२२ असार , काठमाण्डौ।
पासपोर्टको विश्वव्यापी वरियतामा नेपालले सुधार गर्न सकिरहेको छैन । हालै सार्वजनिक भएको सन् २०२६ को ग्लोबल पासपोर्ट इन्डेक्समा नेपाली पासपोर्ट १६४औँ स्थानमा रहेको छ । नेपालको वरीयता गत वर्षको तुलनामा एक स्थान तल झरेको हो ।
प्रतिवेदनानुसार, नेपाली पासपोर्टवाहकले विश्वका १० देशमा बिनाभिसा वा आगमनमा भिसा (भिसा अन अराइभल)को सुविधा प्राप्त गर्न सक्छन् । नेपाली नागरिकका निम्ति भारत, प्यालेस्टाइन, डोमिनिका, माइक्रोनेसिया, हाइटी, फिलिपिन्स, पाकिस्तान, सिंगापुरलगायत देशले बिनाभिसा वा आगमनमा भिसाको सुविधा उपलब्ध गराउँदै आएका छन् ।
यसले ती देशको यात्रा अपेक्षाकृत सहज बनाएको छ । नेपाली नागरिकले विश्वका करिब १०७ गन्तव्यमा प्रवेश गर्न भने पहिल्यै भिसा लिनुपर्ने हुन्छ । भिसा आवश्यक पर्ने प्रमुख गन्तव्यमा अमेरिका, बेलायत (यूके), जर्मनी, फ्रान्स, चीन, जापान, एन्डोरालगायत देश छन् ।
यता २०२६ को ग्लोबल पासपोर्ट इन्डेक्समा यस वर्षपनि युरोपकै वर्चस्व छ । यस वर्ष स्वीडेनले विश्वकै सबैभन्दा शक्तिशाली पासपोर्टका रूपमा पहिलो स्थान हासिल गरेको छ । विश्वका शीर्ष १० सबैभन्दा शक्तिशाली पासपोर्टमध्ये नौ युरोपेली देशका छन् ।
यी देशका नागरिकले पूर्वभिसाबिना नै संसारका अधिकांश मुलुकमा सहज रूपमा यात्रा गर्न सक्छन् । शीर्ष १० शक्तिशाली पासपोर्ट भएका देशमा स्वीडेनपछि क्रमशः स्वीट्जरल्यान्ड, फिनल्यान्ड, जर्मनी, नेदरल्यान्ड्स र डेनमार्क (संयुक्त पाँचौँ स्थान), आयरल्यान्ड, युनाइटेड किङडम÷यूके, नर्वे र सिगापुर छन् ।
रोचक कुरा के छ भने, विश्वका शक्तिशाली मानिने अमेरिका र फ्रान्स दुवै यो सूचीमा ११औँ स्थानमा छन् । शीर्ष १० मा पर्नबाट थोरैले चुकेका छन् । क्यानडा १३औँ स्थानमा छ । इन्डेक्सको पुछारमा रहेका अर्थात् सबैभन्दा कम भ्रमण स्वतन्त्रता भएका १० देशमा क्रमशः सुडान, कंगो (ब्राजाभिल), मध्य अफ्रिकी गणतन्त्र, कंगो (किन्सासा), इरिट्रिया, सिरिया यमन, दक्षिण सुडान, सोमालिया र अफगानिस्तान सबैभन्दा कमजोर छन् ।
ग्लोबल पासपोर्ट इन्डेक्स २०२६ मा समावेश १९७ देशमध्ये नेपालको छिमेमकी भारत १२५औँ स्थानमा छ । गत वर्ष भारत १२४औँ स्थानमा थियो । भारतीय पासपोर्टधारीले नेपाल, भुटान, जमैका, मकाउ, प्यालेस्टाइन, ट्युनिसिया, अंगोला, बार्बाडोससहित विश्वका २६ देशमा बिनाभिसा यात्रा गर्न सक्छन् ।
छिमेकी देशमध्ये चीन १०४औँ स्थानमा छ । पाकिस्तान १८८औँ स्थानमा छ । भुटान भारतभन्दा अगाडि १३२औँ स्थानमा छ । माल्दिभ्स १०७औँ, श्रीलंका १४१औँ र अफगानिस्तान १९७औँ स्थानमा छन् । यो सूचीको सबैभन्दा अन्तिम स्थानमा अफगानिस्तान छ ।
यो ग्लोबल पासपोर्ट इन्डेक्स रेसिडेन्सी एन्ड सिटिजनसिप एडभाइजरी फर्म ग्लोबल सिटिजन सोलुसन्सले सार्वजनिक गरेको हो । केवल बिनाभिसा यात्रा (भिसा–फ्री ट्राभल)लाई आधार मान्ने परम्परागत वरीयताभन्दा फरक यसमा १४ विभिन्न सूचकका आधारमा पासपोर्टको शक्ति मूल्यांकन गरिएको छ ।
यी सूचकलाई तीन मुख्य स्तम्भमा विभाजन गरिएको छ । त्यसमा भ्रमण सहजतालाई ५० प्रतिशत हिस्सा दिइएको छ । लगानीका अवसर र जीवनस्तरमा २५÷२५ प्रतिशत अंक कायम गरिएको छ । ग्लोबल पासपोर्ट इन्डेक्स रेसिडेन्सी एन्ड सिटिजनसिप एडभाइजरी फर्म ग्लोबल सिटिजन सोलुसन्सको प्रतिवेदनमा अपनाइएको मूल्यांकन पद्धति निकै व्यापक छ ।
यसले कुनै देशको पासपोर्टले अन्तर्राष्ट्रिय यात्रामा मात्र नभई बसाइँसराइ, लगानी तथा समग्र विश्वव्यापी अवसरमा कस्तो प्रभाव पार्छ भन्ने विषयको पनि मूल्यांकन गर्छ । यसनिम्ति विश्व बैंक, विश्व आर्थिक मञ्च, दिगो विकास प्रतिवेदनलगायत प्रतिष्ठित अन्तर्राष्ट्रिय संस्थाका तथ्यांकलाई आधार बनाइएको छ ।




