२२ असार , काठमाण्डौ ।
एग्रो थाई फुड्स प्रालिद्वारा उत्पादित नेपालको इनर्जी ड्रिंक्स ब्रान्ड एक्स्ट्रिम इनर्जी ड्रिंक्सले नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको तेस्रो संस्करणका लागि आठ फ्रेन्चाइज टोली मध्य छ फ्रेन्चाइज टोलीसँग टाइटल स्पोन्सरसिप सम्झौता गरेको छ ।
नेपाली खेलकुदको व्यावसायिक इतिहासमा निजी क्षेत्रबाट भएको यो सम्भवतः सबैभन्दा ठूलो साझेदारी भएको कम्पनीको भनाइ छ ।
एक्स्ट्रिम इनर्जी ड्रिंक्सले काठमाडौं गोर्खाज (Kathmandu Gorkhas), चितवन राइनोज (Chitwan Rhinos) , जनकपुर बोल्ट्स (Janakpur Bolts), कर्णाली याक्स (Karnali Yaks) , पोखरा एभेन्जर्स (Pokhara Avengers) र लुम्बिनी लायन्स (Lumbini Lions) सँग टाइटल स्पोन्सरका रूपमा औपचारिक सम्झौता सम्पन्न गरेको हो ।
नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको तेस्रो संस्करणका लागि सोमबार आयोजित एक विशेष कार्यक्रममा ६ वटै टोलीका प्रतिनिधि र एग्रो थाई फुड्स प्रालिकी विजनेस हेड सोनिया राणाले सम्झौता पत्रमा हस्ताक्षर गरिन् । सम्झौता पत्रमा उल्लेख भएअनुसार एक्स्ट्रिम इनर्जी ड्रिंक्स सम्बन्धित टोलीको प्रमुख प्रायोजकका रूपमा तिन वर्ष सम्म रहनेछ भने टोलीहरूको प्लेइङ जर्सीको अगाडिको प्रमुख स्थानमा एक्स्ट्रिम इनर्जी ड्रिंक्सको लोगो रहनेछ ।
कम्पनीका अनुसार यो सहकार्यले नेपाली क्रिकेटको सबैभन्दा ठूलो फ्रेन्चाइज प्रतियोगिता एनपीएलमार्फत ब्रान्डलाई अझ सशक्त रूपमा दर्शकमाझ स्थापित गर्नुका साथै नेपाली क्रिकेटको व्यावसायिक विकासमा समेत महत्वपूर्ण योगदान पु¥याउने विश्वास लिइएको छ ।
कार्यक्रमका प्रमुख अतिथि क्रिकेट एसोसिएसन अफ नेपाल (क्यान) का अध्यक्ष चतुर बहादुर चन्दले एक्सट्रिम इनर्जी ड्रिंक र एनपीएल फ्रेन्चाइजहरूबीचको सहकार्य नेपाली क्रिकेटको दिगो विकास, खेलाडीहरूको भविष्य उज्ज्वल बनाउन तथा समग्र क्रिकेट संरचनालाई सुदृढ बनाउन महत्वपूर्ण कदम भएको बताए ।
कार्यक्रमलाई सम्बोधन गदै एग्रो थाई फुड्स प्रालिका नेसनल सेल्स मेनेजर कृष्ण दाहालले “नेपाल प्रिमियर लिग (एनपीएल) नेपाली क्रिकेटकै सबैभन्दा ठूलो र प्रतिष्ठित प्रतियोगितामा ६ वटा टोलीसँग टाईटल स्पोन्सरको रुपमा सहकार्य गर्न पाउनु गर्वको कुरा भएकोे र यो साझेदारी केवल ब्रान्ड प्रचारका लागि मात्र नभएर नेपाली क्रिकेटको दीर्घकालीन विकासका लागि रहेको बताए ।
एक्स्ट्रिम इनर्जी ड्रिंक्सले विगत केही वर्षदेखि नेपाली खेलकुद क्षेत्रमा निरन्तर लगानी गर्दै आएको छ । कम्पनी नेपाली महिला राष्ट्रिय क्रिकेट टोलीको प्रमुख प्रायोजक हुनुका साथै क्रिकेट, फुटबल, भलिबल, म्याराथन तथा अन्य राष्ट्रिय र अन्तर्राष्ट्रिय खेलकुद प्रतियोगितामा सक्रिय सहकार्य गर्दै आएको छ ।
दसैंपछि आयोजना हुन लागेको एनपीएलको तेस्रो संस्करण अगाडि भएको यो ठूलो सम्झौताले नेपाली खेलकुदमा निजी क्षेत्रको आकर्षण र विश्वास निकै बढेको देखाउँछ । आगामी दिनमा पनि नेपाली खेलकुदको विकास, खेलाडीहरूको क्षमता वृद्धि र खेल संस्कृतिको विस्तारमा निरन्तर योगदान दिने प्रतिबद्धता कम्पनीले व्यक्त गरेको छ ।




