२४ असार , काठमाण्डौ।
फुटबल मैदान र सामाजिक सञ्जालमा अफ्रिकीमूलका खेलाडीमाथि रंगभेदी दुव्र्यवहार हुनु नयाँ कुरा होइन । अहिले फेरि यही रंगभेदी टिप्पणीले फुटबल जगत नै तातेको छ । फ्रान्सेली स्टार फुटबलर किलियन एम्बाप्पे र पाराग्वेकी सांसदबीच सामाजिक संजालमा सुरु भएको वारले अहिले ती देशका सरकारलाई नै जवाफी टिप्पणी र खण्डन गर्नुपर्ने अवस्थामा पुर्याइदिएको छ ।
यो घटना विश्वकपको अन्तिम–१६ को खेलमा फ्रान्ससँग १–० ले पराजित भएपछि पाराग्वेको ‘अथेन्टिक ¥याडिकल लिबरल पार्टी’की सांसद सेलेस्ते अमारियाले सामाजिक सञ्जाल ‘एक्स’मा किलियन एम्बाप्पेलाई लक्षित गर्दै आपत्तिजनक टिप्पणी गरेपछि सुरु भएको हो ।
उक्त खेलमा एम्बाप्पेले नै पेनाल्टीमार्फत पाराग्वेविरुद्ध निर्णायक गोल गरेका थिए । सांसद अमारियाले एम्बाप्पेको क्यामरुनी मूल, उनको बाल्यकाल, रूप–रंग र शिक्षालाई लिएर सामाजिक सञ्जालमा खिल्ली उडाएकी थिइन् । पाराग्वे सरकारले फ्रान्सेली स्ट्राइकर किलियन एमबाप्पेविरुद्ध आफ्नै देशकी सिनेटर सेलेस्टे अमरिलाले गरेको टिप्पणीलाई ‘खेदजनक र अस्वीकार्य’ भनेको छ ।
तर ती सिनेटरले उल्टै एमबाप्पेसँग माफीको माग गरेकी छिन् ।शनिवार भएको विश्वकपको अन्तिम १६ को खेलमा फ्रान्सले पाराग्वेलाई पराजित गरेपछि सिनेटर अमरिलाले फ्रान्सेली कप्तान एमबाप्पेलाई ‘औपनिवेशिक क्यामरुनी’ भनेकी थिइन् । एमबाप्पेले उक्त टिप्पणीलाई ‘घृणित र रंगभेदी’ भन्दै कडा प्रतिक्रिया दिएका थिए ।
पाराग्वे सरकारले सोमबार एक विज्ञप्ति जारी गर्दै अमरिलाको भनाइ ‘देशले प्रवद्र्धन गर्ने शान्तिपूर्ण सहअस्तित्व र मानवीय गरिमाको मूल्य र मान्यता विपरीत’ रहेको बताएको छ । अमरिलाले शनिवार राति इन्स्टाग्राममा एमबाप्पेका दुईवटा तस्बिर पोस्ट गर्दै २७ वर्षीय खेलाडीलाई ‘आफूलाई फ्रान्सेली देखाउन मरिहत्ते गर्ने औपनिवेशिक क्यामरुनी’ भन्नुका साथै उनलाई ‘अहंकारी र कुरूप’ को संज्ञा दिएकी थिइन् ।
जवाफमा एमबाप्पेले ६१ वर्षीया वकिलसमेत रहेकी अमरिलाको टिप्पणीलाई ‘अदूरदर्शिता र खुल्ला रंगभेदको पराकाष्ठा’ भनेका छन् । तर, अमरिलाले सोमबार नै एमबाप्पेलाई एक लामो खुला पत्र लेख्दै आफ्नो टिप्पणीको बचाउ गरेकी छिन् । उनले खेलपछि एमबाप्पेले पाराग्वेका गोलकिपर ओर्लान्डो गिलसँग हात नमिलाएर अपमान गरेको आरोप लगाइन् ।
उनले एमबाप्पेको यो व्यवहारलाई घमण्ड र संस्कारको कमी भनेकी छिन् । अमरिलाले एमबाप्पेले आफूसँग माफी माग्नुपर्ने माग राख्दै भनिन्, ‘म तिम्रो दुव्र्यवहार सहने छैन, तिमीले मलाई चिनेको छैन र मलाई घृणित महिला भन्ने अधिकार तिमीसित छैन ।’ उनले एमबाप्पेले आफ्नो भनाइ फिर्ता नलिए लैंगिक हिंसाको मुद्दा चलाउने चेतावनी समेत दिएकी छिन् ।
पाराग्वे सरकारले भने अमरिलाको भनाइले सरकार वा जनताको प्रतिनिधित्व नगर्ने प्रस्ट पारेको छ । सरकारले रंगभेद, घृणा र भेदभावविरुद्ध लड्न आफू प्रतिबद्ध रहेको बताएको छ । फ्रान्सेली फुटबल महासंघ ले अमरिलाको टिप्पणीविरुद्ध कानुनी कारबाहीका लागि सरकारी अभियोजकको कार्यालयमा उजुरी दिएको छ ।
एमबाप्पेले एक्समा लेखेका छन्, ‘तपाईं पाराग्वेको प्रतिनिधित्व गर्नुहुन्न, जुन देशले प्रतियोगिताभर यस्तो जोश र सम्मान देखाएको छ । तपाईंको रंगभेदका कारण विश्वले पाराग्वेका खेलाडीहरूको ऐतिहासिक यात्रा र मेहेनतलाई बिर्सनेछ । यो अहिले एक अक्षम महिलाको कारण ओझेलमा परेको छ, जसले आफ्नो देशको सबैभन्दा खराब छवि प्रस्तुत गरिरहेकी छिन् ।’
विवाद बढेर चौतर्फी आलोचना र दबाबपछि उनले ती पोस्ट हटाइन् । र, फ्रान्सेली र स्पेनी भाषामा खुलापत्रमार्फत माफी मागेकी छन् । मिश्रित जातीय पृष्ठभूमिका कारण आफूले विगतमा भोगेका अपमानजनक टिप्पणी एम्बाप्पेविरुद्ध प्रयोग गरेकोमा उनले दुःख व्यक्त गरेकी छन् ।
यो घटनामा फ्रान्सका राजनीतिज्ञहरूले एम्बाप्पेको समर्थन गर्दै सांसद अमारियाको कडा निन्दा गरेका छन् । हाल सिरिया भ्रमणमा रहेका फ्रान्सका राष्ट्रपति इम्यानुएल म्याक्रोँले एम्बाप्पेको जवाफको समर्थन गर्दै ‘एक्स’मा प्रतिक्रिया दिएका छन् ।
उनले लेखेका छन्, “किलियन एम्बाप्पेका लागि अर्को एक गोल । यसपटक रंगभेदविरुद्ध ।” उनले फ्रान्सका कप्तान एम्बाप्पेलाई आफ्नो पूर्ण समर्थन रहेको पनि बताए । फ्रान्सकी खेलकुदमन्त्री मारिना फेरारीले कप्तानमाथि मात्र नभई देशकै मूलमन्त्रमाथि प्रहार गरिएको बताइन् ।
उनले भनिन्, “सांसदले हाम्रा कप्तानलाई मात्र होइन, हाम्रो देशको मूलमन्त्र – स्वतन्त्रता, समानता र बन्धुत्वमाथि नै प्रहार गरेकी छन् ।” फ्रान्सका सहायक प्रशिक्षक गुई स्टेफानले यस घटनालाई “अपमानजनक, नीच र शर्मनाक” भनेका छन् । शनिवार भएको तनावपूर्ण खेलमा एमबाप्पेले ७० औं मिनेटमा पेनाल्टीमार्फत निर्णायक गोल गरेपछि फ्रान्सले पाराग्वेलाई १–० ले हराएको थियो। फ्रान्सले अब बिहीबार क्वार्टरफाइनलमा मोरक्कोको सामना गर्नेछ।
यसअघि खेल हुनुअघि पाराग्वेका पूर्वगोलकिपर जोसे लुइस चिलाभर्टले पनि फ्रान्सेली टोलीलाई ‘अफ्रिकाको टोली’ भनेर टिप्पणी गरेका थिए । जारी विश्वकपमा एम्बाप्पे ७ गोलका साथ गोल्डेन बुटको दाबेदार मध्ये एक हुन् । उनले नर्वेका हालान्डसँगै ७ गोल गरेका छन् भने अर्जेन्टिनाका लियोनल मेस्सी ८ गोल र असिस्टका साथ शीर्ष स्थानमा छन् ।
अब क्वार्टरफाइनलका खेलहरुले गोल्डेनबुटका दाबेदारको प्रष्ट खाका तयार पार्ने अनुमान गरिएको छ । यो सूचीमा विश्वकप यात्रा कायमै राखेको इंग्ल्यान्डका कप्तान ह्यारी केनले पनि ६ गोल गरेर मेस्सी, एमबाप्पे र हालान्डलाई पछ्याइरहेका छन् ।




