२४ असार , काठमाण्डौ।
जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाका अनुसार आज देशभर बादल लागेको छ । कोशी, बागमती, लुम्बिनी र कर्णाली प्रदेशका केही स्थान तथा गण्डकी र सुदूरपश्चिम प्रदेशका एकदुई स्थानमा मध्यमसम्मको वर्षा भइरहेको छ । आज दिउँसो पनि देशका हिमाली भूभागका केही स्थानमा मेघगर्जन÷चट्याङसहित मध्यमसम्मको वर्षा र हिमपातको सम्भावना छ ।
यस्तै कोशी, बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका पहाडी र तराई भूभागका केही स्थानमा, मधेश प्रदेश साथै कर्णाली प्रदेशका पहाडी भूभागका थोरै स्थानमा मेघगर्जन र चट्याङसहित मध्यमसम्मको वर्षाको सम्भावना छ । देशको पहाडी भूभागका एकदुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ भने मधेश प्रदेश साथै लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई भूभागका केही स्थानमा हुरीबतासको पनि सम्भावना छ ।
त्यसैगरी, आज राति हिमाली भूभागका थोरै स्थानमा मेघगर्जन र चट्याङसहित मध्यमसम्मको वर्षा र हिमपातको सम्भावना छ । राति पनि मधेस प्रदेश तथा कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी र तराई भूभागका धेरै स्थानमा, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भूभागका साथै लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई भूभागका केही स्थानमा मेघगर्जन र चट्याङसहित मध्यमसम्मको वर्षाको सम्भावना छ ।
यस्तै आज राति मधेश प्रदेश साथै कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका पहाडी र तराई भूभागका थोरै स्थानमा भारीदेखि धेरै भारी वर्षाको पनि सम्भावना महाशाखाले जनाएको छ ।
कोशी प्रदेशको पहाडी र तराई भूभागको थोरै स्थान तथा मधेस प्रदेशका साथै बागमती, गण्डकी लुम्बिनी र सुदूरपश्चिम प्रदेशका पहाडी र तराई भूभागको एकदुई स्थानमा भारी वर्षाका सम्भावना रहेकाले आवश्यक सावधानी अपनाउनुहुन र विभागको पछिल्लो सूचनामा अद्यावधिक रहनुहुन अनुरोध महाशाखाले अनुरोध गरेको छ ।
यसबीच आज देशका कम्तीमा १० जिल्लामा बाढीको जोखिम देखिएको बाढी पूर्वानुमान महाशाखाले जानकारी दिएको छ । बाढी महाशाखाका अनुसार ‘आज इलाम, झापा, तेह्रथुम, पाँचथर, धनकुटा, सप्तरी, सुनसरी, मोरङ, डोटी, डडेल्धुरा र आसपासका जिल्ला भई वहने ससाना नदीहरूको बहाब उल्लेख्य बढ्ने र आकस्मिक बाढीको मध्यम जोखिमको सम्भावना छ।’
नेपालमा देशैभर मनसुन सक्रिय रहँदा यता उत्तरको छिमेकी चीन पनि मौसमको मारमा परेको छ । हुबेई प्रान्तमा शक्तिशाली आँधी आएको छ । जसले अपार्टमेन्टको १२औँ तलाबाट एक मान्छेलाई नै उडाएको चिनियाँ सञ्चारमाध्यमहरूले जनाएका छन् ।
सरकारी समाचार संस्था सिन्ह्वाका अनुसार सोमबार राति आएको आँधीमा प्रतिघण्टा २६० किलोमिटरसम्मको वेगमा हावा चलेको थियो । त्यसले घरहरू भत्काएको, सवारीसाधन पल्टाएको र खेतीयोग्य जमिनमा ठुलो क्षति पुर्याएको बताइएको छ ।
यस आँधीका कारण कम्तीमा ११ जनाको मृत्यु भएको छ भने ३३१ भन्दा बढी घाइते भएका छन् । आँधीबाट ४ हजार ८५५ भन्दा बढी घरमा क्षति पुगेको जनाइएको छ । हुबेई चीनको प्रमुख औद्योगिक क्षेत्रमध्ये एक हो । यहाँ मोटरगाडी उद्योग धेरै छन् ।
सबैभन्दा बढी प्रभावित ह्वाङगाङ सहरमा आँधीले एक जना ३० वर्षीय पुरुषलाई उनको १२औँ तलाको अपार्टमेन्टबाट सोफा र दराजसहित बाहिर उडाएको स्थानीय सञ्चारमाध्यमले जनाएका छन् । ती व्यक्ति हाल अस्पतालको सघन उपचार कक्षमा उपचाररत छन् ।
त्यसै सहरमा हावाले धेरैवटा ठूला ट्रकसमेत ३० मिटरसम्म उचालेर फ्याँकेको बताइएको छ । आँधीले नजिकैको इझोउ सहरमा पनि ठुलो क्षति पु¥याएको छ । त्यहाँ मात्र पाँच जनाको मृत्यु भएको छ । स्थानीय प्रशासनले प्राकृतिक विपद्बाट ठुलो क्षति भएको स्वीकार गर्दै तीन हजारभन्दा बढी उद्धारकर्मी परिचालन गरिएको जनाएको छ ।
हुवेई प्रान्तमा आँधी विरलै आउने गर्छ । यसअघि त्यहाँ मे २०२१ मा अन्तिम पटक टोर्नाडो आएको थियो । विशेषज्ञहरूका अनुसार मायसाक आँधीको प्रभाव र प्रारम्भिक वर्षायाम एकैसाथ सक्रिय हुँदा हुबेईमा यस्तो भीषण मौसम विकसित भएको हो ।
यतिबेला चीनको गुआङ्सी क्षेत्रमा भीषण बाढी र गान्सु प्रान्तमा गएको पहिरोका कारण पनि जनधनको ठुलो क्षति भइरहेको छ । यसबिच चिनियाँ राष्ट्रपति सी चिनफिङले प्रभावित क्षेत्रहरूमा उद्धार, राहत र विस्थापितहरूको पुनःस्थापनाका लागि सबै सम्भव प्रयास गर्न सम्बन्धित निकायलाई निर्देशन दिएका छन् ।




