डरहरूलाई ती पास रोक्न हमम्मे पर्नेछ । रोड्री एक्लैले चार खेलमा ४३५ पास खेलेर खेललाई आफ्नो नियन्त्रणमा राख्ने काम गरेका छन् । त्यस्तै एलेक्स बाइनाले विंग्सबाट २३ पटक क्रस गरेर विपक्षीलाई लगातार दबाबमा राखेका छन् ।

यद्यपि, स्पेनको सुरुवात सोचेजस्तो भएको थिएन । समूह चरणको पहिलो खेलमै डेब्यु टोली केप भर्डेले स्पेनलाई गोलरहित बराबरीमा रोकेर संसारलाई आश्चर्यमा पारेको थियो । तर त्यसपछि स्पेनले पछाडि फर्केर हेरेको छैन । साउदी अरेबियालाई ४–० को विशाल अन्तरले र उरुग्वेलाई १–० ले हराउँदै स्पेन समूह ‘एच’ को विजेता बन्यो ।

र, नकआउटको पहिलो खेल अर्थात् राउन्ड अफ ३२ मा अस्ट्रियालाई ३–० ले सहजै पाखा लगाउँदै स्पेनले पोर्चुगलसँगको यो महाभिडन्त पक्का गरेको हो । स्पेन कुनै पनि पक्षमा कमजोर देखिँदैन। फिफा वरीयताको पाँचौँ स्थानमा रहेको पोर्चुगलको कथा स्पेनको जस्तो सहज र सानदार छैन । पोर्चुगलले समूह चरणदेखि राउन्ड अफ ३२ सम्म आइपुग्दा निकै सकसपूर्ण नतिजाहरू निकालेको छ ।

उज्वेकिस्तानविरुद्धको खेलमा फराकिलो जित निकाल्नु बाहेक पोर्चुगलले हरेक खेलमा कडा सङ्घर्ष गर्नु परेको छ । कमजोर मानिएका डिआर कंगो र कोलम्बियाविरुद्ध पोर्चुगल गोल गर्न चुक्यो र अंक बाँड्न बाध्य भयो । नकआउट चरणको पहिलो खेलमा पोर्चुगलले क्रोएसिया जस्तो बलियो युरोपेली राष्ट्रको सामना गर्नु परेको थियो, जहाँ उसले २–१ को कठिन जित निकाल्यो ।

उक्त खेलमा रोनाल्डोले पेनाल्टीमार्फत गोल गरेका थिए, जुन उनको विश्वकप इतिहासमै नकआउट चरणको पहिलो गोलसमेत थियो । जारी विश्वकपमा रोनाल्डोले ४ खेलमा ३ गोल गरिसकेका छन् । र, पत्रकार सम्मेलनमा ठट्टा गर्दै उनले भनेका पनि छन्— ’मेरो प्रदर्शन अझै पनि खराब छैन नि, होइन र?’

जब फुटबलका यी दुई युरोपेली पावरहाउस आमनेसामने हुन्छन्, तब इतिहासका पानाहरू पल्टाउनै पर्ने हुन्छ । स्पेन र पोर्चुगलबीच हालसम्म ११ पटक अन्तर्राष्ट्रिय खेलहरूमा भेट भएको छ । र, यो रेकर्ड हेर्दा दुवै टोली कति बराबरीका छन् भन्ने प्रस्ट हुन्छ । ११ वटा भेटमा ५ पटक मात्र स्पष्ट नतिजा आएको छ, जसमा स्पेनले ३ खेल जितेको छ भने पोर्चुगलले २ खेलमा जित निकालेको छ ।

बाँकी ६ वटा खेल भने बराबरीमा टुङ्गिएका छन् । रोचक कुरा त के छ भने, यी ११ खेलहरूमा दुवै टोलीले विपक्षीविरुद्ध समान ११–११ गोल गरेका छन् । अर्थात्, गोलको अनुपात पनि एकदमै बराबर छ । विश्वकपको मञ्चमा भने यी दुई छिमेकी राष्ट्रको भेट दुई पटक भएको छ ।

सन् २०१० को विश्वकपमा, जतिबेला स्पेन विश्वविजेता बनेको थियो, उसले पोर्चुगललाई अन्तिम १६ मै १–० ले पराजित गर्दै घर फर्काएको थियो । पोर्चुगिज समर्थकहरू आज पनि त्यो हारको बदला लिन चाहन्छन् । यस्तै, दोस्रो भेट सन् २०१८ को रुस विश्वकपको समूह चरणमा भएको थियो । त्यो खेल फुटबल इतिहासकै सबैभन्दा रोमान्चक खेलहरूमध्ये एक मानिन्छ, जुन ३–३ को बराबरीमा सकिएको थियो ।

र, त्यो खेल कसको नाममा रह्यो? पक्कै पनि क्रिस्टियानो रोनाल्डो ! रोनाल्डोले स्पेनको बलियो डिफेन्स र गोलरक्षक डेविड डे हेयाविरुद्ध सनसनीपूर्ण ह्याट्रिक प्रहार गर्दै पोर्चुगलको संकट टारेका थिए । आज पनि रोनाल्डोबाट समर्थकहरूले त्यस्तै जादुमयी प्रदर्शनको अपेक्षा गरेका छन् ।

तर इतिहासले यो पनि भन्छ कि पोर्चुगल विश्वकपको नकआउट चरणमा पटक–पटक चुकेको छ । पोर्चुगलको इतिहासमा अहिलेसम्मकै ठुलो उपलब्धि भनेको सन् १९६६ मा तेस्रो हुनु र सन् २००६ मा चौथो हुनु मात्र हो । सन् २०२२ को कतार विश्वकपमा उत्कृष्ट फर्ममा रहेर पनि पोर्चुगल क्वार्टरफाइनलमा मोरक्कोसँग पराजित हुँदै बाहिरिएको थियो।

आजको दोस्रो खेल पनि उत्तिकै रोमाञ्चक र कडा प्रतिस्पर्धाले भरिएको हुने अपेक्षा गरिएको छ । दोस्रो खेल नेपाली समयअनुसार भोलि बिहान ठीक ५ बजेर ४५ मिनेट जाँदा संयुक्त राज्य अमेरिका र बेल्जियमबीच हुनेछ । एकातिर घरेलु मैदान र समर्थकको फाइदा उठाउँदै इतिहास रच्न खोजिरहेको जुझारु अमेरिकी टोली छ भने, अर्कोतिर अनुभवी र ‘गोल्डेन जेनेरेसन’ को विरासत बोकेको बेल्जियम छ ।

दुवै टोलीको एउटै लक्ष्य छ— क्वार्टरफाइनलमा स्थान सुरक्षित गर्ने । आजको रात फुटबल इतिहासकै एउटा सुनौलो अध्याय बन्न जाँदै छ । एकातिर क्रिस्टियानो रोनाल्डो आफ्नो अन्तिम विश्वकपको यात्रालाई अझै लम्ब्याउन र आफ्नो देशलाई पहिलो पटक विश्वकपको फाइनलसम्म पुरÞ्याउने सपना जीवित राख्न खेल्नेछन् ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top