रवि–बालेनबीच ४ घण्टा छलफल, दुई नेताको चासो के हो ?

२९ असार, काठमाण्डौ ।

श्रृंखलाबद्ध आत्मदाह प्रकरणदेखि सुकुम्बासी, मिटरब्याज पीडितहरुको प्रदर्शन लगायत अन्य समूहहरुले सरकारमाथि प्रश्न उठाउँदै दिनहुजसो माइतिघर मण्डलादेखि काठमाडौं विभिन्न स्थानमा प्रदर्शन गरिरहँदा सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र प्रधानमन्त्री बालेन शाहबीच दुई दिनदेखि छलफल जारी छ ।

यसक्रममा आइतबार भने उनीहरुबीच चार घण्टाभन्दा बढी समय छलफल भएको छ । बूढानीलकण्ठस्थित लामिछाने निवासमा भएको छलफल समसामयिक राजनीति, पार्टी संगठन र राष्ट्रिय मुद्दामा केन्द्रित रहेको बताइएको छ । बिहान करिब ११ बजे लामिछाने निवास पुगेका प्रधानमन्त्री शाहले झण्डै सवा ३ बजेसम्म कुराकानी गरेका थिए ।

Advertisement

लामो समयसम्म चलेको भेटलाई रास्वपाभित्रको आगामी रणनीति र राजनीतिक गतिविधिसँग जोडेर पनि हेरिएको छ । यस्तै छलफलमा सुकुम्बासी व्यवस्थापन, समसामयिक राजनीतिक अवस्था तथा पार्टीको संगठन विस्तारका विषयमा विचार–विमर्श भएको पनि बताइएको छ ।

हालै सम्पन्न रास्वपाको पहिलो महाधिवेशनपछि मनोनयन हुन बाँकी पदाधिकारी र केन्द्रीय सदस्य चयनको विषयमाथि पनि भेटघाटमा कुराकानी भएको बुझिएको छ । सभापतिले ११ पदाधिकारी र ५१ केन्द्रीय सदस्य मनोनयन गर्न बाँकी छ । सोही प्रक्रिया टुंग्याउने विषयमा दुवै नेताबीच प्रारम्भिक कुराकानी भएको हो ।

Advertisement

दुई नेताबीचको कुराकानीमा मनोनित हुने नेताहरूको प्रारम्भिक सूची नै तयार भएको छ । भेटमा पार्टीको आगामी कार्यदिशा, संगठन सुदृढीकरण र जिम्मेवारी बाँडफाँटबारे पनि कुराकानी भएको थियो । यसअघि शनिबार पनि दुवै नेताबीच लामो छलफल भएको थियो ।

यो छलफलमा मन्त्रिपरिषद् हेरफेर गर्ने, प्रधानमन्त्रीको सचिवालय चुस्त बनाउने र सुकुम्वासी समस्या समाधानमा केन्द्रित रहेर गहन कुराकानी भएको रास्वपाकै एक शीर्ष तहका नेताले बताएका छन् । सरकारलाई थप प्रभावकारी बनाउने, जनतामा बढ्दै गएको निराशालाई दीर्घकालीन रूपमा सम्बोधन गर्ने विषयमा छलफल भएको सचिवालयले बताएको छ ।

‘पार्टी सभापति र प्रधानमन्त्रीबिच यो नियमित भेटवार्ता हो । त्यही सिलसिलामा कहिले प्रधानमन्त्री निवास बालुवाटारमा, कहिले सभापति निवास बुढानीलकण्ठमा छलफल भइराख्छ । सरकारकालाई कसरी प्रभावकारी बनाउने, समाजमा बढ्दै गएको निराशालाई कसरी दीर्घकालीन समाधान गर्ने भन्ने विषयमा छलफल भयो,’ दुई नेताबिच भएको छलफलबारे सचिवायलका एक सदस्यले भने, ‘पछिल्लो समय जुन आत्मदाहको घटना घटेको छ, आजको सरकारको कामले मात्र होइन, वर्षौँदेखिको फ्रस्टेसनको उपज हो। त्यसकै पछिल्लो परिणाम हो, गणेश नेपाली र आश्विन राउत लगायतको आत्मदाह प्रकरण । जे भए पनि क्षति भएको छ । परिवारमा पीडा थपिएको छ । त्यसलाई सरकारले गम्भीरतापूर्वक लिएको छ।’ ‘दुई नेताबिच कुनै पनि किसिमको दरार आएको छैन, सभापति र प्रधानमन्त्रीबिचको समन्वयमा नै कामकारबाही अगाडि बढिरहेका छन्,’ ती सदस्यले भने ।

छलफलमा लामिछानेले सुकुमबासीको विषयमा समेत चासो राखेका थिए । लामिछानेले सुकुमबासी व्यवस्थापनमा मानवीय हिसाबले तत्काल व्यवस्था गरी सरकार अघि बढ्नुपर्ने सुझाव दिएको भनिएको छ । बैठकमा संविधान संशोधनको विषयमा समेत सामान्य छलफल भएको थियो ।

प्रधानमन्त्री शाहका प्रमुख स्वकीय सचिव कुमार बेन, सचिवालयका सदस्य सुवास शर्मा र विवेक मिश्रका साथ बुढानिलकण्ठ पुगेका थिए । लामिछानेले प्रधानमन्त्री शाहलाई सुकुम्बासीको व्यवस्थापनमा गम्भीर हुन सुझाव दिएको बुझिएको छ । लामिछानेसँगको भेटमा प्रधानमन्त्री शाहले सरकारले पनि काम गरिरहेको बताएका थिए ।

यस्तै सभापति लामिछानेले गणेश नेपालीको आत्मदाहको विषयलाई दुर्घटनाका रूपमा टिप्पणी गरेका थिए । यसमा काठमाडौं महानगरपालिका र केन्द्र सरकार मिलेर काम गर्न उनले सुझाएका थिए । यस्तै सभापति लामिछानले भेटमा जेनजी आन्दोलनका घाइतेहरूलाई विदेशमा उपचारको व्यवस्था मिलाउन सुझाएका थिए ।

प्रधानमन्त्री शाहले भने सरकारले विदेशमा उपचार गराउने कानुन नभएको बताएका थिए । लामिछानेले सहयोग जुटाएर भए पनि जेनजी आन्दोलनका केही घाइतेको छिट्टै उपचार गराउनुपर्ने धारणा राखेका थिए। साथै, जेनजी परिषद छिट्टै गठन गर्न उनले सुझाएका थिए । रविले केही दिनअघि जेनजी आन्दोलनका घाइते र मृतकका परिवारसँग भेट गरेका थिए ।

प्रधानमन्त्री बालेन र रास्वपा सभापति लामिछानेबीच सरकारको सय दिनको काम, छिमेकी मुलुकसँगका सम्बन्धको विषयमा पनि संक्षिप्त कुराकानी भएको बताइएको छ । विशेषगरी सुकुमवासी समस्या समयसीमामा सहज बन्नुपर्नेमा किन थप गिजोलियो ? अब सरकारसँग के योजना छ ? भन्दै रविले बालेनसंग चासो राखेका थिए ।

यस्तै अर्थमन्त्री स्वर्णिम वाग्लेसँग पनि बालेनको कुरा नमिलेको विषयमा रविले सोधेको बताइएको छ । छलफलमा निकै समय अर्थमन्त्री वाग्ले र प्रधानमन्त्री बालेनबीच बढिरहेको दूरीमै केन्द्रित भएको स्रोतको दाबी छ । लामिछानेले अर्थमन्त्री वाग्लेबाट प्राप्त गुनासा प्रधानमन्त्रीसमक्ष राखेका थिए ।

अर्थमन्त्रीसँग पर्याप्त छलफल नगरी प्रधानमन्त्रीले निजी क्षेत्रका प्रतिनिधिसँग प्रत्यक्ष बैठक राखेको, अर्थ मन्त्रालयको कार्यक्षेत्रमा प्रधानमन्त्री कार्यालयबाट हस्तक्षेप भएको तथा आर्थिक विषयका कतिपय निर्णयमा अर्थमन्त्रीलाई विश्वासमा नलिइएको गुनासो वाग्लेले लामिछानेसँग गरेको बताइएको छ ।

लामिछानेले प्रधानमन्त्रीसँग सरकारभित्रै संवादहीनताको अवस्था किन उत्पन्न भइरहेको छ, प्रधानमन्त्री र अर्थमन्त्रीबीच समस्या समाधानका लागि नियमित छलफल किन हुन सकिरहेको छैन र आर्थिक नीतिमा दुई फरक शक्ति केन्द्र देखिनुका कारण के हुन् भन्ने प्रश्न राखेका थिए ।

यसमा बालेनले अर्थमन्त्रीको कार्यशैलीप्रति गम्भीर असन्तुष्टि व्यक्त गरेका थिए । बजेट निर्माण तथा करका दर परिवर्तनका क्रममा अर्थमन्त्रीबाट पर्याप्त सावधानी नअपनाइएको र केही निर्णयबाट निश्चित स्वार्थ समूह लाभान्वित हुने परिस्थिति बनेको आशंका प्रधानमन्त्रीले व्यक्त गरेको बताइएको छ ।

यद्यपि करका दर परिवर्तनमा स्वार्थ समूहको प्रभाव रहेको भन्ने दाबीको स्वतन्त्र पुष्टि भएको छैन । प्रधानमन्त्री वा प्रधानमन्त्रीको सचिवालयबाट यस विषयमा औपचारिक धारणा सार्वजनिक भएको पनि छैन । छलफलका क्रममा बालेनले डा. वाग्लेलाई सरकारको जिम्मेवारीबाट हटाएर पार्टीको काममा केन्द्रित गराउनुपर्ने र अर्थ मन्त्रालयको नेतृत्व अर्का नेतालाई दिनुपर्ने प्रस्तावसमेत राखेको स्रोतको भनाइ छ ।

प्रधानमन्त्रीले अर्थमन्त्री परिवर्तनकै प्रस्ताव राखेपछि लामिछाने गम्भीर बनेका थिए । लामिछानेले डा. वाग्लेलाई तत्काल अर्थमन्त्रीबाट हटाउँदा जनमानसमा नकारात्मक सन्देश जाने र रास्वपाभित्रको शक्ति सन्तुलनसमेत बिग्रिन सक्ने बताएका थिए । वाग्ले अर्थमन्त्री मात्रै नभई रास्वपाको नेतृत्व तहका प्रभावशाली नेता भएकाले उनलाई हटाउने निर्णय सामान्य मन्त्रिपरिषद् पुनर्गठनमा सीमित नहुने लामिछानेको बुझाइ थियो ।

अर्थमन्त्री परिवर्तनले सरकारको आर्थिक नीतिप्रतिको विश्वसनीयतामा प्रश्न उठाउन सक्ने, बजेट कार्यान्वयन सुरु नहुँदै अर्थ मन्त्रालयको नेतृत्व फेरिँदा निजी क्षेत्र र विकास साझेदारमा अस्थिरताको सन्देश जाने तथा पार्टीभित्र नयाँ ध्रुवीकरण सुरु हुन सक्ने भन्दै उनले संवादबाट समस्या समाधान गर्न प्रधानमन्त्रीलाई आग्रह गरेको एक नेताले बताएका छन् ।

यस्तै सडकमा देखिएको आम आक्रोशलाई कसरी सम्बोधन र व्यवस्थापन गर्ने भन्ने बारेमा पनि रविले प्रधानमन्त्रीको ध्यानाकर्षण गराएका थिए । अर्को दलाई लामासँग जोडेर अनावश्यक प्रचारबाजी भएको विषयमा पनि सोधेका थिए । रविका यी चासोहरुमा प्रधानमन्त्री बालेनले सुकुमवासी समस्या हल हुने दिशामै रहे पनि कर्मचारीहरूको एउटा पंक्ति, अनि स्थानीय तहबाट पर्याप्त सहयोग नपाएको बताएका थिए ।

उनले समाधान गर्न बाँकी सुकुम्बासीबाट सुचीकरण लगायत काममा जतिसक्दो छिटो समन्वयमा सहयोग हुन्छ त्यति नै छिटो सरकारले प्रक्रिया अघि बढाउने भन्दै अलमलमा नपर्न आग्रह गरे । उनले रास्वपाभित्रै यस विषयलाई लिएर मतान्तर देखिन थालेकामा उल्टै सभापति लामिछानेको ध्यानाकर्षण गराएका थिए ।

तर सभापति लामिछानेले यो राजनीतिक भन्दा बढी मानवीय विषय भएकाले ढिलासुस्ती नहोस् भन्नेमात्र मनसाय रहेको बताए । यस्तै अर्थमन्त्री स्वर्णीम वाग्लेको विषयमा भने बजेट जारी गर्ने बेला करका दर हेरफेर लगायत विषयमा वाग्लेबाट त्रुटि भएको प्रधानमन्त्री टीमको बुझाइ छ ।

तर वाग्लेले भने प्राविधिक समस्याको स्वाभाविक र नियमसम्मत हल खोज्न छाडेर उल्टै प्रधानमन्त्री निकट केही व्यक्तिहरू आफूलाई नंग्याउन अघि सरेको आरोप लगाउँदै सभापति लामिछानेसँग गुनासो गरेका छन् । यता प्रधानमन्त्री बालेनले आफूलाई पार्टीको आन्तरिक मामिलामा धेरै नतान्न आग्रह गरेको पनि बुझिएको छ ।

सामाजिक सञ्जालमा देखिन थालेको असन्तोष विस्तारै सडकमा गएकोतर्फ भन्ने रविको चासोमा बालेनले घटनाहरू दुःखद भए पनि आफूहरूविरुद्ध नियोजित प्रचार सुरु भएकाले सचेत रहिदिन पार्टीलाई अनुरोध गरेका छन् । मिटरब्याज पीडित लगायतका गुनासा सम्बोधन गर्ने दिशामै सरकारले काम गरिरहेको भन्दै पार्टीभित्र बुझाइमा स्पष्टता हुनुपर्ने उनको भनाइ छ ।

यस्तै दलाई लामाको जन्मदिवस मनाउने क्रममा भएका कार्यक्रम लक्षित विभिन्न कूटनीतिक चासोमा बालेनले शिशिर खनालले सम्हालिरहेको मन्त्रालयले गरेका काम सकारात्मक नै रहेकाले यसमा सरकारको आधिकारिक अडानबारे कसैले पनि आशंका गर्नुपर्ने अवस्था नहेको तर्क गरेका थिए ।

‘सरकारको फरक नीति हुन सक्दैन, चीनको चासोबारे हामीले स्पष्ट पारिसकेका छौं । शंका गर्नुपर्ने केही छैन । विगतमा जे छ, त्यही हो । तर जानीजानी भ्रम फैलाउने, सामूहिक वक्तव्यबाजी सुरु भएको छ । कसको लागि यो गरिँदैछ, स्पष्ट भएन’ भन्दै प्रधानमन्त्रीले रविलाई भनेको छलफलमा सहभागी एक नेताले जानकारी दिएका छन् ।

यस्तै बालेनले रवि निकट भनेर चिनिएका सांसद तथा नेताहरूले सरकारका क्रियाकलापविरुद्ध नियोजित ढंगले बोल्न, लेख्न थालेको पनि असन्तुष्टि जनाएका थिए । केही सांसदहरूको नामै लिएर बालेनले उनीहरूमाथि अनुशासनको कारबाही गरिनुपर्ने मागसमेत रविसँग राखेको बुझिएको छ ।

यस्तै बालेनले सुशासनका कदम उठाउन खोज्दा अवरोध भएकाले त्यसलाई चिर्न सघाउन पनि आग्रह गरेका थिए । प्रधानमन्त्रीले बाहिर जे आलोचना भए पनि आफू सुशासनको प्राथमिकताबाट दायाँबायाँ नहुने बताएका छन् ।

उनले विगतमा विवादित पात्रहरूले नै लोकतन्त्रको कुरा गर्दै सरकारलाई अप्ठेरोमा पार्न खोजेको, तर कानुनबमोजिम सरकारले अघि बढ्ने भन्दै पार्टीमा उत्पन्न अन्योल समाधान गर्न, तथा अरू पार्टीहरूसँग आवश्यक परे छलफल गर्न सभापति लामिछानेलाई आग्रह गरेका छन् ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top