२४ असार , काठमाण्डौ।
साविक विजेता अर्जेन्टिनाले विवादास्पद रेफ्री निर्णयबीच इजिप्टविरुद्ध अविश्वसनीय पुनरागमन गर्दै फिफा विश्वकपको क्वाटरफाइनलमा स्थान सुरक्षित गरेको छ । अर्जेन्टिना २–० ले पछि परेको अवस्थाबाट फर्किँदै इजिप्टलाई ३–२ ले पराजित गर्न सफल भएको हो ।
यसअघि निर्धारित समय सकिन करिब एकतिहाइ समय बाँकी रहँदा इजिप्ट २–० ले अघि थियो । यसअघि उसको एक गोल भिडियो असिस्टेन्ट रेफ्री (भीएआर)ले रद्द गरिसकेको थियो । यो खेलको सबैभन्दा ठूलो चर्चा भीएआरको निर्णय नै बन्यो । इजिप्ट १–० ले अघि रहेको अवस्थामा मोहमद सलाहको पासमा मोस्तफा जिकोले दोस्रो गोल गरेका थिए ।
गोल गरेपछि उनले जर्सी फुकाल्दै उत्सव मनाए । तर केहीबेरपछि भीएआरको हस्तक्षेपपछि गोल हुनुअघि आक्रमण निर्माणको क्रममा फाउल भएको ठहर गर्दै गोल रद्द गरियो । खेलको प्रत्यक्ष प्रसारणमा रहेका टिप्पणीकारहरूले उक्त निर्णय भीएआरको अधिकार क्षेत्रभन्दा बाहिर रहेको बताएका थिए ।
तर अन्तर्राष्ट्रिय फुटबल संघ बोर्ड (आईएफएबी)को ‘लज अफ द गेम’ अनुसार गोल हुनुअघि आक्रमणको क्रममा भएको फाउल, ह्यान्डबल वा अफसाइडको समीक्षा गरी भीएआरले गोल रद्द गर्न सक्ने व्यवस्था छ । यही निर्णय खेलको टर्निङ प्वाइन्ट बनेको मानिएको छ ।
यता अर्जेन्टिनाले अग्रता लिएपछि खेल थप तनावपूर्ण बनेको थियो । इजिप्टका गोलकिपर मोस्तफा शोबेर, हम्दी फाथी र मारवान अट्टियाले पहेँलो कार्ड पाए । यसअघि इजिप्टले आफूहरूले पेनाल्टी पाउनुपर्ने दाबी गर्दै रेफ्रीसँग कडा विरोध जनाएको थियो । विरोध गर्ने क्रममा मुख्य प्रशिक्षक होसाम हसनलाई पनि पहेँलो कार्ड देखाइयो भने कप्तान मोहमद सलाहले खेलाडी र रेफ्रीबीचको तनाव कम गराउने प्रयास गरेका थिए ।
अन्तिम सिट्टी बज्नासाथ इजिप्टका खेलाडीहरू स्तब्ध बने । इजिप्टका खेलाडी र प्रशिक्षकहरू यो हारलाई ’स्वभाविक’ मान्न तयार छैनन्, उनीहरूले यसलाई स्पष्ट ’अन्याय’ भनेका छन् । इजिप्ट १–० ले अगाडि रहेको बेला मोस्तफा जिकोले गरेको अर्को उत्कृष्ट गोललाई भिएआरले खारेज गरिदिनु आफूमाथि अन्याय भएको उनीहरुको ठहर छ ।
गोल हुनुभन्दा १७ सेकेन्ड अगाडि इजिप्टका मिडफिल्डर मारवान अतियाले अर्जेन्टिनाका डिफेन्डर लिसेन्द्रो मार्टिनेजलाई सामान्य छोएको भन्दै रेफ्रीले त्यसलाई फाउल घोषित गरे । खेल २–२ को बराबरीमा रहेको बेला अर्जेन्टिनाको पेनाल्टी बक्सभित्र मोहम्मद सालाहलाई लडाइएको थियो ।
तर, रेफ्रीले पेनाल्टी दिएनन् र त्यसको केही सेकेन्डमै अर्जेन्टिनाले काउन्टर अट्याक गरेर विजयी गोल ग¥यो । खेलपछि इजिप्टका प्रशिक्षक होसाम हसानले फिफा र रेफ्रीमाथि कडा टिप्पणी गरे । उनले भने, ‘हामीमाथि अन्याय भएको छ। सायद उनीहरू विश्व च्याम्पियन अर्जेन्टिनालाई नै प्रतियोगितामा टिकाइराख्न चाहन्थे। सायद उनीहरू मेसीलाई अझै अगाडि बढाउन चाहन्थे। अर्जेन्टिनालाई हरेक तहमा समर्थन मिलिरहेको छ।’
प्रशिक्षक हसानले विरोध स्वरूप आफ्नो दुवै हात क्रस गरेर रेफ्रीलाई देखाएका थिए, जुन फिफाको नियम अनुसार ’रंगभेद’ विरुद्धको संकेत हो। यसै कारण उनलाई पहेँलो कार्ड र टोलीका एक कर्मचारीलाई रातो कार्ड दिइएको थियो ।यससंगै ३९ वर्षीय मेसीको विश्वकप यात्रा जारी रहँदा, इजिप्टका कप्तानसालाह भने आँसु पुछ्दै मैदानबाट बाहिरिए ।
३४ वर्ष पुग्न लागेका सालाहका लागि यो अन्तिम विश्वकप हुनसक्ने अनुमान गरिएको छ । यद्यपि, इजिप्टका समर्थकहरू हारका बाबजुद टोलीको प्रदर्शनप्रति गर्व गर्छन्। उनीहरू भन्छन्, ‘हामीलाई लुटिएको महसुस भएको छ, तर हाम्रा खेलाडीहरू अर्जेन्टिनासँग बराबर भएर लडे। यो प्रदर्शन सधैँ सम्झिनेछ।’
फुटबल विशेषज्ञ डेल जोन्सनका अनुसार, इजिप्टको गोल खारेज गर्ने निर्णय र सालाहलाई पेनाल्टी नदिने निर्णयमा एकरूपता देखिएन। सालाहको फाउल र अतियाको फाउल उस्तै प्रकृतिका भए पनि एउटामा प्रयोग भार गरियो भने अर्कोमा गरिएन ।
यसले गर्दा ’मेसी र अर्जेन्टिनालाई जोगाउन खोजिएको’ भन्ने आरोपलाई बल मिलेको छ । खेलपछि आयोजित पत्रकार सम्मेलनमा आक्रामक रूपमा प्रस्तुत भएका हसनले भने, “म यसलाई सामान्य भाग्यको खेल भनेर मिठो भाषामा टार्न चाहन्न । आज हामीमाथि सरासर धोकाधडी भएको छ । हामी ठूलो अन्यायको सिकार भएका छौँ ।”
विवाद अर्को पनि थियो । इन्जो फर्नान्डेजले अर्जेन्टिनाका लागि निर्णायक गोल गर्नुअघि अर्जेन्टिनाका आलेक्सिस म्याक अलिस्टरले इजिप्टका हाम्दी फाथीको जर्सी तानेको भन्दै इजिप्टले पेनाल्टीको माग गरेको थियो । “मैले मैदानमा खेल भावना वा निष्पक्षताको कुनै सम्मान देखिनँ,” हसनले भने, “हाम्रो स्पष्ट पेनाल्टीलाई रेफ्रीले बेवास्ता गरे । भीएआरले समेत त्यसको समीक्षा गरेन । हाम्रो दोस्रो गोल अचम्म ढंगले रद्द गरियो । जर्सी तानिएको स्पष्ट भिडियो हुँदाहुँदै पनि त्यसको समीक्षा नगरिनु अन्यायपूर्ण हो ।”
यस्तो अन्याय आफूलाई स्वीकार्य नभएको भन्दै हसनले अब यस विश्वकपका बाँकी कुनै पनि खेल नहेर्ने घोषणा गरेका छन् । खेलको सुरुमै यासेर इब्राहिमको हेडरमार्फत इजिप्टले अग्रता लिएपछि अर्जेन्टिनाले निकोलास टागलिया फिकोलाई लडाएको भन्दै पेनाल्टी पाएको थियो । तर, मेसीको प्रहारलाई इजिप्टका गोलकिपर मोस्ताफा शोबेइरले उत्कृष्ट बचाउ गरेका थिए ।
प्रशिक्षक हसनले खेल अधिकारीहरूमाथि विश्वकपका ठूला स्टार खेलाडीलाई प्रतियोगितामा टिकाइराख्ने दबाब रहेको आशंका व्यक्त गरेका हुन् । “सायद उनीहरू विश्वविजेतालाई प्रतियोगिताबाट बाहिर निकाल्न चाहँदैनथे । सायद उनीहरू मेसीलाई अगाडि बढेको हेर्न चाहन्थे,” ‘बीइन स्पोट्र्स’सँग उनले भने, “फुटबलमा कहिलेकाहीँ खेलको प्राविधिक पक्षभन्दा बाहिरी तत्वहरू हाबी हुन्छन् । विश्वविजेता अर्जेन्टिनाले हरेक तहबाट सहयोग पायो ।”
सधैँ रक्षात्मक शैली अपनाउने हसनले यसपटक भने इजिप्टलाई सुरुदेखि नै आक्रामक रूपमा मैदानमा उतारेका थिए । महम्मद सलाह र ओमार मार्मुसबाहेक इजिप्टका अधिकांश खेलाडी घरेलु लिगमा खेल्ने भएकाले युरोपका ठूला क्लबमा आबद्ध स्टार खेलाडीसँग डटेर प्रतिस्पर्धा गरेकोमा उनले गर्व व्यक्त गरे ।
यसका साथै, हसनले खेलको समय तालिकाप्रति पनि कडा असन्तुष्टि जनाए । राउन्ड अफ ३२ को खेल जितेको चार दिनपछि नै दिउँसो १२ बजे क्वाटरफाइनल खेल खेलाइएको भन्दै उनले आपत्ति जनाए । “जसले यो खेलको समय तालिका बनायो, उसले जीवनमा कहिल्यै फुटबल खेलेको छैन । दिउँसो १२ बजे मानिसहरू घुम्न निस्कन्छन् वा खाजा खान्छन्, फुटबल खेल्न जाँदैनन्,” हसनले भने, “खेलाडीले बिहान साढे ७ बजे खाना खाने कि कहिले खाने ? मैदानभित्र र मैदानबाहिर दुवै ठाउँमा धेरै प्रश्न उठाउनुपर्ने अवस्था छ ।”




