इजिप्टमाथि अन्याय कि अर्जेन्टिनाको भाग्य ? भीएआरमाथि उठ्यो प्रश्न

२४ असार ८३, बुधबार
Share this
771shares

२४ असार , काठमाण्डौ।

Advertisement

निर्धारित समय सकिन मात्र १२ मिनेट बाँकी थियो । एटलान्टा स्टेडियममा उपस्थित हजारौँ दर्शक र संसारभरका करोडौँ फुटबल फ्यानहरू स्तब्ध थिए । स्कोरबोर्डमा लेखिएको थियो— इजिप्ट २, अर्जेन्टिना ०! हो, साविक विश्व विजेता अर्जेन्टिना र फुटबलका जादुगर लियोनेल मेस्सी पराजयको सङ्घारमा थिए ।

फुटबल इतिहासकै सबैभन्दा ठूलो उलटफेर हुन मात्र केही मिनेट बाँकी थियो। इजिप्ट आफ्नो इतिहासमै पहिलो पटक विश्वकपको क्वार्टरफाइनलमा पुग्ने निश्चित देखिन्थ्यो । तर, त्यसपछिका १२ मिनेटमा जे भयो, त्यसले फुटबल विश्वलाई नै दुई भागमा विभाजन गरिदियो ! आखिर १२ मिनेटभित्र खेल कसरी उल्टियो? के इजिप्टमाथि अन्याय भएको हो? र, यो खेलमा लियोनल मेस्सीले कुन–कुन ऐतिहासिक कीर्तिमानहरू ध्वस्त पारे? आज हामी यही हाइ–भोल्टेज खेलको विश्लेषण गर्नेछौँ ।

Advertisement

यो खेल हुनुअघि इजिप्टको विश्वकप इतिहास निकै कमजोर थियो । यसअघि तीन पटक विश्वकप खेल्दा सात खेलमा उनीहरूले एउटा पनि खेल जित्न सकेका थिएनन् । तर, उत्तर अमेरिकामा भइरहेको यो विश्वकपमा इजिप्ट एउटा फरक सपनासहित आएको थियो । जुन २२ मा भ्यानकुभरमा न्युजिल्यान्डलाई हराउँदै पहिलो जित दर्ता गरेको इजिप्टको मनोबल उच्च थियो ।

तर, प्रिक्वाटरफाइनलमा उनीहरूको अगाडि थियो— तीन पटकको विश्व विजेता अर्जेन्टिना । खेल सुरु भयो, र १५औँ मिनेटमै यासेर इब्राहिमले उत्कृष्ट हेडरमार्फत गोल गर्दै इजिप्टलाई १–० को अप्रत्याशित अग्रता दिलाए । अर्जेन्टिना दबाबमा आयो । दबाब यतिसम्म बढ्यो कि अर्जेन्टिनाले पेनाल्टीको मौका पाउँदा समेत लियोनेल मेस्सी चुक्न पुगे ।

Advertisement

इजिप्टका गोलकिपर मोस्टाफा शोबेरले मेस्सीको पेनाल्टीलाई शानदार ढङ्गले रोकिदिए । यो पेनाल्टी बचाउ मात्र थिएन, यसले इजिप्टका खेलाडीहरूमा यस्तो ऊर्जा भस्यो कि उनीहरू मैदानमा प्रत्येक बलका लागि ज्यान फालेर लड्न थाले। अर्जेन्टिनाका स्टार खेलाडीहरू जस्तै एलेक्सिस म्याक एलिस्टर, एन्जो फर्नान्डेज र जुलियन अल्भारेज इजिप्टको रक्षापङ्क्ति तोड्न असफल भइरहेका थिए।

इजिप्टले रक्षात्मक रूपमा मात्र होइन, काउन्टर अट्याकमा पनि अर्जेन्टिनालाई सिध्याउने रणनीति अपनाएको थियो । त्यसपछि खेलमा इजिप्टका मोस्टाफा जिकोले दोस्रो गोल गरे । इजिप्टका समर्थकहरू खुसीले नाच्न थाले । तर, यहीँबाट सुरु भयो असली विवाद । इजिप्ट २–० ले अघि बढिसकेको थियो, तर भिडियो असिस्टेन्ट रेफ्री अर्थात् भीएआले खेलको दिशा नै बदलिदियो ।

भीएआरले उक्त गोललाई रद्द गरिदियो । कारण ? मिडफिल्डर मारवान अतियाले मुभको सुरुवातमै अर्जेन्टिनाका डिफेन्डर लिसान्ड्रो मार्टिनेजलाई थोरै कुल्चिएको भन्दै फल दिइयो । इजिप्टको दाबी छ कि मारवान अतिया र लिसान्द्रो मार्टिनेजबीचको त्यो ट्याकल फुटबलको सामान्य भौतिक सम्पर्क थियो ।

त्यसलाई फाउल मानेर गोल रद्द गर्नु अर्जेन्टिनालाई बचाउने खेलको सुरुवात थियो । यो निर्णयले इजिप्टको टोलीको लयलाई ठूलो धक्का दियो । तैपनि इजिप्टले पछि अर्को गोल गरेर २–० को स्थिति बनायो । तर खेल जब ७५ मिनेट पार भयो, इजिप्टका खेलाडीहरू थाकेका देखिन्थे र उनीहरू पूर्ण रूपमा रक्षात्मक बनेर जित जोगाउने प्रयासमा लागे ।

यही गल्तीको फाइदा अर्जेन्टिनाले उठायो । ७९औँ मिनेटमा क्रिस्टियन रोमेरोले गोल गर्दै खेललाई २–१ मा ल्याए । अर्जेन्टिनाको झिनो आशा जागृत भयो । इजिप्टका खेलाडीहरूमा डर र हतास देखिन थाल्यो । र, त्यसको ठीक चार मिनेटपछि, अर्थात् ८३औँ मिनेटमा कप्तान लियोनेल मेस्सीले जादुमयी गोल गर्दै खेललाई २–२ को बराबरीमा पु¥याए ।

अब खेलको सबैभन्दा ठूलो र दोस्रो विवादित मोड आयो । अर्जेन्टिनाले विजयी गोल गर्नुभन्दा केही सेकेन्ड अगाडि, इजिप्टका स्टार मोहम्मद सलाह अर्जेन्टिनाको पेनाल्टी एरिया भित्र बल लिएर अगाडि बढ्दै गर्दा अर्जेन्टिनाका डिफेन्डरद्वारा लडाइए । सलाह र इजिप्टका सबै खेलाडीहरूले पेनाल्टीको जोडदार माग गर्दै रेफ्री तर्फ हात उठाए ।

यदि त्यहाँ पेनाल्टी दिइएको भए इजिप्टले खेल जित्ने निश्चित जस्तै थियो । तर फ्रान्सेली रेफ्रीले खेल रोकेनन् । अचम्मको कुरा त के छ भने, यति ठूलो नकआउट खेलमा सलाह जस्ता विश्वस्तरीय खेलाडी लडिँदा पनि भीएआरले त्यसको सामान्य समीक्षा समेत गरेन । त्यसकै काउन्टर अट्याकमा, इन्जुरी समयको दोस्रो मिनेटमा एन्जो फर्नान्डेजले उत्कृष्ट हेडरमार्फत गोल गर्दै अर्जेन्टिनालाई ३–२ को अविश्वसनीय जित दिलाए ।

खेल सकिएको सिट्टी बज्दा इजिप्टका खेलाडीहरू मैदानमै रोइरहेका थिए भने बेन्चमा रहेका प्राविधिक टोलीका सदस्यहरू रेफ्रीमाथि जाइलाग्दै थिए । प्रशिक्षक हसनले खेलको विश्वसनीयतामाथि नै प्रश्न उठाए । उनले अन्तर्वार्तामा भने–“ हामीमाथि सरासर अन्याय भएको छ। मैदानभित्र र मैदानबाहिर धेरै कुराहरूमा प्रश्न उठाउन सकिन्छ।

यो खेलको विश्वसनीयताको कुरा हो, तर जसरी घटनाहरू अघि बढे, त्यहाँ निष्पक्षताको पूर्ण अभाव देखियो। सायद उनीहरू विश्वविजेतालाई प्रतियोगितामा टिकाइराख्न चाहन्थे। सायद उनीहरू मेस्सीलाई अझै खेलमा देख्न चाहन्थे। अर्जेन्टिना जस्तो ठूलो टोलीले हरेक स्तरमा समर्थन पायो। यो नतिजा अर्जेन्टिनाको दबाब र फिफाको चाहनाको उपज हो।”

यति मात्र होइन, खेलको अन्तिम समयमा जब अर्जेन्टिनाले विजयी गोल ग¥यो, त्यतिबेला इजिप्टको बेन्चमा ठूलो विरोध भएको थियो । विरोधका क्रममा इजिप्टको प्राविधिक टोलीका एक सदस्यलाई रेफ्रीले सिधै रातो कार्ड देखाएर बाहिर पठाए । सोही क्रममा रेफ्रीले प्रशिक्षक हसनलाई पनि पहेँलो कार्ड देखाए ।

पहेँलो कार्ड पाएपछि हसनले रेफ्रीको अगाडि आफ्नो छातीमा दुवै हात क्रस गरेर एउटा साङ्केतिक इशारा गरे । फिफा को कडा नियम अनुसार, यदि खेलमैदानमा कुनै खेलाडी वा प्रशिक्षकले रंगभेदी व्यवहार वा चरम भेदभावको सामना गर्नुप¥यो भने रेफ्री र अधिकारीहरूलाई सचेत गराउन छातीमा हात क्रस गर्ने नियम तोकिएको छ ।

हसनले मैदानमा निष्पक्षता नभएको र अफ्रिकी टोली भएकै कारण आफूहरूमाथि विभेद भएको सङ्केत गर्न त्यो इशारा गरेका थिए । यद्यपि, खेलपछिको अन्तर्वार्तामा हसनले यसबारे थप केही बोलेनन्, तर इजिप्टका फरवार्ड मोस्तफा जिकोले भने रेफ्रीको पक्षपात स्पष्ट देखिएको र खेलको सुरुदेखि नै आफूहरू विरुद्ध निर्णयहरू गरिएको आरोप लगाए ।

इजिप्टका फरवार्ड जिकोले पनि आक्रोश पोख्दै भने कि एलेक्सिस म्याक एलिस्टरले जर्सी तान्दा समेत भीएआर चेक गरिएन । सामान्य जीवन जस्तै खेलकुद पनि अन्यायपूर्ण बनेको उनको आरोप थियो । एकतर्फ इजिप्टको आँसु र आक्रोश थियो भने अर्कोतर्फ इतिहासकै महान् खेलाडी लियोनेल मेस्सीको कीर्तिमानको वर्षा ।

यो खेलमा असिस्ट गरेसँगै मेस्सीले फुटबल इतिहासमा एउटा नयाँ पाना थपेका छन् । मेस्सी फिफा विश्वकपमा सर्वाधिक ९ असिस्ट गर्ने खेलाडी बनेका छन्। उनले अर्जेन्टिनाका लेजेण्ड डिएगो म्याराडोनाको ८ असिस्टको कीर्तिमानलाई तोडिदिएका छन् । त्यस्तै, सन् २००६ मा डेब्यु गरेयता मेस्सीले लगातार ६ वटा विश्वकप खेल्दै सबैमा असिस्ट गर्ने पहिलो खेलाडीको कीर्तिमान बनाएका छन् ।

साथै? जारी विश्वकपका सबै ५ खेलमा गोल गर्दै मेस्सी विश्वकपमा लगातार ९ खेलमा गोल गर्ने विश्वकै एकमात्र खेलाडी बनेका छन् । मेस्सीले विश्वकपमा ३१ खेल खेलिसकेका छन्, जुन इतिहासकै धेरै हो। (दोस्रो स्थानमा रहेका क्रिस्टियानो रोनाल्डोको २६ खेल छ ।

उनले जर्मनीका मिरोस्लाभ क्लोजको नकआउट चरणमा सर्वाधिक १४ खेल खेल्ने कीर्तिमानको बराबरी गरेका छन्, जुन अब क्वार्टरफाइनलमा तोसिनेछ । यस्तै, सन् २०२२ को कतार विश्वकपमा ७ गोल गरेका मेस्सीले यस विश्वकपमा आफ्नो गोल सङ्ख्या ८ पुर्याउँदै किलियन एमबाप्पे र एर्लिङ हालान्ड (समान ७ गोल) लाई पछि पारेका छन् । उनी दुई फरक विश्वकपमा ७ वा सोभन्दा बढी गोल गर्ने विश्वकै पहिलो खेलाडी बनेका छन् ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top