१८ चैत , काठमाण्डौ ।
एमालेको भातृ संस्था राष्ट्रिय युवा संघका ललितपुर जिल्ला अध्यक्ष पक्राउ परेका छन्। जिल्ला प्रहरी परिसर ललितपुरले मंगलबार ललितपुर गोदावारी नगरपालिका १० टाखेलका ३० वर्षीय रामशरण शर्मा बजगाईलाई पक्राउ गरेको हो। जेष्ठ नागरिकमाथि अभद्र ब्यवहार गरेको आरोप उनीमाथि छ।
पार्टी अध्यक्ष केपी शर्मा ओलीलाई रिहा गर्न माग गर्दै जिल्ला प्रशासन कार्यालयमा ज्ञापनपत्र बुझाएर फर्किने क्रममा लगनखेल स्थित पाटन मानसिक अस्पताल अगाडि सडकपेटीमा रहेका ज्येष्ठ नागरिकलाई उनले हुत्याएका थिए। सार्वजनिक भएको भिडिओका आधारमा प्रहरीले पक्राउ गरे पनि उजुरी भने परिसकेको छैन।
उजुरी परेपछि म्याद थप गर्ने प्रहरीको तयारी छ। उनलाई जिल्ला प्रहरी परिसर ललितपुरको हिरासतमा राखिएको छ। प्रदर्शन गर्ने क्रममा बाटोमा हिँडिरहेका वृद्धमाथि अभद्र व्यवहार गरेको भिडियो सामाजिक सञ्जालमा भाइरल भएको थियो ।
उक्त घटना सार्वजनिक भएलगत्तै गृहमन्त्री गुरुङले संलग्नलाई कारबाही गर्न प्रहरी प्रशासनलाई निर्देशन दिएका थिए । यसैबीच, गृहमन्त्री गुरुङले मंगलबार ती पीडित ज्येष्ठ नागरिकलाई उनकै निवास पुगेर भेटेका छन् । कार्यव्यस्तताका बाबजुद साँझ निवास फर्किने क्रममा मन्त्री गुरुङ ललितपुरस्थित वृद्धको घर पुगेका हुन् ।
भेटका क्रममा गृहमन्त्री गुरुङले भिडियो देखेपछि आफू स्तब्ध भएको र रातभर निदाउन समेत नसकेको बताए । ‘समाजका आदरणीय ज्येष्ठ नागरिकमाथि सडकमै यसरी दुव्र्यवहार हुनु निन्दनीय छ’, उनले भने, ‘त्यसैले मैले तत्कालै एक्सन लिन निर्देशन दिएको हुँ । राज्य सधैँ तपाईंहरूको साथमा छ ।
आफूमाथि अन्याय हुँदा सरकारले तत्काल तदारुकता देखाएको भन्दै पीडित वृद्धले गृहमन्त्रीलाई धन्यवाद दिएका थिए । उनले दोषीमाथि कानुनी कारबाही हुनेमा आफू विश्वस्त रहेको समेत बताए ।यता प्रहरीले पूर्वप्रधानमन्त्री एवं एमाले अध्यक्ष केपी शर्मा ओली र पूर्वगृहमन्त्री रमेश लेखकको बयान आजदेखि थाल्ने तयारी गरेको छ ।
अदालतबाट ५ दिन हिरासतमा राख्ने अनुमति पाएको प्रहरीले अनुसन्धानका क्रममा ओली र लेखकको बयान लिने तयारी थालेको हो । काठमाडौं प्रहरी प्रमुख एसएसपी रमेश थापाका अनुसार, २३ र २४ भदौको जाँचबुझ आयोग प्रतिवेदनमा केन्द्रीत भएर थप प्रमाणसमेत जुटाउने प्रयास प्रहरीले गरिरहेको छ ।
’प्रतिवेदनको कार्यान्वयनका लागि उहाँहरूलाई पक्राउ गरिएको हो र सोहीअनुसार बयान लिनेलगायतका काम सुरू हुन्छ , उनले भनेका छन् । कतिपय प्रश्नहरू प्रमाणका आधारमा सोध्नुपर्ने भएकाले त्यसबारे तयारी गर्ने काम भइरहेको अनुसन्धानमा संलग्न अधिकृतहरू बताउँछन् ।
ओलीलाई स्वास्थ्य समस्याका कारण अहिले त्रिवि शिक्षण अस्पतालमा राखिएको छ । लेखक प्रहरीको महाराजगञ्जस्थित २ नम्बर गणमा छन् । ओलीलाई म्याद थपका लागि अनलाइनबाटै हाजिर गराइएको थियो । लेखक भने अदालत पुगेका थिए ।
स्वास्थ्य र सुरक्षाका कारण बयान कसरी लिने भन्ने टुंगो लागि नसकेको अधिकृतहरू बताउँछन् । गौरीबहादुर कार्की नेतृत्वको आयोगको प्रतिवेदनले ओली, लेखकलाई मुलुकी अपराध संहिताको दफा १८१ र १८२ अनुसार कारबाही गर्न सिफारिस गरेको थियो ।
दफा १८१ मा ‘कसैले लापर्बाहीपूर्ण काम गरेर कसैको ज्यान मार्न नहुने’ र १८२ मा ‘हेलचेक्र्याइँपूर्ण कुनै काम गरी कसैको ज्यान मार्न नहुने’ भनिएको छ । दफा १८१ अनुसारको कसुर पुष्टि भए ३ देखि १० वर्षसम्म कैद र ३० हजारदेखि १ लाख रुपैयाँसम्म जरिवाना हुने व्यवस्था छ भने दफा १८२ मा दुई वर्षसम्म कैद र ३० हजार रुपैयाँसम्म जरिवाना हुन सक्ने व्यवस्था छ ।
यही प्रकरणमा पक्राउ परेका काठमाडौंका पूर्व प्रमुख जिल्ला अधिकारी छविलाल रिजाललाई भने प्रहरीले हाजिरी जमानीमा छाडेको छ । मंगलबार रिजाललाई उपत्यका अपराध अनुसन्धान कार्यालयबाट खटिएको प्रहरीले काठमाडौंको सुविधानगरबाट पक्राउ गरेको थियो ।
पक्राउपछि उनलाई जिल्ला प्रहरी परिसर काठमाडौंका अनुसन्धान अधिकृतहरूले जेनजी प्रदर्शनमा बानेश्वरमा किशोरहरूको ज्यान जानेगरी भएको घटनाबारे सोधपुछ गरेका थिए । सह सचिव रिजाललाई बोलाएको समयमा उपस्थित हुनेगरी रिहा गर्ने निर्णय गरिएको जिल्ला प्रहरी परिसर काठमाडौंले बताएको छ ।
जेनजी प्रदर्शनबारे छानबिन गर्न गठित उच्चस्तरीय जाँचबुझ आयोगले काठमाडौंका तत्कालीन प्रमुख जिल्ला अधिकारी छवि रिजाललाई दोषी किटान गर्दै मुद्दा चलाउन सिफारिस गरेको थियो । भदौ २३ र २४ मा प्रदर्शन हुँदा उनी काठमाडौंको प्रमुख जिल्ला अधिकारी थिए ।
बानेश्वरमा किशोरहरूको ज्यान जानेगरी गोली चलाउन आदेश दिएको भनेर रिजालको तिब्र आलोचना भइरहेको छ । तर, गौरीबहादुर कार्की नेतृत्वको आयोगमा रिजालले आफुले घातक हतियारबाट गोली प्रहार गर्ने आदेश नगरेको बयान दिएका छन् ।
यसैबीच छविको रिहाईपछि एमाले सचिव महेश बस्नेतले भने समान व्यवहार गर्नुपर्ने टिप्पणी गरेका छन् । उनले भनेका छन्, कानून सबैका लागि समान हुनुपर्छ। जेनजी आन्दोलनका क्रममा काठमाडौंका तत्कालीन प्रमुख जिल्ला अधिकारी छवि रिजाललाई हाजिर जमानीमा रिहा गर्ने निर्णय स्वागत योग्य छ। त
र, पूर्व प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र पूर्व गृहमन्त्री रमेश लेखकलाई गैरकानुनी रूपमा थुनामा राखिएको छ, उहाँहरूलाई पनि समान कानुनी आधारमा हाजिर जमानीमा तत्काल रिहा गरिनु पर्दछ।

